काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त भएका छन् । साफ कार्यकारी समितिले कट्टेललाई महासचिवमा नियुक्त गरेको हो । उनले अन्वरुल हकको राजीनामापछि उक्त पद सम्हाल्न लागेका हुन् । हकले सन् २०१५ देखि महासचिवको रूपमा कार्यभार सम्हालेका थिए । उनले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् ।
शासन व्यवस्था (गभर्नेन्स) को विषयमा विशेषज्ञता राख्ने कट्टेलले अप्रिल १ देखि औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् । साफमा जिम्मेवारी सम्हाल्नुअघि उनी एसियाली फुटबल महासंघ (एएफसी) मा दक्षिण एसियाली युनिट प्रमुखको रूपमा १७ वर्षसम्म कार्यरत थिए ।
नेपालका नागरिक रहेका कट्टेलले लामो समयदेखि फुटबल प्रशासनमा अनुभव बटुलेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापकको रूपमा गभर्नेन्ससम्बन्धी मुद्दा व्यवस्थापनदेखि लिएर एसियाभरिका विभिन्न प्रतियोगिताहरू सम्हाल्नेसम्मको भूमिकामा उनी क्रियाशील थिए ।
प्रतिक्रिया