काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडिपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ नामक नयाँ परियोजना सुरु गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कुल लागत ५ मिलियन अमेरिकी डलर रहेको यो परियोजनामा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रत्येकले १ दशमलव ५ मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप २ मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ । यस परियोजनाले ३ वर्षको अवधिमा (२०२५–२०२८) २ हजार ५०० दिगो रोजगारी सिर्जना गर्ने र ५ हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
प्रमुख पर्यटकीय स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेसनलाई प्रवद्र्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गरिनेछ यस परियोजनाको लक्ष्य रहेको छ । परियोजनाले नेपालको १६औँ योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) परिकल्पना गरेको प्राथमिकता (२०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्याउनु र नेपाललाई विश्वभरका यात्रुहरूका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउने) लाइ बल पुर्याउने बोर्डले जनाएको छ । नेपाल पर्यटन दशकले सन् २०३२ सम्म वार्षिक पर्यटक आगमन ३ दशमलव ५ मिलियन पुर्याउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया