बाँके । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य अशोक कोईरालाको निधनको १०औँ दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोईरालाको निजि निवास कोहलपुर नगरपालिका–११, दशबिगाहामा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता कुलप्रसाद केसी, नेता नरेन्द्र पाण्डे ‘जेम्स’, गोपालप्रसाद अधिकारी, गंगा दाहाल, प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमूना’, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’ लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले कोईरालाको निजी निवासमा श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
श्रद्धाञ्जली सभामार्फत माओवादी केन्द्रले स्वर्गीय कोईरालालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको उच्च प्रशंसा गरेको छ । पार्टीको तर्फबाट जारी समवेदनामा भनिएको छ, ‘कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य कमरेड अशोक कोईरालाको २०८१ चैत ११ गते उपचारका क्रममा भएको अकल्पनीय निधनले हाम्रो पार्टी माओवादी केन्द्र परिवारलाई स्तब्ध बनाएको छ, वहाँले राज्य परिवर्तन र समग्र कम्युनिस्ट आन्दोलनमा निर्वाह गर्नुभएको भूमिका अतुलनीय छ ।’
पार्टीले कोईरालाको अप्रत्यासित निधनले कम्युनिष्ट आन्दोलन तथा उनको परिवारलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । यस दुःखद घडीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वर्गीय अशोक कोईरालाको निवास पुगेर उनको परिवारलाई समवेदना व्यक्त गरेको एकीकृत समाजवादी बाँके जिल्ला सचिव दीपक जिएमले जानकारी दिए ।
प्रतिक्रिया