ट्रम्पको अमेरिका या मोदीको भारतमा आन्तरिक समस्याको कारक कपटपूर्ण ढंगले बाहिरबाट आउनेलाई ठम्याइन्छ । यही मानसिकताले अहिले अमेरिका र भारतमा आप्रवासी विरोधी हावा चलिरहेको छ ।
फेब्रुअरी महिनामा अमेरिकी विमानमा सिक्रीमा बाँधिएका भारतीयहरू विमानस्थलमा अवतरण गर्दाको दृश्य सार्वजनिक भएसँगै त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमै भारतको छवि धुमिल भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई डिपोर्ट गर्ने घोषणा गरेलगत्तै यसले लाखौँ रुपैयाँ खर्च गरेर अमेरिका पुग्नेहरूको भविष्य नै जोखिममा परेको समेत प्रष्ट भइसकेको छ ।
यस प्रसंगमा विपक्षी नेता भारतीय राष्ट्रिय कंग्रेसका राहुल गान्धी लगायतले हतकडी लगाएर नागरिक ल्याइएकोमा संसद् भवन अगाडी विरोध जनाएका थिए । उनीहरूले भारतीय प्रधानमन्त्रीले यस विषयमा अमेरिकी राष्ट्रपतिसँग कुरा गर्नुपर्ने बताएका थिए ।
तर, अमेरिकामा भएको पत्रकार सम्मेलनमा बोल्दै मोदीले त्यहाँ रहेका अवैध आप्रवासीलाई फिर्ता गर्न भारतीय जनता पार्टी(बिजेपी) नेतृत्वको सरकार तयार रहेको बताए । उनले थप भने, ‘युवा, कमजोर र गरिब भारतीयहरू आप्रवासी मामलामा मूर्ख छन् । ठुलो सपना र लक्ष्यले थिचिएका धेरै सामान्य परिवारका व्यक्तिको यो समस्या हो । केही आफ्नै कारणले त्यहाँ पुगेको भन्ने थाहा पाउँदैनन्, कति मानव तस्करीमा परेर त्यहाँ पुग्ने गरेका छन् ।’
यो भनाइ अन्धराष्ट्रवादमा लागि परिचित हिन्दु राष्ट्रवादीका लागि सामान्य र स्वीकार्य हुन सक्ला । यसले मोदीले भोलोदिमिर जेलेन्स्की शैलीले ट्रम्पसँग तनाव गर्न नचाहेर पन्छिन खोजेको पनि देखिन्छ, खासमा प्रतिकात्मक भन्सार महसुलको विषयमा वार्ता भइरहेको समयमा यो सामान्य पनि मान्न सकिन्छ । यो पनि बिर्सन सकिँदैन कि आप्रवासीको कुरा आउँदा मोदी र ट्रम्प एउटै कित्तामा रहन्छन् ।
अमेरिकी नेतृत्वजस्तै मोदी पनि आफ्नो देशका लागि बृहत् दृष्टिकोण भएको बताउँदै आएका छन् । यसमा बिजेपी नेतृत्वको सरकारले तामझामका साथ प्रस्तुत गरेको आर्थिक कार्यक्रम पनि समावेश छ ।
अहिले भारतीय अर्थतन्त्र ओरालो यात्रामा छ । साथै यसमा लामो समयको यात्रा पनि जोडिएको छ । संसारको सबैभन्दा बढी जनसंख्या भएको देशका १ प्रतिशतले देशको कुल सम्पत्तिको ४० दशमलव १ प्रतिशत सम्पत्ति ओगटेका छन् ।
सन् २०२४ को अन्त्यमा पुग्दा भारतमा १९१ जना डलर अर्बपति छन् । यो अमेरिका र चीनपछिको तेस्रो ठुलो संख्या हो । यसै समयमा त्यसै देशमा संसारका अति गरिबहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ । भारतका २३ करोड ४० लाख व्यक्ति गरिबीको रेखामुनि छन् । यो संसारको सबैभन्दा धेरै हो ।
अमेरिकामा अवैध भारतीय आप्रवासीको संख्या अत्यासलाग्दो छ । प्यु रिसर्च सेन्टरका अनुसार सन् २०२२ को अन्त्यसम्ममा अमेरिकामा बिनाकागजातका भारतीय आप्रवासीको संख्या ७ लाख पुगिसकेको थियो । यो संख्या मेक्सिको र एलसाल्भाडोरपछिको तेस्रो हो । त्यहाँको गृह प्रशासनकै अनुसार २ लाख २० हजार बिनाकागजातका भारतीय आप्रवासी रहेको अनुमान छ ।
यो कागजातबिनाको आप्रवासीको संख्याले हिन्दुवादी नेताको नेतृत्वमा रहेको संसारको महत्वपूर्ण आर्थिक शक्ति मानिएको भारतको छवि नै धुमिल भएको छ । यसैकारण मोदी यी कागजातबिनाका आप्रवासीको प्रसंगलाई तत्काल अन्त्य गर्न चाहन्छन् । उनी ट्रम्पसँग विवाद गर्न चाहँदैनन् । आफ्ना बिनाकागजातका आप्रवासीहरूको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पानाहरूमा धेरै स्थान नपाओस् भन्नका खातिर उनी धेरै समय चुपचापै पनि रहन सक्छन् ।
तर, हिन्दु राष्ट्रवादीको नेतृत्वमा रहेको भारतकै हकमा मात्र ट्रम्पको आप्रवासी नीति फरक हुने सम्भावना कमै देखिन्छ । केही वर्षसम्म भारतले अवैध आप्रवासीको कुरालाई जोडतोडले उठाएको थियो । खासमा बंगलादेशको सवालमा लिएर भारतले धेरै आवाज उठाएको हो । सन् २०१६ मा भारतीय आन्तरिक मामला मन्त्री किरेन रिजले भारतमा बंगलादेशका २ करोड अवैध आप्रवासी रहेको बताएका थिए । सन् २०१८ मा गृहमन्त्री अमित शाहले ४ करोड अवैध बंगलादेशी भारतमा रहेको दाबी गरे । सन् २०२३ मा त्यसै दक्षिणपन्थी सत्ताले ५ करोड अवैध बंगलादेशी आप्रवासी रहेको दाबी गरेको थियो । यसलाई पुष्टि गर्ने कुनै आधार भने छैन ।
भारतका हिन्दु राष्ट्रवादीहरूका लागि अवैध आप्रवासीको रूपमा भारतमा रहेका इस्लामहरूको कारण नराम्रो छाप परेको छ । ‘इस्लामोफिक डिस्फोर्स’ को रूपमा अहिले छिमेकीबाट त्रास उत्पन्न भएको कुरा फैलाइँदै छ । अवैध बंगलादेशी आप्रवासीहरूको उपस्थितिले घाटा भएको तथा भारतको ओरालो लागेको अर्थतन्त्रको कारण भएको आरोप लगाइएको छ । त्यहाँका गरिबलाई दिइने अन्न बंगलादेशी आप्रवासीले खाएको कारण समस्या आएको भन्दै सन् २०१९ को निर्वाचनमा साहले उनीहरूलाई एक एक गरेर फर्काइने चुनावी प्रतिबद्धता गरेका थिए ।
यो पुष्टि नहुने दावीले हिन्दु राष्ट्रवादीहरू हिन्दु प्रभावको राज्यमा संकट उत्पन्न हुने भय पैदा गर्न पनि उद्यत छन् । एक अन्तरवार्तामा दिल्लीबाट बिजेपी नेता अश्विनी उपाध्यायले बहुसंख्यक हिन्दुहरूको पहिचान नै संकटमा परेको बताएका थिए । उनले भारत हिन्दु बहुल राज्यको रूपमा स्थापित भए पनि त्यो अवैध रोहिंगे मुसलमान र मुस्लिम आवरणका कारण त्यो पातलो भएको समेत बताए ।
यसैगरी उपराष्ट्रपति जगदिप धान्करले अवैध आप्रवासी नै जनसांख्यकी उथलपुथलको मूल कारण भएको बताए । उनले यसै आवरणमा देशको आर्थिक र स्वास्थ्य क्षेत्रमा संकट उत्पन्न भएको बताएका छन् । यसले रोजगारीको अवसर गुम्नका साथै इलेक्ट्रोल प्रासंगिकता उठाउँदै प्रजातन्त्रलाई कमजोर बनाएको बताए ।
अन्त्यमा, भारतमा दक्षिणपन्थीहरूको समान धारणा बनेको छ कि अवैध आप्रवासी नै अपराधको पर्यायवाची शब्द हो । भारतको तल्लो संसद्मा सम्बोधन गर्दै विदेश मामलामन्त्री एस जयशंकरले भने, ‘अवैध गतिविधि र आप्रवासन अन्य धेरै गैरकानुनी विषयसँग सम्बन्धित छन् ।’ जयशंकरको यो बोलीले अमेरिकामा गरिएको बिनाकागजातका भारतीयको बारेको प्रसंगलाई बल प्रदान गरेको थियो । अमेरिकाले पनि कागजात नभएका आप्रवासी बसोबास गरेको, मताधिकार पाएको, नक्कली जन्मदर्ता प्रमाणपत्र बनाएको तथा मताधिकार पाएको आरोप लगाइएको छ । भारतको पनि ट्रम्पले जस्तै बंगलादेशी र रोहिंगा मुसलमानलाई निष्काशित गर्ने नीति छ ।
यस क्रममा गिरफ्तार हुनेमा बंगाली भाषी भारतीयसमेत हुन सक्छन् । पछिल्लो समयको एक अध्ययनअनुसार बंगाली भारतीयभन्दा बंगलादेशबाट भारत आउनेहरूको संख्या बढी छ । अहिले दक्षिणपन्थीहरूको उदय भइरहेको समयमा त्यसको कुनै अर्थ नरहन पनि सक्छ ।
ट्रम्पको अमेरिका या मोदीको भारतमा आन्तरिक समस्याको कारक कपटपूर्ण ढंगले बाहिरबाट आउनेलाई ठम्याइन्छ । यही मानसिकताले अहिले अमेरिका र भारतमा आप्रवासी विरोधी हावा चलिरहेको छ । मोदी हिन्दु राष्ट्रवादी प्रधानमन्त्री भएकै कारण अमेरिकामा रहेका कागजातविनाका भारतीय जोगाउनका लागि ट्रम्पसँगको सम्बन्ध बिगार्ने जोखिम लिँदैनन् । उनको बिचार ट्रम्पसँग मिल्दोजुल्दो छ । उनी अपहेलनाको विषयमा पनि केही सोच्दैनन्, चाहे ती भारतीय नै किन नहोउन् ।
(सोमदीप सेन डेनमार्कको रोसडाइल विश्वविद्यालयका एसोसिएट प्राध्यापक हुन् । अल जजिराले २८ मार्चमा प्रकाशित गरेको सेनको लेखको भावानुवाद ।)
प्रतिक्रिया