काठमाडाैं । विश्वकपको उपविजेता भएपछि नेपालमा खोखो खेलको विकासका लागि ऐतिहासिक रुपमा लिग चरणको सुरुवात भएको छ । लुम्बिनी प्रदेश बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा रहेको नेपालको पहिलो खोखो कभर्डहलमा नेपाल खोखो लिग ड्रिम खाेखाे यही चैत २३ देखि ३० गतेसम्म सञ्चालन हुँदैछ ।
पाँचवटा टिम होस्ट रहने गरी चैत ८ गते प्रशिक्षक र मार्की खेलाडीको अक्सन ठाकुरबाबा नगरपालिका बर्दियामा रहेको नेचर नेस्ट रिसोर्टको प्रायोजनमा सम्पन्न भएको छ । पाँचवटा टिमहरुमा डेली कन्ट्रक्सन राइनाे, नेचर नेस्ट टाइगर्स, विकास प्रिमियम ब्ल्याक ब्याक, सुदूरपश्चिम किङ्स र कञ्चन गैडाहवा रोयल्स रहेका छन् ।
अब अन्य खेलाडीहरुको छनौट प्रक्रिया समेत हुने बताइएकाे छ । पहिलो पटक सञ्चालन हुन लागेको लिग ठाकुरबाबा नगरपालिका बर्दियाको मुख्य प्रवर्द्धकत्वमा नेपाल खोखो संघको आयोजना राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन र लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापनमा सञ्चालन हुँदैछ ।
आज भएको प्रशिक्षक र मार्की खेलाडी छनौटमा डेली कन्ट्रक्सन राइनाेले प्रशिक्षक विक्कीराज महर्जन, मार्की खेलाडी राजन वल नेचर नेस्ट टाइगर्सले प्रशिक्षक खगेन्द्रबहादुर शाही, मार्की खेलाडी विकरालसिंह रत्गैया, प्रिमियम ब्ल्याक ब्याकले प्रशिक्षकमा श्याम बुढाथोकी, मार्की खेलाडीमा झलक विक, सुदूरपश्चिम किङ्सले प्रशिक्षकमा नागराजु नाथ र मार्की खेलाडीमा हेमराज पनेरु, कञ्चन गैडाहवा रोयल्सले प्रशिक्षकमा राजकुमार थापा, मार्की खेलाडीमा भरत सारुमगर छनौट गरेका छन् ।
राष्ट्रियस्तरमै पहिलो पटक सञ्चालन हुन लागेको नेपाल खोखो लिगमा ठाकुरबाबा नगरपालिका र सम्पूर्ण नगरवासी उत्साहपूर्वक सम्पन्न गर्न हौसिएका छन् । नेपालमै सबैभन्दा बढी खोखो गतिविधि हुने तथा राम्रा खेलाडी भएकाले पनि सबैको साथ सहयोग र समर्थनबाट ऐतिहासिक लिग अगाडि बढीरहेको छ ।
प्रतिक्रिया