काठमाडौँ । राजसंस्था र हिन्दु अधिराज्य पुनस्र्थापना एवं संघीयता खारेजीको माग राख्दै गत शुक्रबार तिनकुनेमा आयोजना गरिएको प्रदर्शनपछि विद्यमान अवस्थामा आन्दोलन निष्कर्षमा नपुग्ने राजावादीहरूको ठम्याइ छ ।
दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले स्वामित्व लिएको थियो । तिनकुनेमा सभासमेत गर्ने तयारीसहित भएको प्रदर्शन सभा सुरु हुनुअगावै झडपमा परिणत भएपछि स्थिति असामान्य बनेको थियो । साँझसम्म पुग्दा परिस्थिति हिंसात्मक बनेपछि राजावादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ ।
आन्दोलनलाई सशक्त बनाउन अन्य शक्तिहरूलाई समेत जोड्दै जानुपर्ने र खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिनुपर्नेमा उनीहरूको जोड छ । राप्रपाको साथ पाए संसद्मा पनि राजसंस्था पुनस्र्थापनाको मुद्दा उठाउन सकिने र आन्दोलनलाई पनि निष्कर्षमा पुर्याउन सकिने भन्दै समितिले राप्रपालाई अझ नजिक पार्ने प्रयास थालेको हो ।
हिंसात्मक आन्दोलनपछि के–के भयो ?
१५ चैतको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भयो । प्रदर्शनकारीले एक घरमा लगाएको आगोमा परी एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको पनि मृत्यु भयो । विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाटसमेत भयो । सरकारले यस आन्दोलनलाई राजनीतिक आन्दोलन नभई हिंसात्मक र अराजक गतिविधि भन्दै आन्दोलनमा संलग्न विभिन्न व्यक्तिहरूलाई तत्कालै पक्राउ गर्न थाल्यो ।
समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखेको छ । राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गरी राज्यविप्लवको मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेको छ । अभियानका ‘कमान्डर’ दुर्गा प्रसाईँ भने फरार छन् । अन्य विभिन्न व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यसबीचमा समितिको कार्यवाहक संयोजकको जिम्मा जगमान गुरुङलाई दिइएको छ । उनले आन्दोलनलाई अघि बढाउन विभिन्न व्यक्तिहरूसँगको छलफललाई तीव्रता दिइरहेका छन् । प्रदर्शनकारीहरू तोडफोडमा उत्रिँदा विभिन्न क्षति भएको भन्दै काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँ जरिमानाको निर्णय गरेको छ । तर, निर्मल निवासले जरिमानाको पत्र बुझेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संघीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्दै घटनाको मुख्य जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । उनले पूर्वराजालाई कारबाहीको दायरामा ल्याउने पनि बताए ।
गुरुङले राखे पहिलो बैठक, राप्रपालाई साथ लिनुपर्नेमा जोड
कार्यवाहक संयोजकको जिम्मेवारी पाएका जगमान गुरुङले सोमबार समितिको पहिलो बैठक राखे । बैठकले यथास्थितिमा आन्दोलनले गति लिन नसक्ने निष्कर्ष निकाल्दै राप्रपालगायत अन्य शक्तिहरूसँगको सहकार्यमा जोड दिएको छ । राप्रपाले राजा फर्काउन र हिन्दु राष्ट्रका लागि हुने सबै आन्दोलनलाई सघाउने निर्णय गरेको छ भने छुट्टै आन्दोलनको पनि घोषणा गरेको छ । पार्टीको निर्णय बमोजिम नै वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणा शुक्रबारको आन्दोलनमा गएको भए पनि आन्दोलनको स्वामित्व भने राप्रपाले नलिने बताएको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आफूहरूले सो आन्दोलनलाई सहयोग मात्रै गरेको बताए । उनले एजेन्डा मिल्ने सबै आन्दोलनलाई राप्रपाले सहयोग गर्ने भन्दै अरूले गरेको आन्दोलनको स्वामित्व भने नलिने स्पष्ट पारे । राप्रपाले उक्त आन्दोलनलाई काँध हाल्ने अपेक्षा गरिएको भए पनि राप्रपा पन्छिएपछि उसलाई नजिक ल्याउने प्रयत्न समितिले गरेको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै समितिकी सदस्य अस्मिता भण्डारीले आफूहरूको आन्दोलन जारी रहने बताइन् । उनले समिति मात्रैको आन्दोलनले नपुग्ने भन्दै एजेन्डा मिल्ने राप्रपालगायत शक्तिहरूसँग मिलेर आगामी आन्दोलन अघि बढ्ने बताइन् । ‘संयोजक नवराज सुवेदी नजरबन्दमा भएर वा दुर्गा प्रसाईं सम्पर्कविहीन भएको भरमा आन्दोलन रोकिँदैन,’ उनले भनिन्, ‘राप्रपासहित सबै मिलेर हामी आन्दोलनका कार्यक्रम अघि बढाउँछौँ ।’ आन्दोलनका लागि दुइटा फ्याक्टरको आवश्यकताबोध भएको भन्दै उनले भनिन्, ‘हामी सडकमा उत्रिन्छौँ । राप्रपाले संसद्को मोर्चा सम्हाल्छ । संसद्बाट पनि आन्दोलनको पक्षमा वकालत गर्नुपर्नेछ ।’
सरकारको विरुद्धमा निरन्तर अभिव्यक्ति दिने र राम्रो जनमत भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ लगायतले समेत आन्दोलनलाई सकारात्मक रूपमा नलिएपछि यही गतिको आन्दोलनले निष्कर्ष नदिने निचोड निकालेको बताइएको छ ।
आफ्नै धूनमा राप्रपा
यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आफ्नै आन्दोलन अघि बढाउने भएको छ । जनआन्दोलन समिति बन्दादेखि नै असन्तुष्टि राखेका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा शाहको दबाबमा समितिको आन्दोलनलाई समर्थन गर्न बाध्य भएका थिए । १५ चैतको हिंसात्मक आन्दोलनपछि भने राप्रपा झनै समितिसँग टाढिएको छ । राप्रपाले २६ चैतमा काठमाडौँमा बाग्मती प्रदेश स्तरीय आमसभा गर्ने निर्णय गरेको छ भने २०८२ वैशाख ७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाले आफ्नै आन्दोलन अघि बढाउने बताए । ‘एजेन्डा मिलेको ठाउँमा नेताकार्यकर्ता आ–आफ्नो हिसाबले जाने कुरा खुला नै गरेका छौँ,’ उनले भने, ‘राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन गर्न अध्यक्षकै नेतृत्वमा समिति बनाएका छौँ ।’
प्रतिक्रिया