प्रधानमन्त्री कपमा पुलिसको अपराजित यात्राको अन्त्य

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको अपराजित यात्राको अन्त्य भएको छ । बिहीबार रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले हरायो ।

जितसँगै आर्मीको पुलिससँग समान अंक भए पनि पुलिसलाई हेड टु हेडमा अघि रहेर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिस अघिल्लो संस्करणको लिग खेलमा १० खेल जितेको थियो । यस संस्करणमा लगातार ८ खेलमा जित हात पारेको थियो । सन् २०२२ मा भएको प्रतियोगिताको सेमिफाइनलमा आर्मीसँग २ विकेटको रोमाञ्चक हारपछि पुलिस अपराजित थियो ।

पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । आर्मीको जितमा विवेककुमार यादवले अविजित रहँदै सर्वाधिक ४१ रन जोडे । यस्तै, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२ र विनोद भण्डारीले अविजित १३ रन जोडे । पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले आर्मीका स्पिनरहरू प्रभावकारी रहेपछि ४१ दशमलव ४ ओभरमा १४८ रनमा अलआउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याट्सम्यान चल्न नसक्दा कम योगफलमा नै समेटिएको थियो ।
कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए । यस्तै, आरिफ शेखले २२, गुल्शन झाले १७, सागर ढकालले १६ तथा अर्जुन साउदले १३ रन बनाए । पुलिसको ब्याटिङ धराशाही बनाउन आर्मीका लागि १० नै विकेट स्पिनरले लिएका थिए ।

शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । शाहबले प्रधानमन्त्री कपको इतिहासमा १०० विकेट पूरा गरे । उनी अगाडि पुलिसका ललितनारायण राजवंशीले १०० विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १०० विकेट पूरा गरेका हुन् ।

आर्मीका नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १–१ विकेट लिए ।

शनिबार हुने फाइनल खेलपछि लिग चरणको शीर्ष टोलीको टोलीको टुंगो लाग्ने छ । पुलिस र आर्मीको फाइनल स्थान भने सुरक्षित भइसकेको छ ।
जितसँगै समान अंक भए पनि आर्मी हेड टु हेडमा अघि रहेर शीर्ष स्थानमा छ । पराजित पुलिस दोस्रो भएको छ । विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो स्थान पक्का गरेको छ ।

बिहीबार नै भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि पाएको २६० रनको लक्ष्य मधेसले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । मधेसको जितमा अनिलकुमार साहले ७०, रोहन विकल ३९, हरिशंकर साहले ३३ र पवन सर्राफले ३१ रन बनाए ।

बलिङमा बागमतीका सूर्य तामाङले २ तथा इशान पाण्डे, रिजन ढकाल, गौतम केसी र विपिन आचार्यले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेट गुमाउँदै इशान पाण्डेको शतकका मद्दतमा २५९ रन बनाएको थियो ।

इशानले ११४ रन बनाउँदा रिजन ढकाल र विवेक मगरले समान ३०–३० रन बनाए । बलिङमा मधेसका हरिशंकर साह, पवन सर्राफ र अनिलकुमार साहले २–२ विकेट लिए । ४–४ खेल जितेर समान ८ अंक जोडेका यी २ टिममध्ये बागमती अंक तालिकाको ४ र मधेस सातौँ स्थानमा छ ।

प्रतिक्रिया