प्रधानमन्त्री कपमा एपिएफ, बाग्मती र गण्डकीको जित

काठमाडौँ । लुम्बिनी प्रदेशमाथि सहज जित हात पार्दै विभागीय टोली एपिएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना जीवितै राखेको छ । सोमबार सम्पन्न खेलमा एपिएफले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै एपिएफले ८ खेलबाट १२ अंक पु¥याएको छ । तथापि, एपिएफ शीर्ष २ का नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग २ अंकले पछि परेको छ ।

यी २ टोलीको १४ अंक छ । पुलिसले आर्मी र एपिएफभन्दा १ खेल कम खेलेको छ । प्रतियोगिताबाट बाहिरिइसकेको लुम्बिनीको भने ८ खेलबाट ८ अंक मात्रै छ ।
लुम्बिनीले दिएको २२४ रनको लक्ष्य एपिएफले ४१ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । एपिएफको जितमा पूर्ण विकले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । ११२ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहितकुमार पौडेलले भने ७१ रन बनाए । ९१ बलको सामना गरेका रोहितले ७ चौकासहित ७१ रन बनाए । २२ वर्षीय रोहित पछिल्ला ७ पारीमा असफल थिए । सोमबारको खेल अघि उनको उच्च स्कोर नै २२ रन थियो । उनले पछिल्ला ७ पारीमा ७२ रन मात्रै बनाउन सकेका थिए ।

एपिएफका लोकेश बम २१ र आसिफ शेख १८ रनमा आउट हुँदा सन्दीप जोरा २१ रनमा अविजित रहे । लुम्बिनीका राजेन्द्र बमले ३ विकेट लिए ।

सोमबार नै भएको अर्को खेलमा रिजन ढकाल र सूर्य तामाङको घातक बलिङसँगै बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ । जितसँगै बागमतीको ८ खेलबाट ८ अंक भएको छ । कर्णालीको समान खेलबाट समान अंक छ ।

कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले ६ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै ६२ रन बनायो । बागमतीका ईशान पाण्डेले सर्वाधिक २२ रन बनाए । ११ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । ओपनर आषुतोष घिरौया १९ र शुभ कंशाकार १६ रनमा अविजित रहे । कर्णालीका दीपेन्द्र रावतको नाममा १ विकेट रह्यो ।

त्यसअघि दाङको देउखुरी अन्तर्राष्ट्रिय रंगशालामा जितेर ब्याटिङ थालेको कर्णालीले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनायो । कर्णालीले प्रधानमन्त्री कपमा बनाएको यो दोस्रो सबैभन्दा कम योगफल हो ।

यसअघि कर्णालीले २०१९ मा कोसी प्रदेशविरुद्ध भएको खेलमा २० दशमलव १ ओभर ब्याटिङ गर्दै ४७ रन बनाएको थियो । कर्णालीका सुनील धमालाले सर्वाधिक १५ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बागमतीका रिजनले सर्वाधिक ५ विकेट लिए । ८ दशमलव १ ओभर बलिङ गरेका उनले १ मेडनसहित १९ रन खर्चिए । सूर्यले ७ ओभर बलिङ गर्दै २ मेडनसहित १७ रन खर्चिंदै ४ विकेट लिए ।

अर्को रोमाञ्चक खेलमा भने सुपर ओभरमा मधेस प्रदेशलाई गण्डकीले पराजित गरेको छ । यो गण्डकीको अन्तिम खेल पनि हो । सोमबार गण्डकीले सुपर ओभरमा १३ रनको जित हात पारेको हो । मधेसले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले १ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २४६ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

सुपर ओभरमा गण्डकीले २३ रनको लक्ष्य दिएको थियो । मधेसले ९ रन मात्रै बनाउन सक्यो । योसँगै गण्डकीले ४ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिता सक्काएको छ ।

२ खेल खेल्न बाँकी मधेसको भने ४ अंक छ । मधेस पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ । गण्डकीका अर्जुनले सर्वाधिक १०६ रन बनाए । १४० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे ।

मधेसले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनाएको हो ।

गण्डकीका अर्जुनले सर्वाधिक १०६ रन बनाए । १४० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । दिनेश बुढामगर ३४ र कप्तान विपिन खत्री २६ रनमा आउट हुँदा सुदीप अर्याल ३४ रनमा अविजित रहे । मधेसका विशाल पटेलले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको मधेसले ७ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । मधेसका रोहन विकले सर्वाधिक ६४ रन बनाए ।

प्रतिक्रिया