नेताहरूको सम्पत्ति राष्ट्रियकरण जरुरी

राजाले अब राज्यको जिम्मेवारी सम्हाल्न अनिवार्य भयो । देशमा भ्रष्टाचार भइरहेको बेला, जनताले आँशु बगाइरहेको बेला, विचौलियाहरू अझ मजबुत भएको बेला, गरिब जनताले न्याय नपाएको बेला, विकास निर्माण ठप्प भएको बेला, विदेश सम्बन्ध बिग्रँदै गएको बेला राजा ज्ञानेन्द्र सक्रिय हुनु अनिवार्य भइरहेको थियो ।

डा. महेन्द्रबहादुर कार्की

राजाले शासन सत्ता चलाउँदा हाम्रो मुलुक धेरै राम्रो अवस्थामा थियो । जनता सुखी र समृद्ध थिए । तर अहिले देश चलाउन नजान्ने, देशको माया नभएका, जनताको माया नभएकाको हातमा देश पर्न गएकोले देश चिन्ताजनक अवस्थामा छ । देशका होनाहार युवालाई बिदेसिन वाध्य यिनैले पारेका हुन् । देशमा उद्योगधन्दा, व्यापार व्यवसाय, आम्दानीका स्रोतहरू सुक्दै गएको अवस्था छ । देशका शिक्षित वर्गले अनुभव र पढेर सिकेका विषय विदेशमा प्रयोग गरिरहेका छन् । देशमा कुनै कलकारखाना उद्योग धन्दा नभएकाले शिक्षित जनशक्तिले आफूले सिकेका सीप स्वदेशमा प्रयोग गर्न पाएनन् ।

राजनीतिक नेताहरू विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिँदैन । २ देशको तरुलको रूपमा बसेको सानो देशलाई ठुलाठुला देशले थिचोमिचो गरिरहेको अवस्था छ । राजनीतिक दलका प्रमुख नेताहरू देशको मायाभन्दा विदेशी दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेको देखिन्छ । विभिन्न सामाजिक संघ संस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरूलाई मुठीमा राखेर प्रमुख नेताहरूले विभिन्न आफू अनुकूल निर्णय गराइरहेका छन् । आफ्नो हैकम चलाइरहेका छन् ।

वडादेखि केन्द्रसम्मका जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुलिरहेका छन् । गरिब जनता आज खाए भोलि के खाउँ भन्ने अवस्थामा छन् । त्यसैले गरिब जनता बाँच्न सक्ने अवस्थै देखिँदैन । राज्यका विभिन्न क्षेत्रहरू विचौलियाको हातमा चलेको छ । न्याय पाउने ठाउँमा न्यायका लागि अनुरोध गर्न जाँदासम्म आर्थिक चलखेल हुन्छ । त्यसैले गरिब जनता न्यायिक क्षेत्रबाट विमुख हुनुपर्ने अवस्था छ । त्यसैले देशको अहिलेको समग्र स्थिति दयनीय र चिन्ताजनक अवस्थामा पुगेको छ ।

राजाले अब राज्यको जिम्मेवारी सम्हाल्न अनिवार्य भयो । देशमा भ्रष्टाचार भइरहेको बेला, जनताले आँशु बगाइरहेको बेला, विचौलियाहरू अझ मजबुत भएको बेला, गरिब जनताले न्याय नपाएको बेला, विकास निर्माण ठप्प भएको बेला, विदेश सम्बन्ध बिगँ्रदै गएको बेला राजा ज्ञानेन्द्र सक्रिय हुनु अनिवार्य भइरहेको थियो । अहिले सव्रिmय हुनुभयो । यो जनतालाई चित्त बुझिरहेको छ ।
पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यलाई जोडेर नेपाल निर्माण गर्नुभएको सबैलाई सर्वविदिदै छ । उहाँको आफ्नै सन्तान हुनुहुन्छ राजा ज्ञानेन्द्र । आफ्नो बाबु बाजेले आर्जन गरेको देश बिग्रिन लाग्दा राजा ज्ञानेन्द्र सक्रिय हुनु स्वभाविकै हो । अब नेताहरूको विदेशमा रहेको सम्पत्ति राष्ट्रियकरण गरी विकास निर्माणमा लगाउनु पर्छ ।

अब गणतन्त्रका नेताहरूको हातबाट सत्ता खोस्ने दिन आउँदै छ । राजसंस्था नफर्किने कुरै छैन । अब हाम्रो आन्दोलन निर्णायक रूपमा अघि बढ्दै छ । जनताले चाहे भने कुनै पनि बेला राजसंस्था फर्किनेछ । राजसंस्था पुनःस्थापित नगरी हाम्रो आन्दोलन रोकिँदैन । राजाले इमानदारीपूर्वक जनधनको क्षति नहोस् भनेर त्यतिबेला राजगद्दी त्याग्नुभएको हो । अब त्यसरी नै शान्तिपूर्ण रूपमा दलहरूले राजालाई श्रीपेच फिर्ता दिनुपर्छ ।

देशका युवा शक्तिलाई यहाँ काम गर्न नसक्ने वातावरण निर्माण गर्ने र यहाँ बसेका सोझा निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेका छन् । कलकारखाना यिनैले बेचेका हुन् । जताततै अराजकता यिनैले गर्दा भएको हो । राज्यका हरेक निकायहरूमा गणतन्त्रवादीले लुटिरहेका छन् । त्यो लुटेको सम्पत्ति मात्र खर्च गर्ने हो भने देश विकास हुने थियो । जनतालाई सस्तो आश्वासनमा भुलाएर देशबाट लुटेका धन स्विट्जरल्यान्डमा राख्ने गरेको अब जनताले बुझिसकेका छन् । देशको यो अवस्थामा जनता संगठित र आन्दोलित हुनुपर्ने अवस्था छ ।

जबसम्म जनताले बुझ्दैनन् तबसम्म सधँै देश र जनताको भलो चिताउने राजसंस्था फर्किंदैन । तबसम्म गणतन्त्रवादीहरूले देश यसरी नै लुटिनै रहनेछन् । देशमा आउने विभिन्न मेसिन, पार्टपुर्जा, कालिगढ तथा कच्चा पदार्थहरू नेपालको बोर्डरबाट भन्सार तिरेर आयात गरिन्छ । त्यही सामग्रीको बढी मूल्य पर्ने हुन्छ तर त्यहि मुख्यभन्दा सस्तोमा मालसामान छिमेकी राष्ट्रबाट चोरी निकासी भएर आउँदा सस्तोमा आउने भएपछि देशका उत्पादनकर्ताहरू धरासाही हुँदै टाट फल्टेको अवस्था छ ।

यसै गरी देशको कृषिमा काम गर्ने देशका युवा शक्ति विदेशीरहेका छन् । देशमा उत्पादन नभएपछि विदेशबाट ल्याउनुपर्छ । त्यसले मूल्य बढ्नु स्वभाविक हो । त्यसमाथि विदेशी खाद्यान्न नुन, तेल, चामल, फलफूलमा समेत केमिकलको प्रयोग गरेर मिसावट गरिएको पाइन्छ । फलस्वरूप जनतालाई विभिन्न रोग लगाइरहेको छ । गरिब जनता नुन, तेल, चामल लगायतका वस्तु किन्न सक्ने अवस्था छैन । महँगी नियन्त्रण गर्न बनेका सरकारी संयन्त्र मूकदर्शक भइरहेको देखिन्छ ।

युवा शक्तिको विदेश पलायन, विभिन्न क्षेत्रमा महँगो कर, नेताहरूलाई जनताप्रति माया नहुनु भ्रष्टाचार बढ्दै जानु, नेताका नातागोताले विभिन्न ठाउँमा पेवाको रूपमा सम्पूर्ण ठाउँमा कृकृत्य गर्नु, कुनै पनि ठाउँमा अनुगमन नहुन जस्ता कारणले देश विकास नभएको हो । शिक्षा क्षेत्र अनुसन्धानमुलक नहुनु, व्यावहारिक नहुनु र राम्रो शिक्षाका लागि विदेश जानुपर्ने र यही पनि निजी स्कुल क्याम्पसमा पढाउनुपर्ने वाध्यता रहेको छ । त्यसमाथि देश हाँक्ने दलका नेताहरूको अदूरदर्शिताका कारण देश विकास नभएको हो । नेपालमा उत्पादन भएका जडिबुटीहरू सस्तोमा विदेश निकासी भएको छ, तर विदेशबाट महँगोमा औषधि किन्न परिरहेको छ । त्यसैले स्वदेशमै औषधिजन्य नरम नीति ल्याउनुपर्छ । प्राकृतिक उपचार र प्राकृतिक शिक्षा नेपालमै हुनु आवश्यक छ । त्यसैले राजा नआई शैक्षिक नीति फेरिएला जस्तो देखिँदैन ।

त्यसो त राप्रपा स्थापनाकालदेखि राजावादी र हिन्दुवादी पार्टी हो । अरू खोलिएका पार्टीहरूले केही गर्ने सक्दैनन् भन्ने बुझेर नै हाम्रो विधानमा पनि यही कुरा उल्लेख गरिएको हो । अब हामी हिन्दुराज्य र राजसंस्था पुनस्थापना गर्न सडक र सदनबाट आन्दोलित भइरहने छौँ । हाम्रो सम्पूर्ण सम्यन्त्र आन्दोलनमुखी बनाइरहेका छौँ । अब जनताकै बलमा राजासहितको प्रजातन्त्र बहाली हुँदै छ । त्यसैले गणतन्त्र देश र जनताको हितमा थिएन भन्ने कुरा अहिले पुष्टी भएको छ । त्यसैले राप्रपाले टोल–टोल, वडा–वडा, क्षेत्र–क्षेत्र र जिल्ला–जिल्लाका जनतालाई राजसंस्थाबारे बुझाउँदै आएको छ । अब हामी अहिले भने निर्णायक आन्दोलनमा छौँ ।

देश र जनताको माया गर्ने, शिक्षित व्यक्ति, अनुभवले परिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निःस्वार्थ भावनाले देश बचाउनुपर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । हाम्रो पार्टीका नेताहरू यसमा पर्नु हुन्छ । (लेखक कार्की राप्रपाको केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया