काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौँ जित हात पारेको छ । बुधबार रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै पुलिस क्लबले लगातार छैटौँ खेलमा सफलता पाएको हो ।
जितसँगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ दशमलव २ ओभरमा ९२ रनमा अल आउट भएको थियो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन जोडे । पुलिसका लागि ललितनारायण राजवंशीले ५ विकेट लिएका थिए ।
त्यस्तै बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ५ विकेटको जित निकालेको छ । लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा किरणकुमार ठगुन्नाले सर्वाधिक ४३ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४ दशमलव १ ओभरमा ११६ रनमा समेटिएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन जोडेका थिए ।
यसैगरी, विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ । बुधबार सम्पन्न खेलमा मधेस प्रदेशले आर्मीलाई ३ विकेटले पराजित गरेको हो ।
जितसँगै मधेसले ५ खेलबाट ४ अंक पुर्याएको छ । पराजित आर्मीले भने शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलबाट १० अंक छ ।
आर्मीले दिएको २१८ रनको लक्ष्य पछ्याएको मधेसले १२ बल बाँकी रहँदा ७ विकेट गुमाउँदै २१९ रन बनायो । मधेसका कप्तान अनिलकुमार साहले सर्वाधिक ४५ रन बनाए । ४८ बल खेलेका उनले ७ चौका प्रहार गरे ।
हरिशंकर साह तथा पवन सर्राफ समान ३७, शैलेन्द्र साह १५ रनमा आउट हुँदा निखिल सिंह १४ र रुपेश सिंह ३८ रनमा अविजित रहे । आर्मीका नरेन साउदले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५४ रन खर्चिए । बसिर अहमद र सोमपाल कामीको नाममा समान २ विकेट रह्यो ।
त्यसअघि पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनायो । भीम सार्कीले सर्वाधिक ८९ रन बनाए । १२६ बल खेलेका उनले ४ चौका प्रहार गरे । सन्तोष कार्की ३३, विवेककुमार यादव १६, तृतराज दास १४, विनोद भण्डारी ११ र बसिर अहमद १० रनमा आउट हुँदा नरेन साउद ८ रनमा अविजित रहे । मधेसका रुपेश, पवन र कमल गुप्ताले समान २ विकेट लिए । रञ्जित कुमारको नाममा १ विकेट रह्यो ।
प्रतिक्रिया