नेपाली राजनीतिको समाजशास्त्र

राजतन्त्रलाई किनारा लगाइएको २ दशक पुग्न लाग्दासमेत संक्रमणले छाडेन । फेरि राजा चहियो भन्नेहरूको स्वर चर्को हुन थालेको छ । युवा पुस्तामा राजनीतिप्रति नै विकर्षण बढ्न थालेको छ । यसका विविध कारण होलान् । तर मूल कारण भनेको देश सञ्चालन गर्नेहरूले समाजको मानसिकता बुझ्न नसक्नु नै हो ।

अञ्जु कार्की

प्रख्यात समाजशास्त्र ढाका विश्वविद्यालयका प्रोफेसर आबुल कासेम फजलुल हकले सन् १९८७ मा प्रकाशनमा ल्याएको ‘माओ सेतुङेर ज्ञानतत्व’ नाम गरेको पुस्तक विश्वका धेरै भाषाहरूमा अनुदित गरिएको छ । उक्त पुस्तक नेपाली भाषामा अनुवाद गर्ने तयारीमा मदन भण्डारी थिए भनेर चालक अमर लामाले एउटा लेखमा उल्लेख गरेका थिए । उनको यो भनाइ के कति सत्य हो ? यसै भन्न सकिन्न । तर उक्त पुस्तकले विश्व राजनीतिमा उथलपुथल ल्याएको सत्य हो ।

मदन भण्डारीका कुनै पनि भाषण तथा लेखमा उक्त पुस्तकको चर्चा पाइँदैन । तर नेपाली समाजका सन्दर्भमा भण्डारीले गरेको विश्लेषण उक्त पुस्तकसँग मिल्दोजुल्दो छ । उनको विश्लेषण थियो, ‘नेपाली समाज सामन्ती राज्यव्यवस्थाबाट या भनौँ जातीय बन्धुत्वको अवस्थाबाट बुर्जुवा लोकअर्थतन्त्र या यान्त्रिक एकताबाट आधुनिक रूपान्तरणको प्रारम्भिक चरणमा छ । यस अर्थमा सामन्ती–परम्परावादी–जातीय बन्धुत्वको विशेषताको प्रभाव अझै समाजमा विद्यमान छन् । यस्तो अवस्थामा एकातिर विकासका यी चरणहरूले समाजलाई प्रत्यक्ष प्रभाव पारिरहेकै हुन्छन् भने आधुनिकतामा प्रवेश गर्दा आउने चुनौती सामना गर्न समाज पूर्णतया सक्षम भइसकेको हुँदैन । त्यसैले बहुदलीय जनवाद नेपालको यथार्थता हो ।’

बिपी कोइरालाले राजा र राष्ट्रियताका सन्दर्भमा प्रस्तुत गरेको दृष्टिकोणमा पनि नेपाली समाजको अवस्थाप्रति गहिरो विश्लेषण गरेका छन् । राजतन्त्रको औचित्यका सन्दर्भमा बिपी कोइरालाले भनेका छन्, ‘हरेक राजनीतिक क्रिया तथा प्रतिक्रियाले कि त सामाजिक परिवर्तन निर्देश गर्छ या सामाजिक समस्या निम्त्याउँछ ।’ राजसंस्थाको रिक्ततालाई आत्मसात गर्ने अवस्थामा नेपाली समाज नरहेको उल्लेख गर्दै बिपी कोइरालाले राजा र जनता मिल्नुमा नै नेपालको हित रहेको निष्कर्ष निकालेका थिए ।

समाजशास्त्रीय दृष्टिकोणले नेपालको राजनीतिलाई विश्लेषण गर्ने मामिलामा बिपी कोइराला र मदन भण्डारी अग्रणी मानिन्छन् । राजनीतिक विचार तथा सिद्धान्त समाज निरपेक्ष रहन सक्दैन भन्ने व्याख्या दुवै नेताहरूले गरेको पाइन्छ । निश्चित विचार र सिद्धान्त सबै प्रकारका समाजमा लागू हुन्छ भन्ने हुँदैन । बहुदलीय संसदीय प्रजातन्त्रको अभ्यास बेलायतमा सफल भयो भन्दैमा सबै देशमा सफल हुन्छ भन्ने छैन । उदाहरणका लागि कमनवेल्थ देशहरूमा बेलायतको प्रत्यक्ष निगरानीमा बहुदलीय संसदीय प्रणालीको सुरुआत भएको थियो । यही प्रणालीअन्तर्गत अस्ट्रेलिया र क्यानडाले बेलायतको जस्तै उन्नति गरे । राजनीतिक प्रणालीलाई संस्थागत बनाए । राजनीतिक प्रणालीलाई संस्थागत बनाउन भारत अहिले पनि कठिन चुनौतीसँग जुधिरहेको छ । तर पाकिस्तानको हालत लथालिंग छ ।

२००७ सालको परिवर्तनलाई नेपाली राजनीतिको कोसेढुंगा मान्ने गरिएको छ । त्यही समताका भारत स्वतन्त्र भई संसदीय प्रणाली सुरुभएको हो । त्यसैताका चीनमा कम्युनिस्ट राज्यसत्ता सुरु भएर निकै दु्रतगतिमा आर्थिक उन्नति गरिरहेको छ । तर नेपाल अहिले पनि राजनीतिक रूपले संक्रमणकालीन अवस्थामै छ ।


यतिन्जेल नेपालको राजनीतिक संक्रमणको मुख्य कारक राजतन्त्र ठानिएको थियो । तर राजतन्त्रलाई किनारा लगाइएको २ दशक पुग्न लाग्दासमेत संक्रमणले छाडेन । फेरि राजा चहियो भन्नेहरूको स्वर चर्को हुन थालेको छ । युवापुस्तामा राजनीतिप्रति नै विकर्षण बढ्न थालेको छ । यसका विविध कारण होलान् । तर मूल कारण भनेको देश सञ्चालन गर्नेहरूले समाजको मानसिकता बुझ्न नसक्नु नै हो । विभिन्न कालखण्डमा विभिन्न नाम भएका राजनीतिक परिवर्तनले ठोस उपलब्धि हासिल गर्न नसक्नुको मुख्य कारण भनेको सामाजिक चेतना सुहाउँदो गतिविधि गर्न राजनीतिकर्मी चुक्नु हो ।

हरेक ५ वर्षमा हुने निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधिले देश सञ्चालन गर्नुभन्दा निश्चित बंशमा जन्मेको व्यक्तिले अनन्तकालसम्म शासन गर्ने पद्धतिलाई उपयुक्त ठान्ने भनेको दास मानिसकता बोकेको व्यक्तिले मात्रै हो । नेपाली समाज लामो समयसम्म रैतीका रूपमा रह्यो । नेपाली समाजको मूल चरित्र भनेको शासक वर्ग र शासित वर्ग हो । तर लोकतन्त्रमा शासक वर्ग र शासित वर्ग हुँदैन भन्ने भेउ न जनताले पाए, न नेताले नै पाए । सत्ताको कुर्सीमा पुग्नु शासनका लागि हो कि जनताको सेवाका लागि हो ? भन्ने भेउ नेताले पाउन नसक्नुको कारण राजनीतिशास्त्रको अज्ञानता मात्रै होइन समाजशास्त्रको अज्ञानता पनि हो । राजतन्त्रमा राज्यको मर्यादाक्रम निर्धारण गरिँदा सबैभन्दा शीर्षस्थानमा राजाको नाम र सबैभन्दा तल्लो स्थानमा जनताको नाम राखिनु स्वभाविक थियो । तर लोकतन्त्र आएपछि राजाको ठाउँमा राष्ट्रपतिको नाम राखेर अन्य सूची हुबहु राखियो । जबकी लोकतन्त्रमा जनताको स्थान सबैभन्दा उच्च हुन्छ भन्ने हेक्का दल तथा तिनका नेताहरूले राखेनन् ।

अहिले नेपालमा बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मका नेताले राजनीतिक भेला, सम्मेलन र अन्तर्वार्तामा दिएका अभिव्यक्तिको विश्लेषण गर्ने हो भने अमेरिकाका प्रख्यात समाजशास्त्री बेन्जामिन ग्राहमले उतिबेला निकालेको निचोडसँग मिल्दोजुल्दो देखिन्छ । उनका अनुसार दिमागको अन्तरकुन्तरमा दास मानसिकता बोकेका नेताहरूले आमसभामा भाषण गर्दा अर्कालाई निकृष्ट रूपमा आलोचना गर्दै आफ्ना कार्यकर्तालाई उक्साउने गर्छन् । यही कारण जनतामा नेताप्रतिको सम्मान घट्दै जान्छ । चुरोटको अम्मली आमाबुबाले छोराछोरीलाई धूमपानले श्वासप्रश्वासमा असर गर्छ । चुरोट पिउन हुन्न भनेर सम्झाएको जस्तो जनताले ठान्छन् ।

जतिबेला तर्क, प्रमाण र सत्यले प्रतिवाद गर्न सकिन्न, त्यतिबेला नेताहरू एकअर्काप्रति तुच्छ लाञ्छनाको प्रतिस्पर्धामा उत्रन्छन् । यस्तो अवस्थामा तर्क, प्रमाण र सत्यको राजनीति छायामा पर्छ । लोकतन्त्र र राजतन्त्रलाई नेपाली जनताले भिन्न देख्न छाड्नुको एउटा कारण नेताहरूले लगाउँदै आएको तुच्च लाञ्छना हो । उदाहरणका लागि गणतन्त्र प्राप्तिपछि देश झन् अधोगतिमा गएको आरोप पूर्वराजा ज्ञानेन्द्रले लगाइरहेका छन् । यसको खण्डन प्रचण्डले तर्क र प्रमाणद्वारा गर्नुपर्ने थियो, तर ‘भाइमारा र मूर्तिचोर’ भन्दै प्रतिकार गरे । राजावादीहरूले पनि ‘१७ हजारको हत्यारा’ भन्दै प्रचण्डलाई गाली गर्नु स्वभाविक हुन गयो ।

राजतन्त्रमा जस्तै भ्रष्टाचार हुने हो भने, राजतन्त्रमा जस्तै अन्याय हुने हो भने किन चाहियो गणतन्त्र ? यो प्रश्नसँग आमनेपाली सहमत छन् । किन सहमत छन् ? भन्ने प्रश्नको उत्तर राजनीतिक कोणबाट मात्रै खोजेर पाइँदैन । राजनीतिक दृष्टिकोणबाट खोजिएको उत्तरले समस्याका समाधान गर्दैन । समाजशास्त्री कोणबाट उत्तर खोज्नुपर्ने हुन्छ । किनकी हाम्रो समाजमा राजा, प्रजा, रैती लगायतका शब्दले अहिले पनि जरो गाडेका छ । उदाहरणका लागि रैती भनेको दास हो, मालिकले दासलाई गरिखान उपलव्ध गराएको भूमिलाई रैकर भनिन्छ । अहिले पनि नेपाली जनताको भूमिलाई सरकारको आधिकारिक अभिलेखमा रैकर भनेरै उल्लेख छ । रैकरमा बसोबास गर्न पाउनुलाई सबैले गर्व गर्दै आएका छन् । गणतन्त्र स्थापना भएको यतिका वर्ष बित्दासमेत रैकरको सट्टा निजी जमिन भनेर उल्लेख गर्नेतर्फ हाम्रा नेताहरूको ध्यान गएन । किनकी पुस्तौँ पुस्तादेखिको दमित मानिसकताका कारण नेताहरूको दिमागले यो विषय सोच्नै सकेन ।

पुस्तौँपुस्तासम्म प्रजा वा रैतीका रूपमा नेपालीहरू जन्मे हुर्केका हुन् । त्यसले आफूजस्तै सामान्य मानिस राष्ट्रपति भएको देख्दा भित्रभित्रै कुण्ठा तथा जलन हुन्छ । शासन गर्न खास वंश वा घरानामा जन्मिनुपर्छ भन्ने दमित चाहनाको उपज हो यो । देशलाई हिन्दुराज्य कायम गर्ने मनसायको अर्थ भनेकै अदृश्य वा दैवीशक्तिको अस्तित्व स्वीकार गर्नु हो । यस्तो अस्तित्व दिमागमा राख्नेहरू गणतन्त्रवादी हुनै सक्दैनन् ।


(कार्की समाजशास्त्र एमफिलकी विद्यार्थी हुन्।)

प्रतिक्रिया