विभिन्न कुप्रथाले गाँजेको सुदूरपश्चिममा महिलाहरूले पीडामाथि पीडा खप्नु परेको छ । यस क्षेत्रमा कार्यरत एनजिओ आइएनजिओहरूले गरिबीको र कुप्रथाको फाइदा उठाउँदै आफूले आर्थिक लाभ उठाउने काम मात्रै गरे तर संस्थाले सराकारवाला निकायलाई महिला हिंसासम्बन्धी कानुन बनाउन कहिल्यै पहल गरेको देखिएन ।
सुदूरपश्चिमका अछामसहित बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा कायमै छ । महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका सरसामान छुन नहुने भन्दै यो अवधिमा घर नजिकको गोठमा राख्ने अन्धविश्वास र कुसंस्कारले यस क्षेत्रको समाजलाई ग्रसित बनाएको छ ।
सुत्केरी वा रजस्वलाको समयमा स्वास्थ्य कमजोर हुने भएकाले पनि यो बेला महिलालाई अझ बढी हेरचाह तथा स्याहार आवश्यक पर्छ । तर, यही समयमा घरको सट्टा फोहोर गोठमा राख्दा महिला तथा किशोरीहरू झनै पीडित हुने गरेका छन् । विशेष गरी यस क्षेत्रका बाहुन, क्षत्री, ठकुरी परिवारमा छाउपडी प्रथाको अन्धविश्वास छ र त्यसैअनुसारको अभ्यास गर्ने प्रचलन पनि छ । महिलाहरू यसरी छाउपडी बस्दा बलात्कार भएका घटनादेखि सर्पले टोकेर मृत्यु भएको वा चिसोमा कठ्यांग्रिएर वा धुवाँले निसास्सिएर र अत्यधिक रक्तस्राव भएर मृत्यु भएका घटना बेलाबखत सार्वजनिक हुने गरेका छन् । तैपनि यो कुसंस्कार र अन्धविश्वासलाई हटाउन सकिएको छैन ।
छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सामाजिक संघसंस्थाले प्रचारप्रसार गर्नुका साथै अभियान सञ्चालन नगरेका पनि होइनन् । तर, त्यस्ता प्रयास या त पर्याप्त हुन सकेका छैनन् या प्रभावकारी भएका छैनन् जसका कारण छाउपडीरूपी कुप्रथा कायमै रहेको हो । यो अवस्थामा विभिन्न सामाजिक संघसंस्था तथा सरकारले यस किसिमको कुप्रथा हटाउनका लागि अभियान नै सञ्चालन गरी स्थानीय समुदायमा जनचेतना जगाउन आवश्यक छ ।
अझ सरकारी तहबाट यस किसिमको अन्धविश्वासको अभ्यासलाई दण्डनीय बनाउने गरी कानुनी व्यवस्था गर्न जरुरी छ ताकि यस किसिमको अभ्यासका लागि बाध्य पार्नेहरूलाई कानुनी कारबाही गर्न सकियोस् । जनचेतना अभिवृद्धि र कानुनको कार्यान्वयनलाई सँगसँगै लैजान सके मात्र यस किसिमको कुप्रथा तथा अन्धविश्वासलाई हटाउन सकिन्छ । सुदूरपश्चिम प्रदेश यसै पनि विकट छ । त्यसमाथि पनि गरिबी, अशिक्षा र रूढीवादीबाट मुक्त हुन सकेको छैन । दिनानुदिन बलात्कार र हत्याको चक्रब्यूहमा फस्दै गएको छ ।
बलात्कारका घटनामा न्यूनीकरण हुन सकेको छैन । महिला हिंसाको प्रमुख कारण ठानिएको बहुविवाह र बालविवाहका घटना पनि बर्सेनि बढ्दो मात्रामा रहेको प्रहरी तथ्यांक छ । बलात्कार घटनाका दोषीलाई कानुनी दायराभित्र ल्याउन नसक्दा बलात्कारका घटनाले प्रश्रय पाएको महिला अधिकारकर्मीहरूको भनाइ छ । कतिपय ठाउँमा जनप्रतिनिधिले नै बलात्कारका घटना गाउँमै मिलाउने गरेको पाइएकाले बलात्कारमा संलग्नको आत्मबल बढेको बताइन्छ ।
छुटफुटका घटनाबाहेक धेरैजसो बलात्कारपछि हत्या गरिएका छन् भने कतिपय प्रेमिकासँग मिलेर आफ्नै पतिको हत्या गरिएको छ । यसरी, दिनका दिन हत्या हुनुमा दोषी को हो भनेर यस क्षेत्रका जनप्रतिनिधिहरू वा पुलिस प्रशासनको समेत चासो देखिँदैन । सुदूरपश्चिममा यति धेरै हत्याको कारण अहिलेसम्म पत्ता लगाउन प्रहरी प्रशासनले सकेको छैन न त हत्या र बलात्कारका घटनाहरूमा कमी आएको छ । महिला हिंसाविरुद्धका थुप्रै कानुनहरू बनेका छन् । हामी प्रत्येकवर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछौँ । महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् । तर, महिला हिंसामा कमी आउन सकेको छैन न त महिलाको जीवन स्तर नै माथि उठेको देखिन्छ । नेपालमा कार्यरत धेरै एनजिओ र आइएनजिओका कार्यक्रम पनि प्रायः महिला अधिकारसम्बन्धी नै छन् ।
धेरैजसो घटनामा दोषीलाई कारबाही हुँदैन । जनप्रतिनिधिले पनि बलात्कारका घटना गाउँमै मिलाउने गरेका समाचार सार्वजनिक हुँदै आएका छन् । बलात्कारी र मिलापत्र गराउनेलाई कारबाही गरे मात्र घटनामा कमी आउँछ । पहुँचवाला जोडिएको घटनामा प्रहरी अनुसन्धान पनि पीडकको पक्षमा देखिने गरेको छ ।
बलात्कारपछि हत्या गरिएका कलिला बालिका छन् । आफ्नै पतिद्वारा हत्या गरिएका कतिपय पेचिला घटना पनि छन् । विगतमा विकासका पूर्वाधारको सुरुआत नहुँदा र विद्यालय नखोलिँदा यो क्षेत्र विकट मात्र होइन कुप्रथाले गाँजिएको थियो । यस क्षेत्रमा महिलाहरूलाई देवीको रूपमा पूज्ने गरेका थिए । डोटी, बैतडी, बझाङलगायतका जिल्लामा देवी, (देउकी) का रूपमा देवी मन्दिरमा बालिका चढाइने गरिन्थ्यो । तर, देवीका रूपमा पुज्ने गरे पनि मन्दिरमा देउकी चढाएकी देवी महिला कुनै न कुनै बहानामा यौन पेसामा प्रयोग हुँदै बारम्बार बलात्कार हुँदै आएका समाचार मिडियामा सार्वजनिक भइरहेका छन् ।
उसो त हिन्दू धर्म ग्रन्थमा भनिएको छ, ‘जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको वास हुन्छ ।’ यो भावार्थलाई पुष्टि गर्न हाम्रा वेद, पुराणलगायतका धर्मग्रन्थ कहीँ चुकेका छैनन् । यस प्रथालाई महिला अधिकारवादीहरूले कुप्रथा माने पनि यो न त्यो रूपमा महिलालाई देवीको रूपमा पूज्ने गरेको मान्न सकिन्छ । अर्काे उदाहरण पनि लिन सकिन्छ कुनै पनि देवीथान (मन्दिरमा) पूजा सुरु गर्नुभन्दा पहिले नै पञ्चकन्याहरूलाई तयार पारिन्छ र पञ्चकन्यालाई पुज्ने गरिन्छ यो हिन्दु संस्काकरभित्रै पर्ने गर्दछ । माथि उल्लिखित देउकी प्रथा र पञ्चकन्या फरक हुन् तर दुवै थरी एउटै मन्दिरमा पूजा गर्ने गर्दछन् ।बंगलादेश, भारतमा दाइजो नल्याएको निहुँमा दैनिक रूपमा महिलाहरूलाई हत्या गरेको समाचार आएपछि ‘बेटी बचाऊ’ अभियान सुरु गरियो । भारत र बंगलादेशमा ‘बेटी बचाऊ’ अभियान सुरु गरिँदा नेपालमा छोरीहरूलाई कन्यादान गरी बिहे गर्ने चलन थियो । नेपालमा प्रायः दाइजोप्रथा लागू भएको थिएन । तराई क्षेत्रमा पनि पछिल्लो समयमा भारतको सिको गरेर दाइजो प्रथा भित्रिएको हो । दाइजो प्रथा सुरु भएपछि नेपालको तराईका जिल्लाहरूमा धेरै महिलाहरूले हिंसा सहनु प¥यो र केही महिलाहरूको ज्यान नै गयो । हाल आएर मधेसमा समेत ‘बेटी बचाऊ’ र ‘बेटी पढाऊ’ अभियान सुरु गरिएको छ ।
यति हुँदा पनि नेपालमा महिलामाथि हुने हिंसामा कमी आउन सकेन तर हिंसाका विभिन्न स्वरूपहरू छन् । बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, यातना, बोक्सीको आरोप, जबरजस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका केही रूप हुन् ।
बालविवाहका घटना केही मात्रामा कमी आए पनि बहुविवाहका घटना तथा महिला बेचबिखन तथा ओसारपसारका घटनाहरू वृद्धि भइरहेका छन् । महिलालाई बेचबिखनका लागि सुदूरपश्चिमका नाका प्रयोग गरेरै भारत पु¥याउने गरिएको छ । स्थानीय प्रशासनले नाकामा कडाइसमेत गर्न नसक्नु लाजमर्दो कुरा भएको छ । महिलाहरूमाथि नै हजारौँको संख्यामा घरेलु हिंसाका घटना भइरहेका छन् । महिला हिंसा र दुव्र्यवहार अन्त्य गर्नका लागि विभिन्न क्षेत्रबाट प्रयास गरिए पनि महिलाप्रतिको उत्पीडन अन्त्य भएको छैन । नेपालमै महिलाको अवस्था दयनीय भए पनि सुदूरपश्चिममा भने अरूको तुलनामा झन् बढी दयनीय छ ।
विभिन्न प्रथाले गाँजेको सुदूरपश्चिममा महिलाहरूले पीडामाथि पीडा खप्नु परेको छ । यस क्षेत्रमा कार्यरत एनजिओ आइएनजिओहरूले गरिबीको र कुप्रथाको फाइदा उठाउँदै आफूले आर्थिक लाभ उठाउने काम मात्रै गरे तर संस्थाले सराकारवाला निकायलाई महिला हिंसासम्बन्धी कानुन बनाउन कहिल्यै पहल गरेको देखिएन । जसले गर्दा इन्टरनेटको बढ्दो दुरुपयोगसँगै सुदूरपश्चिमका सहरी जिल्ला मानिने कैलाली कञ्चनपुरमा बलात्कार र हत्याका घटना बढ्दै गएका हुन् ।
यसरी दैनिक रूपमा बलात्कारपछि हत्याका घटना बढ्दै जाने हो भने मधेस प्रदेशको जस्तै यस क्षेत्रमा पनि ‘बेटी बचाऊ’ र ‘बेटी पढाऊ’ अभियान सुरु गर्नु जरुरी देखिन्छ । सरकारले बलात्कारीलाई कडा कानुन बनाउन त जरुरी नै भए पनि अभिभावकले समेत सचेत हुन आवश्यक छ । नेपाल अविकसित र अशिक्षित देशको पिछडिएको क्षेत्रमा सुदूरपश्चिममा भइरहेका घटनाका विषयमा छनबिन र दोषीलाई कडा सजाएको कठघरामा उभ्याउन सक्नुपर्छ ।
पुरातनवादी सोच र पुरुषवादी मानासिकतामा शुद्धीकरण नभएसम्म नारी मुक्तिको सम्भव छैन । महिलामाथि हुने यातना, हिंसा, बालिका भ्रूण हत्या, बलात्कार, बालविवाह, बहुविवाह, अपहरण, तस्करी, बेचबिखन, महिलाहरूमा आइपर्ने कठिनाइबारे चेतना जगाउन, महिला मानवअधिकारलाई विश्वव्यापी बनाउन, संयुक्त राष्ट्र संघीय महासभाद्वारा महिलाविरुद्ध भेदभाव उन्मूलन महासन्धि पारित गरिएको छ । तर, यसले मात्र समस्याको समाधान गर्न सक्दैन । पुरातनवादी सोचमा परिवर्तन र पुरुषवादी मानसिकतामा शुद्धीकरण हुनसके मात्र समानताको व्यवहार देख्न सकिन्छ र महिलामाथि हुने घटनामा कमी आउन सक्छ ।
बलात्कारका घटनामा संलग्न भएका पुरुषको जुन छवि समाजमा स्थापित हुँदै गएको छ, त्यो शंकास्पद छ । साँच्चिकै कुनै वर्गको मानिस बढी संलग्नता छ भने त्यस विषयमा सरकारले नै गम्भीर भएर अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा ल्याउन जरुरी छ । कडा कानुन र मानिसको सोचमा परिर्वतन गर्नसके मात्र महिला सुरक्षित रहलान् ।
प्रतिक्रिया