ज्ञान, इच्छा, क्रिया शक्तिको जागरण एवं मन, वचन र कर्मको ऐक्यबाट मात्र रूपान्तरण सम्भव छ । सार्थक जीवन जिउनु नवीनताको द्योतक हो । नयाँपनले जीवनमा आशा, ऊर्जा र चेतना भर्दछ । त्यसको प्राप्ति कलाबाट हुन्छ । कलाले समाजको सकारात्मक परिवर्तनमा समेत सशक्त भूमिका खेल्दछ अर्थात् कला केवल सौन्दर्य प्रदायक मात्र नभई आत्मकल्याणकारक, समाजकल्याणकारक एवं जीवनोपयोगी हुन्छ । समाज, प्रकृति, संस्कृति र जीवनदर्शनका विविध पाटा र आयामलाई यसले ग्रहण गर्ने सामथ्र्य राख्दछ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलाको संरक्षण, संवर्धन, प्रवर्धन, सर्र्वाङ्गीण विकास, उत्थान, खोज, अध्ययन–अनुसन्धानका लागि विविध कार्यशाला, गोष्ठी, प्रदर्शनी, विद्वत्विमर्श आदि गर्दै आइरहेको परिप्रेक्ष्यमा प्रतिष्ठानले आफ्नो प्राज्ञसभाबाट अख्तियार गरेको अनुसन्धान, सिर्जना र सम्मानको रणनीतिलाई मूर्त रूप दिन आफ्ना गतिविधिहरूलार्ई केन्द्रिकृत मात्र नगरी प्रदेश सरकार, स्थानीय तह (गाउँपालिका÷नगरपालिका), प्रदेश र स्थानीय तहमा स्थापना भएका प्रज्ञा–प्रतिष्ठान, परिषद्, समिति तथा कला–साहित्यसम्बन्धी विभिन्न सङ्घ–संस्थासँग सहकार्य तथा समन्वय गर्दै प्रतिष्ठानका ९ ओटा विभाग र ७ ओटा प्रदेश समन्वय समितिमार्फत दूरदराजसम्म आफ्ना कार्यक्रम लैजाने प्रयत्न गरेको छ । त्यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीलाई देशको सातै प्रदेशमा लगेको देखिन्छ, जसबाट ललितकलाको संरक्षण, संवर्धन, प्रवर्धन, विकास, उत्थान, कला र कलाकारको खोजी, कलाकारको सम्मान, नेपाली मौलिक, रैथाने ज्ञान, सिप, सिर्जना, शैली, शिल्पको पुस्तान्तरण, पुराना पुस्ताका ज्ञान र अनुभवको संरक्षण, नव पुस्तामा यस क्षेत्रको आकर्षण, पुराना र नव दुई पुस्ताको सामञ्जस्य, ललितकलामार्फत सिर्जना, सिप, रोजगार, उत्पादन र देशको अर्थतन्त्रमा योगदान, कला पर्यटनको विकासमा मद्दत र मूलतः सामाजिक रूपान्तरण ललितकलाको अभियानलाई सार्थक बनाउने उद्देश्यका साथ देशका सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गरेको छ । त्यसैअन्तर्गत पर्दछ– लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ । प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने व्यवस्था भएकाले प्रादेशिक ललितकला प्रदर्शनीको महत्त्व देखिन्छ । किनभने राष्ट्रिय ललितकला प्रदर्शनीलाई नेपालमा ललितकला क्षेत्रको सबैभन्दा ठुलो उत्सवका रूपमा कलाकारले लिने गरेको पाइन्छ ।
नेपालको संविधानले “नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार–प्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने” पर्यटनसम्बन्धी नीति लिएको भएता पनि उपर्युक्त सम्पदाहरूसँग कला जोडिएको हुन्छ । ललितकलालाई यी सम्पदाहरूबाट अलग राखेर हेर्ने हो भने यी सम्पदाहरू अपूर्ण हुन्छन् अर्थात् पूर्ण हुन सक्दैनन् । कला, समाज र संस्कृति एकअर्काका परिपूरक हुन् । त्यसैले पर्यटन उद्योगको विकासका निम्ति पनि ललितकला क्षेत्रको विकास, प्रचार–प्रसार, प्रवर्धन र राज्यको यस क्षेत्रमा पर्याप्त लगानीको आवश्यकता हुन्छ । त्यसै गरी मुलुकको सर्वाङ्गीण विकासका लागि नेपालको संविधान २०७२ ले “देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने” तथा “राष्ट्रिय सम्पदाका रूपमा रहेका कला, साहित्य र सङ्गीतको विकासमा जोड दिने” भन्ने सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिसमेत लिइएको पाइन्छ । तसर्थ ललितकलाको सर्वाङ्गीण विकासविना यसको परिपूर्ति सम्भव छैन । ललितकलाका चित्र, मूर्ति, वास्तुकला, लोककला, शिल्प–हस्तकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालाई समेटेर गरिएको लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मा प्रदर्शित कलाकृतिको विषयवस्तुगत उठान एवं विचारको छोटो चर्चा गर्ने प्रयास तल गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, नेपाल व्यावसायिक कलाकार सङ्घ, रूपन्देहीको सहआयोजना, तिलोत्तमा नगरपालिका, बुटवल नगरपालिकालगायतको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवर्धनमा लुम्बिनी प्रदेशअन्तर्गत पर्ने रूपन्देही जिल्लाको रूपन्देही उद्योग सङ्घ, बुटवलमा २०८१ फागुन १० गतेदेखि १४ गतेसम्म भएको ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ को संयोजन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य दिनेश्वर महतोले गरेका थिए । लुम्बिनी प्रदेशका १२ ओटै जिल्लाका कलाकारहरूको सहभागिता रहेको प्रदर्शनीमा १२३ भन्दा बढी कलाकारका चित्र, मूर्ति, वास्तुकला, लोक, शिल्पहस्त कला, बहुआयामिक तथा अन्य सिर्जनात्मक विविध विधाका १८० भन्दा बढी कलाकृति राखिएको थियो । प्रदर्शनीमा लैङ्गिक दृष्टिकोणले पुरुष कलाकारको सहभागिताभन्दा महिला कलाकारको सहभागिता न्यून प्रतिशत रहेको देखिन्छ तर निराशाजनक स्थिति भने देखिँदैन । केही कला विधामा महिला कलाकरको सहभागिता नै नदेखिएता पनि लोककलालगायतका विधामा कलाकृतिको गुणवत्तासहित उनीहरूले सशक्त भूमिका खेलेका छन् । प्रदर्शनीमा अग्रज, अनुज र नवसिर्जनशील कलाकारहरूको सामञ्जस्य रहेको थियो । जसबाट ज्ञान, शिल्प, शैलीको आदानप्रदानसमेत मिल्ने देखिन्छ ।
समसामयिक चित्रकलातर्फ कलाकारहरूले मानवजीवन, संस्कृति, प्रकृति, धर्म, दर्शन, जीवनपद्धति, भूगोलका विविध विषयवस्तुको चित्रण गरेका छन् । राष्ट्र, राष्ट्रियता, प्रकृति, संस्कृति, धर्मदर्शन, पर्यावरण, जीवनभोगाइ, श्रमसंस्कृति, वात्सल्य, जनजीवन, प्रेम, सम्बन्ध, विकृतिविसङ्गतिप्रतिको खबरदारी, नारीकेन्द्री चेतना, लैङ्गिक विभेदविरुद्धको खबरदारीका जगमा कलाकृतिहरूको सिर्जना भएको थियो । नेपाली माटामा जन्मी–हुर्की पल्लवित भएको बुद्धधर्म, दर्शन, चिन्तन, संस्कृतिका विविध पाटालाई बुद्धको कलात्मक चित्रणद्वारा कलाकारहरूले देखाउने प्रयत्न गरेका थिए । त्यस सन्दर्भमा बुद्धभूमि लुम्बिनी, त्यहाँको ऐतिहासिकता, नेपाली संस्कृति, बौद्ध ज्ञानपरम्परा, चैत्य, विहार, स्तूपा, शान्ति, अहिंसा, करुणा, शून्यवाद, पञ्चज्ञान, दुःख, दुःखको निवृत्तिलगायतका विविध सन्दर्भलाई समेत प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपले कलाकारहरूले चित्रण गरेका थिए ।
नेपाली ग्रामीण समाजको हिजोको भान्साकोठा, भान्साकोठामा पकाउन, राख्न प्रयोग हुने विविध सरसामान, भान्साकोठाको वास्तु, संयुक्त परिवारको द्योतन गर्ने सरसामान, दाउरा, अगेनो, गग्रेटो, गाग्री, खोपा, किल्टी, कचौरा, कसौडीलगायतका वस्तुहरूको सशक्त चित्रणबाट हिजोको भान्साकोठाको ग्रामीण संस्कृतिलाई स्मरण गराउन कलाकार सफल भएका छन् । अझ सो कलाकृतिमा गहिरिएर हेर्ने हो भने मगरसंस्कृतिको जीवन्त भान्साकोठा देख्न सकिन्छ ।
कलाकारहरूले भौतिक विकास, उन्नति र प्रगतिको स्वागत त गरेका छन् तर भौतिक विकासका नाममा पर्यावरणमा पुग्न गएको क्षतिप्रति सरोकारवाला निकायलाई आफ्ना सिर्जनामार्फत झक्झकाएका थिए । औद्योगिकीकरण, वनजङ्गलको विनाश र डढेलो, धुलो, धुवाँले पर्यावरण र प्राणीका जीवनमा पारेको प्रभाव, असरप्रति सजग रही जल, जमिन, जङ्गल, माटो, हावा, पानी, हिमाल, जलचर, थलचर समग्रमा कलाकारहरूले पर्यावरण संरक्षणमा जोड दिएका थिए ।
प्रदर्शनीमा मगर संस्कृति, जनजीवन, खानपान, पाकशाला, वास्तु, पाकाशालाका लागि आवश्यक भाँडावर्तन, अगेनो र दाउरा, भान्सामा महिलाको उपस्थिति, वेशभूषाको जीवन्त चित्रण देख्न सकिन्थ्यो । हिमाली संस्कृति, सभ्यता र शिवको महत्तालाई चित्रण गरिएको थियो । हिन्दुधर्मका देवता शिवपर्वतीको चित्रण र नेपाली माटाका शैव/शाक्त दर्शन–चिन्तन परम्परालाई देखाउँदै हिन्दु–बौद्ध धर्म–दर्शनसँग सम्बन्धित गणेश र विभिन्न देवीहरूको चित्रण गरिएको थियो ।
प्रदर्शनीमा बिजुली बत्तीको सुविधा नभएको हिजोको समयमा उज्यालोका लागि प्रयोग गरिने लाल्टिनको चित्रणबाट विगतको स्मरण गराइएको थियो । आध्यात्मिक रूपान्तरण, जागरण र चैतन्यको खोजीका लागि प्रकृतिको सहारा लिइएको देखिन्थ्यो । नेपाली हिमालीय ग्रामीण परिवेश र पर्यावरणीय सौन्दर्य, ग्रामीण जनजीवन, वास्तु, तिनहु खोलाको पर्यावरणीय सौन्दर्य र पुल, कृषिकर्म, चराचुरुङ्गी, सर्प आदिको चित्रण गरिएको थियो । समग्रमा नेपाली प्रकृति, संस्कृति र जीवनशैलीको चित्रण गरिएको थियो । थारु संस्कृति, जनजीवन, कृषि, श्रम, औजार, वेशभूषा, थारु वास्तुलाई विविध कोणबाट देखाई त्यसको महत्ताबोधमा जोड दिइएको थियो ।
नेपाली युवाशक्तिलाई बाध्यता, रहर र लहरले विदेशी भूमिमा पु¥याउने गरेको देखिन्छ । विविध क्षेत्रमा उनीहरू संलग्न छन् । विदेशीभूमिमा सङ्घर्षरत छन् । दुःख, पीडा र अभावहरू झेलेका छन् । कतिपय मृत्युवरणसमेत गरेका छन् । पारिवारिक प्रेम, स्वदेश छोड्नुपर्दाका पीडा एकातिर छन् र विदेशी भूमिका सङ्घर्ष र बाध्यता अर्कातिर छन् । विदेशी भूमिमा युद्धरूपी यात्रामा नेपालीहरू निक्लनु दुःखद रहेको विषयलाई गम्भीर ढङ्गबाट चित्रण गरिएको थियो ।
प्रेममा देखिएका असामञ्जस्य, घृणा, बेमानी र शोषण, वैदेशिक रोजगार र त्यसले नेपाली समाजमा निम्त्याएका जटिलताहरू, रित्तो गाउँघर, डिप्रेसन, महिला हिंसा, शोषण, उत्पीडन, भोक, रोग र शोकले निम्त्याएका जटिलताहरू, नारी शक्ति र चैतन्यको जागरण एवं विभेद, शोषण, उत्पीडन विरुद्धको खबरदारी, महिलाका दिनचर्यामा आएको सामाजिक परिवर्तन, नेपाली समाजको वर्गीय खाडल र गरिबीकै कारण शिक्षाबाट वञ्चित हुनुपरेको पीडा, अभाव र आँसु, समाजको मनोविज्ञान, दृष्टिकोण र नारीजीवनलगायतका नेपाली समाजका सामयिक विषयवस्तुहरूको चित्रण प्रदर्शनीमा भएको देखिन्छ ।
मातृवात्सल्य, सन्तान प्राप्तिको चाहना, कलाकारिता, लोकतन्त्रको चाहना, स्वतन्त्रता, शिक्षामा असमानता, क्रोध मनोविज्ञान, श्रमसंस्कृति र कर्म, ग्रामीण जनजीवन, पशुपालन, प्रेमसम्बन्ध, सांस्कृतिक परम्परामा आधारित जीवित देवी कुमारी, शान्तिको चाहना, रामग्राम स्तूपा, श्रम गर्ने वर्गप्रति रहेको सामाजिक दृष्टिकोणप्रति सशक्त व्यङ्ग्य र समाज सुधारका लागि प्रतिरोधी चेतनाको विकास, सारङ्गी जनजीवन र संस्कृतिको चित्रण, राष्ट्र निर्माणका लागि बलिदान दिएका सहिदहरू र विभिन्न व्यक्तित्वहरूप्रति सम्मान भाव व्यक्त गरिएको प्रदर्शनीमा देखिन्छ ।
शिल्प–हस्त कलाको विकास मानव आवश्यकताबाट भएको हो । यसमा हाम्रा मौलिक जीवनशैली, जीवनपद्धति, ज्ञानपरम्परा, संस्कार, संस्कृति, जनजीवन, जीवनयापनका दार्शनिक पृष्ठभूमि, पुर्खाको इतिहास, समाज विकासको क्रमलगायतका विविध पाटाहरू जोडिएका हुन्छन् । यसमा देश, भूगोल, जाति, संस्कृतिको पहिचान झल्किएको हुन्छ । देश, भूगोल, जाति, संस्कृतिको चिनारीमा सहयोग पुग्छ अर्थात् शिल्पहस्तकलासँग पहिचान जोडिएको हुन्छ, जीवन्त अस्तित्व हुन्छ । लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मा पनि शिल्प–हस्तकलाका माध्यमबाट कलाकारहरूले नेपाल, नेपाली संस्कृति, नेपाली जातिलाई मूल मियोमा राख्दै बुद्ध धर्मदर्शन, चिन्तन, मायादेवीमन्दिर, बुद्धभूमि नेपाल, नेपाली पहिचानका अल्लो निर्मित झोला, टोपी, कपडानिर्मित उपहारका सामग्री, थारु संस्कृति, जनजीवन, वेशभूषा, पहिरन, थारुसंस्कृतिका देवीदेवता, हात्ती, मयूर, घोडालगायत टेराकोटा निर्मित जीवनोपयोगी सिर्जना, कपडा, बाँस, काँस, फाइबरजन्य ढकिया, डेल्वालगायतका कलात्मक जीवनोपयोगी सामग्री, बाबियोजन्य हुक्कालगायतका कलाकृति प्रदर्शनीमा राखिएका थिए ।
यी शिल्पहस्त कलाका हाम्रा विविध संस्कृति र जनजीवनसँग जोडिएका मौलिक, रैथाने ज्ञान, शैलीलाई पुस्तान्तरण गर्नु आजको आवश्यकता हो । पर्यावरणमैत्री कलात्मक शिल्पहस्तकलाका जीवनोपयोगी सामग्री सिर्जनाहरूलाई राज्यको हर क्षेत्रमा प्रयोगका लागि सचेतना, जागरण, प्रभावकारी नीति र विश्वबजारमा यी पर्यावरणमैत्री सामग्रीलाई ब्रान्डिङ गर्दै नेपाली शिल्पहस्तकलालाई विश्वबजारमा स्थापित तथा देशको अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउन राज्यले तथा सरोकारी निकायले वस्तुगत कार्यनीति अवलम्बन गर्नुपर्ने खाँचो देखिन्छ । त्यसै गरी यी रैथाने, मौलिक ज्ञान, शैली, शिल्पलाई दिगो रूपमा पुस्तान्तरण गर्नका लागि विद्यालय तहबाटै यससम्बन्धी पठनपाठनको व्यवस्था हुनु वाञ्छनीय देखिन्छ ।
प्रदर्शनीमा बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कला विधाअन्तर्गतको उपविधा कार्टुनतर्फ एक मात्र कलाकृति प्रदर्शनीमा राखिएको थियो, जसमा भौतिक विकास, औद्योगिकीकरण, सहरीकरण, धुवाँ, धुलोजन्य प्रदूषण एवं प्रकृतिमा मानव हस्तक्षेपकारी व्यवहार, वनजङ्गलको विनाश आदिले निम्त्याएको जलवायु परिवर्तन (अल्पवृष्टि, अतिवृष्टि, खण्डवृष्टि, भूक्षय, बाढी, पहिरो, तापमानमा पारेको प्रभाव, ओजोन तहले वायुमण्डलमा पारेको प्रभाव आदि) र जलवायु परिवर्तनले प्राणीजगत्को जीवन र पर्यावरणमा पारेको प्रभाव, काला पत्थर बन्दै गएका हिमालहरू, फुट्दै गएका हिमतालहरूप्रति चिन्ता व्यक्त गर्दै पर्यावरणको संरक्षणमा कार्टुनले जोड दिएको छ । औद्योगिकीकरण, विकास निर्माण पर्यावरणमैत्री हुनुपर्नेतर्फ सचेत गराएको छ । जल, जमिन, जङ्गल, हिमाल, पर्यावरण रहे मात्र जीवन रहने हुँदा पर्यावरणको संरक्षणमा सबैलाई सचेत भएर जुट्न कार्टुनले आह्वान समेत गरेको देखिन्छ ।
प्रदर्शनीमा बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कला विधाअन्तर्गतको फोटोग्राफीमा मातृवात्सल्य, जीवनसङ्घर्ष, सन्तानप्रतिको उत्तरदायित्व, जीवन–रिक्सा र भुईँमान्छेको सडकसङ्घर्ष; जिन्दगीका बुढ्यौली, प्राणका लागि जीवनसङ्घर्ष, श्रम र व्यवसाय; नेपाली पहाडीय भूभाग, कृषि पद्धति, रोपाइँ र श्रमसंस्कृति, प्राकृतिक हराभरासहितको पर्यावरण, लुम्बिनीको प्रातःकालीन पर्यावरणीय सौन्दर्य; झट्ट हेर्दा बालश्रमजस्तो देखिने तर ग्रामीण जनजीवन, कृषिकर्म र सानैदेखि आफूले सक्ने कर्ममा लगाव र जिम्मेवारी वहनको व्यावहारिक सिप सिकाइको कुशलताको प्रस्तुति, हिमालीय पर्यावरणको सौन्दर्य र मानवीय गतिविधिका कारण पर्यावरणमा जलवायु परिवर्तनका कारण देखा पर्न थालेका वैश्विक जटिलताहरूप्रतिको चिन्ता, बाल उमेरदेखि नै बचत गर्ने बानीको विकासका लागि खुत्रुके संस्कृति र त्यसमा बालबालिकाको रचनात्मकता; श्रम र श्रमप्रतिको निष्ठा र गौरव, न्वाँगीसंस्कृतिलगायतका विषयवस्तुलाई कलाकारहरूले आफ्ना कलाकृतिमा प्रस्तुत गरेका थिए ।
प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मा राखिएको १३ जना कलाकारका १३ ओटा समसामयिक मूर्तिकलाले विविध विषयवस्तुका भावलाई उजागर गरेका थिए । प्रतीकात्मक रूपमा शिवलिङ्ग देखाई त्यसभित्र नेपाली माटामा विकसित शैव, शाक्त परम्परा, मातृशक्तिको महत्ता, लोक–प्रकृति कल्याणात्मक शैव चिन्तनलाई देखाइएको थियो । राष्ट्रियतालाई केन्द्रमा राख्दै नेपाली वेशभूषा, पहिरनप्रतिको गौरव र आस्था, पारिवारिक प्रेम र कर्तव्य, ठुलालाई आदर र सानालाई प्रेम, माटो, भूगोल र देशप्रतिको ममतालाई चित्रण गरिएको थियो । सृष्टि, सिर्जना र करुणाको प्रतिर्मूिर्त आमाको माृतवात्सल्य, ममता र सन्तान प्रेम देखाइएको थियो । शरीर, कामकला र वासनाप्रतिको सामाजिक दृष्टिकोण खोतल्ने प्रयास भएको थियो । बुद्ध धर्मदर्शन र चिन्तन, थारु सांस्कृतिक जनजीवनसँग जोडिएको थारु नाचलाई चित्रण गरिएको थियो । शाब्दिक रूपले बन्धनले रोकावट, प्रतिरोधलाई पनि जनाउँछ । यसका इतर अन्य अर्थहरूलाई पनि यसले वहन गर्दछ ।
बन्धनका क्षेत्र असीमित हुन्छन् । मूलतः बन्धनका सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् तर प्रस्तुत प्रदर्शनीमा प्रदर्शित कृतिले सर्जकभित्रको राष्ट्रप्रेम, राष्ट्रियता, माटोप्रतिको आस्था, स्वाभिमान, स्वाधीनतालाई मूल विषय बनाएको छ । दुई ठुला राष्ट्रहरूका बिच आफ्नो पहिचान, अस्तित्व र स्वाभिमान खोजिएको पाइन्थ्यो । छेकबार, बन्धनले निम्त्याउने असहजता, कठिनाइलाई देखाउन खोजिएको थियो । मानवजीवनका रहस्य, मुटुको संवेदनशीलता, नारीका सिर्जना, प्रेम, ममता, करुणा र लजालुपनलाई चित्रण गर्ने प्रयत्न गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा बृहत् नेपाली शब्दकोशमा लोकको विविध अर्थमध्ये “समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय, जनसमुदाय” भनिएको छ । त्यसैले लोककला कुनै पनि समुदायसँग जोडिएर आउँछ । तत् समुदायको संस्कार, संस्कृति, भावना, जीवनपद्धति त्यसमा प्रकटित हुन्छ । लोकसमाजका धर्म, संस्कृति, संस्कार, जनजीवन, रीतिथिति, सामाजिक परम्परालाई विविध (कपडा, भित्ता, भाँडावर्तनलगायत) का माध्यमबाट चित्रण गरिन्छ । परम्परागत ज्ञान, शिल्प, शैली, प्रविधि एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुनु नै यसको वैशिष्ट्य र महत्ता हो तर सो वैशिष्ट्य हाम्रा सामु चुनौतीका रूपमा देखापरेका छन् । त्यसै गरी स्थानीयता, सामुदायिक भावना र मौलिकपन लोककलाको आत्मा हो । प्रदर्शनीमा अवधी लोककलाको उल्लेख्य सहभागिता रहे तापनि थारु, मिथिलालगायतका लोककलाका कलाकारहरूको पनि सहभागिता देखिन्छ ।
प्राचीन अवधक्षेत्र अर्थात् हालको नेपाल र भारतको विभिन्न स्थानमा विकसित र पल्लवित अवधी लोककला वेदान्तदर्शन, साङ्ख्यदर्शन, बौद्धदर्शन, अवधी जीवनदर्शनबाट अनुप्राणित देखिन्छ । साथै हिन्दु, बौद्ध, इस्लाम धर्मदर्शनका चिन्तन र आध्यात्मिकता, पर्यावरण, जनजीवन, संस्कार, संस्कृति, रीतिथिति, परम्परा, लोकविश्वास, प्रकृति, जीवनपद्धति, समाजविकास प्रक्रिया, पशुपक्षी जनावर, आध्यात्मिक जागरण, रूपान्तरण, अवधी लोकसमाजका प्रतीकहरू प्रदर्शनीमा राखिएका अवधी लोककलामा मुखरित भएका छन् । ज्यामितीय रेखा, कोण, वर्ग, गोलाकारलगायतका अर्थयुक्त सङ्केतात्मक अवधी लोककलाका प्रतीकहरूले जीवन, अध्यात्म, पर्यावरण, गतिशीलता, चिन्तन, चैतन्य, शक्ति आदिलाई द्योतन गरेका छन् ।
त्यसै गरी प्रदर्शनीमा थारु जनजीवन, संस्कृति, प्रकृति, समाज, रीतिथिति र परम्परासँग जोडिएका थारु जनजीवन र संस्कृतिलाई मुखरित गर्ने थारुलोक कला र मैथिल संस्कृति, जनजीवनलाई मुखरित गर्ने मिथिला लोककला प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा कला, ज्ञान, सिप, शैली र अनुभवले खारिएका अग्रज कलाकारहरू र यस क्षेत्रमा लागेका सिर्जनशील कलाकारहरू : भुवन थापा, बुद्ध थारु, मनबहादुर विश्वकर्मा, नरेन्द्र भण्डारी, यमबहादुर थापा, बालगोविन्द त्रिपाठी, विनाकुमारी सापकोटा, भीमबहादुर श्रेष्ठ, सीताकुमारी चौधरी, कमला तिवारी, केशवराज खनाल, रामचन्द्र चौधरी, लिलाधर केसी,लेखराज गिरी,नरबहादुर विके, मन गोल्डी, खेमबहादुर घिमिरे, एचबी रम्तेल, दिलीप रसाली, आकाश बुढा मगर, अनिष मल्ल, अर्पिता बानियाँ, भावना गोल्डी, विजया खनाल, विकास खनाल, विकल गुरुङ, दिलीप कुमार रोक्का, डोलबहादुर आले, केशव नेपाली, कोमल श्रेष्ठ, कृष्णबहादुर रोक्का, नरेन्द्र विके, प्रदीप थारु, निश्चल गौतम, राजकुमार विके, राजु विके, ताराबहादुर गुरुङ, यमबहादुर मगर, बेनप्रसाद थापा, हरिबहादुर थापा बयम्बु, लालप्रसाद चौधरी, अन्जली श्रेष्ठ, खुस्नुम मुसलमान, कोमल अग्रहरी, पूर्णिमा जिसी, सञ्चिता अग्रहरी, शहिल खान, रवि शर्मा, सिकन्दर चौधरी, हिसिला ओली, पवित्रा चौधरी, श्रीकुमारी चौधरी, शुभेच्छा चौधरी, युक्तबहादुर झाँक्री, अनु थापा, मोहनप्रसाद महतो, नारायण विके, सुमन नेपाली, मणिराम पन्थलगायतका सहभागिताले दुई पुस्तालाई जोड्नुका साथै ललितकला क्षेत्रमा जागरण ल्याएको छ । प्रदेश स्तरमा भएका यस किसिमका कार्यक्रमले नवपुस्तामा उत्साह, हौसला र उत्प्रेरणा मिलेको पनि देखिन्छ । यसबाट आगामी ललितकला क्षेत्र सशक्त, सबल र सक्षम बन्ने सङ्केत पनि देखिएको छ ।
प्रादेशिक ललितकला प्रदर्शनीले भुईँ तहमा रही सिर्जना गर्ने प्रतिभाहरूको खोजी, सम्मान र तिनमा उत्साह भर्ने काम गरेको देखिन्छ । सम्मान, पुरस्कारको केन्द्रीय मनोविज्ञानमा तरङ्ग उत्पन्न गराएको छ । प्रादेशिक पुरस्कारहरूको व्यवस्था गरेको छ । ललितकला क्षेत्रमा जागरण ल्याएको छ । माटो, भूगोल, संस्कृति, कला र समाजप्रति अपनत्वबोध गराएको छ । कलाकारमा पहिचानको बोध गराएको छ ।
प्रतिष्ठानले प्रदेश स्तरमै पुगी कलाकारको खोजी, कलाकारमा उत्प्रेरणा र ललितकलामा जागरणको अभियान चलाउनुले आशाका किरणहरू छरे तापनि नेपाली ललितकलाका क्षेत्रमा थुप्रै चुनौतीहरू रहेका छन् । कलाको पुस्तान्तरणका लागि विद्यालय तहमा कला शिक्षाको पठनपाठनको आवश्यकता देखिन्छ । हाम्रा ललितकलाको पहिचान, नामकरण र त्यसको विस्तृती अझै हुन सकेको छैन । ललितकला क्षेत्रले आज पनि देशको अर्थतन्त्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले ठुलो मद्दत गरे तापनि ललितकलाप्रति राज्यको दृष्टिको अझै सङ्कुचन देखिन्छ ।
सङ्कुचन कुन अर्थमा भने विना लगानी प्रतिफल र उत्पादन सम्भव छैन । न्यून बजेटले ठुला ठुला प्रतिफल सम्भव छैन । यस क्षेत्रमा लगानी बढाई कला, संस्कृतिको संरक्षण, संवर्धन, प्रवर्धन र कला पर्यटनको विकासमा सबै जुट्नुको विकल्प छैन । यस्ता प्रदर्शनी र कार्यशालाहरूले ललितकलाको विकासमा मद्दत र कला पर्यटनको प्रवर्धनमा सहयोग पुग्ने छ ।
प्रतिक्रिया