गणतन्त्रको विरोध होइन, जनआक्रोश

जनतालाई हिजो सडकमा किन उतारियो ? गर्नुपर्ने के थियो ? हुँदै के छ ? भन्ने कुरामा दल र तीनका नेताले हेक्का राख्नुपर्छ । त्यसो गर्न सकिएन भने ‘सच्चिने कि थच्चिने’ भन्ने अवस्थामा पुग्न सकिन्छ । हिजो राजसंस्था पनि आफ्नै कारण समाप्त भएको हो । आज गणतन्त्र जसले ल्याए उनैको कारण समाप्त हुनु हुँदैन । उनीहरू गणतन्त्रलाई अझ सबल र सक्षम बनाउनेतर्फ जुट्नुपर्छ ।

चमिना भट्टराई

पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह २५ फागुनमा काठमाडौँ फर्किंदा उनकोे स्वागतमा भएको प्रदर्शनको तरंग अझै सेलाएको छैन । पहिलो कुरा त यो प्रदर्शन पूर्वराजा शाहकै आग्रहमा भएको थियो । फागुन ७ गते प्रजातन्त्र दिवसको अवशर पारेर उनले पुनवर्हालीका लागि साथ दिन देशवासीका नाममा आग्रह गरेका थिए । दोस्रो कुरा स्वागत ¥यालीको भिड निकै ठुलो थियो । यसअघि पूर्वराजाको पक्षमा यति ठुलो भिड देखिएको थिएन ।

जनताको आन्दोलनको बलबाट पुनस्र्थापित भएको संसद्ले २०६३ जेठ ४ गते विशेष घोषणामार्फत तत्कालीन राजा ज्ञानेन्द्रलाई अधिकारबिहीन अर्थात एकहिसाबले निलम्बित गरिएको थियो । त्यस यता २०६५ जेठ १५ गते संविधानसभाको ९९ प्रतिशत बहुमतले गणतन्त्रको प्रस्ताव पारित नगर्दासम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको काम गरेका थिए । गणतन्त्र कार्यान्वयन भएको केही दिनपछि नारायणहीटीबाट नागार्जुन हुँदै निर्मल निवासमा कुण्ठित गराइएका पूर्वराजालाई फेरि राजा बनाउन कस्सिएकाहरू र आर्यघाट पु¥याएको राजसंस्था ब्युँतन सक्दैन भन्नेहरूको फागुन २७ गते सदनमा चर्काचर्की भयो । राजसंस्था ब्युतनै लागेझैँ ठान्ने दलहरू र राजसंस्था आउनै आँटेको भ्रममा रहेका राजावादीको जुहारीले संसद् तरंगित भयो ।

पूर्वराजा शाह तथा उनका समर्थकहरूको पछिल्लो गतिविधि पछि विभिन्न तप्काबाट आएका प्रतिक्रियाले पनि मुलुकको राजनीति तरंगित बनाइरहेको छ । त्यस लगत्तै बसेको संसद्को बैठकमा राजावादी सांसदहरू उत्साहित रूपमा प्रकट भएको देखियो । सत्तामा रहेको एमाले तथा विपक्षमा रहेका माओवादी एवं एकीकृत समाजवादीका सांसदहरू आक्रोशित रूपमा प्रकट भएको देखियो । तर, नेपाली कांग्रेसका सांसदहरूले भने खासै चासो दिएको देखिएन । यस विषयमा संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन । पार्टीभित्र छलफलसमेत गरेको छैन । चैत १० गते बोलाइएको कार्यसम्पादन समितिको बैठकमा यस विषयबारे छलफल गर्ने नेपाली कांग्रेसले जनाएको छ । राजतन्त्र पुनवर्हाली नेपाली कांग्रेसका लागि रुचिको विषय हुँदै होइन, तर धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्नुपर्ने मुद्दामा नेपाली कांग्रेसका उल्लेख्य नेता तथा सांसद रहेका कारण सभापति शेरबहादुर देउवालाई निश्चय पनि अप्ठेरो परेको हुनुपर्छ ।

राजतन्त्र ब्युँत्याउनेभन्दा गणतन्त्रका नायकहरू सुध्रिउन् भन्नेहरूको संख्या अत्यधिक छ । राजावादीहरू आफँैमा अन्योल छन् भन्ने कुरा केही दिनअघि मात्रै गठन गरिएको राजसंस्था पुनःस्थापनाका लागि ‘संयुक्त जनआन्दोलन’ भन्दै नवराज सुवेदीको अध्यक्षतामा एउटा संयन्त्र गठन गरे । तर विवादका कारण त्यो संयन्त्र करिब करिब तुहिएको अवस्था छ । राजावादी आन्दोलनलाई जनआन्दोलन भन्ने कि, प्रजा आन्दोलन वा रैती आन्दोलन भन्ने ? यो प्रश्नको उत्तर राजावादी स्वयंसँग छैन । किनकी यो अन्दोलन सफल भयो भने नेपालीहरू स्वतः जनताको दर्जाबाट प्रजाको दर्जामा पुग्छन् । जनताबाट प्रजामा रूपान्तरण गर्नका लागि हुने आन्दोलनको नाम प्रजाआन्दोलन हुन्छ कि जनआन्दोलन ? यो प्रश्नको उत्तर स्वयं राजावादीहरूसँग छैन ।

नेपाली जनतालाई प्रजामा रूपान्तरण गरी फेरि हिजोको जस्तै निरंकुश शासन गर्ने चाहनाका साथ यो आन्दोलन भएको हो भन्ने कुरा संसद्को बैठकमा राप्रपाकी सांसद रोशन कार्की स्वयंले उजागर गरेकी छन् । सांसद कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निकालिएको ¥याली ‘ट्रायल’मात्रै भएको बताइन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले पूर्वराजालाई भूत भनेकोमा आपत्तिसमेत जनाइन् । संसद्मा माओवादीका सांसद रणेन्द्र बरालीले ‘भूत’ भनेपछि उनले जवाफी प्रश्न गरिन्, ‘लेनिनको भूत हो कि ? माओवादीको भूत हो ? उनी यतिमा मात्रै रोकिनन्, अरू जिल्लाबाट पनि मानिस निस्कँदा लुक्ने ठाउँ पनि नहुने भन्दै चेतावनी दिइन् । विगतमा जस्तै दलहरूलाई प्रतिबन्ध लगाएरै शासन गर्ने तिर्खा राजा तथा उनका समर्थकहरूमा अझै जागृत रहेको कुरा राप्रपाकी सांसद कार्कीको यो भनाइले प्रष्ट पार्छ ।

लोकतन्त्र भनेको जनताको शासन व्यवस्था हो । दलहरू त जनताको आदेश पालक मात्रै हुन् । आदेश पालकले गरेको गल्तीका कारण लोकतन्त्र खोस्न खोज्नेहरूलाई जनताले क्षमा दिँदैनन् । लोकतन्त्रमा साँच्चै आँच आउन लागे सडकमा निस्कने संख्या सोचेभन्दा धेरै नै हुन्छ । जसले जनताको बलमा लोकतान्त्रिक गणतन्त्र ल्याए, उनैले जनताका भावना बुझेनन्, भन्ने आक्रोश मात्रै बढेको हो । राजसंस्था उल्ट्याउन खोज्नेहरूलाई पनि पूर्वराजा र तिनका सन्ततीप्रति रत्तिभर विश्वास छैन । नेपाली जनाले जंगलबाट हराएका गैडाका खाग, नमिता–सुनिता काण्ड मात्रै होइन, गायक प्रविण गुरुङलाई भुलेका छैनन् । यस्ता कैयौँ घटना छन् जसले राजसंस्था समाप्त भयो । राजधानीका सडकमा मान्छेमाथि सवारी हुइँक्याउँदै हिँडने राजा र राजसंस्था आज नेपाली जनताका चाहना होइन, गणतन्त्र भित्रै भएका दुर्बल पक्ष सुध्रनुपर्छ भन्ने हो । मात्रै त्यसको विरोध गर्ने तरिका र आक्रोशको शैली मिलेन ।

गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन । यही गणतन्त्रलाई सुधार गरेर जनताका भावनाअनुसार काम गर्नुपर्छ । नेतृत्व र सत्तालाई खबरदारी गर्ने जनताको अधिकार हो । जनताले बनाएको सरकार जब जनताप्रति उत्तरदायी हुँदैन त्यति बेला आक्रोश पैदा हुनु स्वभाविक हो ।

यति हुँदाहुँदै पनि मुख्य राजनीतिक दलका नेताको बोली सुन्दा सच्चिने कुरा कतै आएन । यो सकारात्मक पक्ष होइन, जसले परिवर्तन ल्याए उनैले एकले अर्कालाइ सत्तोसराप गरेर समस्याको समाधान हुँदैन । जनतालाई हिजो सडकमा किन उतारियो ? गर्नुपर्ने के थियो ? हुँदै के छ ? भन्ने कुरामा दल र तिनका नेताले हेक्का राख्नुपर्छ । त्यसो गर्न सकिएन भने ‘सच्चिने कि थच्चिने’ भन्ने अवस्थामा पुग्न सकिन्छ । हिजो राजसंस्था पनि आफ्नै कारण समाप्त भएको हो । आज गणतन्त्र जसले ल्याए उनैको कारण समाप्त हुनु हुँदैन । उनीहरू गणतन्त्रलाई अझ सबल र सक्षम बनाउनेतर्फ जुट्नुपर्छ ।

कसले क भने ?

फागुन २७ गते मंगलबार संसद्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरे । ‘राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्’, प्रचण्डले भने । लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको उनले बताए । उनले ‘लोकतन्त्रमा मूलभूत मान्यता नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्ति फेरि एकपटक आफ्नो शक्ति देखाउने छ’, उनले चेतावनी दिए । उनले यति मात्रै भनेनन्, बन्द कोठामा समेत राजतन्त्रका सपना देख्न डराएकाहरूले सडकबाट चुनौती दिन थाले । राजावादीहरूको चहलपहलपछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताए ।

संसद्मा बोल्ने क्रममा सत्तारूढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बतायो । प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर एमाले मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे । पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै दण्डनीय भएको बताए । उनले यहाँका राजावादी मात्रै होइन, भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित ¥याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह गरे ।

२५ गतेको प्रदर्शन लगत्तै २६ गते नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्वहरू सल्बलाउन थालेको बताएका थिए । नेपालले वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको समेत बताए । पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सचिवालय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लोकतन्त्रको रक्षा, संघीय गणतन्त्रको रक्षा र प्रतिगामी यथास्थितिवादीहरूले टाउको उठाउन थालेका छन् । यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ’, नेपालले भने ।

तर, गणतन्त्रका लागि हजारौँ मान्छेले दिएको बलिदान र उपलब्धिका रक्षाका लागि दलको अभिव्यक्ति आए पनि आफूहरूबाट पनि कमिकमजोरी भए होला भन्ने भनाइ आएको छैन । जनताले चाहेको र आफूहरूले गरेका वाचा कति पूरा भए भएनन् दलले पनि समीक्षा गर्नुपर्छ । जनताको बलमा स्थापित व्यवस्थामा जनताको भावनामा ख्याल गरिएन भने परिणाम नकारात्मक हुन सक्छ त्यसमा पनि राजनीतिक दलले समीक्षा गरेर अगाडि बढ्नुपर्छ । जनताभन्दा ठुलो शक्ति शासन व्यवस्था हुन सक्दैन भन्ने भावनालाई नजरअन्दाज गरेर अगाडि बढ्ने प्रयास कसैले गर्नु हुँदैन ।

प्रतिक्रिया