आन्तरिक लोकतन्त्रको अभ्यास कि गुटको शक्ति परीक्षण !

प्रेस सेन्टर निर्वाचन

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको पाँचौँ केन्द्रीय महाअधिवेशन भर्खरै सम्पन्न भएको छ । पार्टीका पालिकादेखि केन्द्रसम्मकै संगठनमा हुने अधिवेशनमा प्रतिस्पर्धाबिना नै निर्वाचित गर्ने परिपाटीविपरीत विद्यार्थी संगठनपछि प्रेस सेन्टरले पनि निर्वाचनकै माध्यमबाट नेता छान्ने विधि अवलम्बन गर्यो ।

सहमतिमै नेतृत्व टुंग्याउनुपर्ने नेताहरूको चर्को दबाबका बीच पत्रकारहरूले निर्वाचन नै गर्नुलाई कतिपयले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बन्दै गएको बताए पनि यसको अन्तर्य भने रोचक छ । यो थाहा पाउन केन्द्रीय प्रतिनिधि निर्मल ज्ञवालीको फेसबुक स्टाटसबाट सुरु गरौँ । उनले वालमा लेखेका छन् ‘हामीले गुटलाई जानेनौँ । तर, हेडक्वार्टरलाई मान्यौँ !’ हामीले विभाजनलाई सुनेनौँ, हेडक्वार्टरको एकतालाई मान्यौँ । त्यसैले सुप्रिमो प्रचण्डको निर्देशनमा प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।’

उनले भनेजस्तै निर्वाचनमा माओवादीका आन्तरिक गुटबीच प्रतिस्पर्धा भयो । संस्थापन पक्षबाट साझा उम्मेदवार बनाइएका कमल गिरीलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको समर्थन थियो भने इतर गुटको नेतृत्व विद्यार्थीमा जस्तै जनार्दन शर्मा प्रभाकरले गरे । उनले दीपेन्द्र रावललाई कमल गिरीको प्रतिस्पर्धीका रूपमा अगाडि सारे भने अन्य पदमा पनि प्यानल खडा भयो । अर्थात, यो भिडन्त प्रचण्ड, नारायणकाजी भर्सेस जनार्दन शर्माबीच भएको हो ।

विद्यार्थी संगठनको निर्वाचनबाट हौसिएका शर्मा आफ्नो शक्ति परीक्षण प्रेस सेन्टरमा पनि गर्न चाहन्थे । यसमा दीपेन्द्र रावलको प्यानल उनका लागि खडा भइदियो । तर, उनको अनुरोधमा चुनावी प्रतिस्पर्धामा होमिएको प्यानलले लज्जास्पद हार बेहोर्नुपर्यो । परिणामस्वरूप संस्थापन र संस्थापन इतरको नाममा बनेको चुनावी रङले प्रतिभाशाली पत्रकारहरू पदाधिकारीबाटै बाहिरिनुपर्यो । अन्ततः संस्थापन पक्षको बलियो पकड बन्यो ।

यसैलाई आधार बनाएर खुला उपाध्यक्षमा निर्वाचित लक्ष्मण खड्काले लेखेका छन्, ‘विभिन्न कारणले हामीलाई आवश्यक पर्ने साथीहरू नै बाहिरिनुपरेको छ ।’ यसअघि वरिष्ठ उपाध्यक्ष रहिसकेका कमल गिरी विद्यार्थीको चुनावमा जस्तै त्रिकोणात्मक चेपुवामा पर्लान् कि भन्ने धेरैको अनुमान थियो ।

‘देशैभरका संगठनभित्र लोकप्रिय रहे पनि नारायणकाजी श्रेष्ठसहितको त्रिकोणात्मक गुट निर्माण हुने अड्कलबाजीका बीच जनयुद्ध र जनयुद्ध इतर पृष्ठभूमिको अर्को चेपुवामा पर्ने खतरा पनि त्यत्तिकै थियो,’ एक केन्द्रीय प्रतिनिधिले भने, ‘कमल गिरीको जितले पार्टी एकता थप बलियो भएको सन्देश प्रवाह भएको छ । जसले पूर्वजनमोर्चा र जनयुद्धकालीन माओवादीका नाममा बाहिर गरिने चर्चा स्वतः खारेज भएको छ ।’

तर, कतिपय पराजित उम्मेदवारले भने नेताहरूको पछाडि नलागी स्वतन्त्र ढंगले निर्वाचन लड्नुपर्ने भन्दै आत्मआलोचना गरेका छन् । रावल प्यानलवाट महासचिवमा पराजित दीपेन्द्र शर्माले आत्मसमीक्षा गर्दै व्यक्तिगत रूपमा निर्वाचन लड्दा संस्थागत धाँधलीको खतरा हुने र व्यक्तिगत रूपमा निरीह र आतंकको छायामा पर्ने खतरा हुने पाठ सिकेको बताए । ‘यो प्रारम्भिक भएकाले परिस्थितिको समीक्षा गरेर सच्याउँदै अघि बढ्नुपर्छ,’ उनले भने ।

गिरीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा सुरेश अधिकारी, कोषाध्यक्षमा वसन्त गिरी, खुला उपाध्यक्ष लक्ष्मण खड्का, विवेक गौतम र रामसिंह ठगुन्ना, समावेशी उपाध्यक्षमा दीपक श्रेष्ठ, महिला उपाध्यक्षमा शान्ता अधिकारी, महासचिवमा मनोज घर्ती, उपमहासचिवहरूमा ज्ञानप्रसाद पौडेल, बुद्ध लोप्चन, हरीश विक, लक्ष्मी आचार्य र अनिल मिश्र, सचिवहरूमा अञ्जली थापा, सन्तोष देउजा, सुरेन्द्र चालिसे, केशव भुल, सुनिता बराल, गणेश कञ्चन भारती, मीनकुमार दाहाल, नवराज दाहाल, दीपक भट्टराई, मानसिंह विक, नन्दलाल तिवारी, अवतार राई र दिपं राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया