राजावादीहरूको आन्दोलनको चुरो कुरा

गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भई पुनः राजसंस्थाको माग गर्दै जनता सडकमा ओर्लिएका छन् । सडकमा उत्रने जनताको संख्या दिनानुदिन बढ्दै गएको छ । अब जनता जनसंघर्षबाट राजसंस्थालाई पुनस्थापना गर्ने अन्तिम तयारीमा छन् ।

तीर्थराज चटौत

अहिले मुलुक अत्यन्त अप्ठ्यारो रूपमा अगाडि बढिरहेको छ । आर्थिक अवस्था अत्यन्त नाजुक हुँदै गएको छ । आर्थिक अभावले विकास निर्माण ठप्प छन् । काम गर्ने ठेकेदारहरूले आफ्नो भुक्तानी पाउन सकेका छैनन् । कर्मचारीलाई तलब खुवाउन सरकारलाई धौ धौ परिरहेको छ । राजस्व संकलन अनुमान गरिए जति हुन सकिरहेको छैन । रेमिट्यान्सले देशको अर्थ व्यवस्था धानेको छ ।

त्यसैले जनताले वर्तमान परिस्थिति बदल्न खोजिरहेका छन् । गणतन्त्र र प्रजातन्त्रप्रति जनताले जुन अपेक्षा गरेका थिए, सो अनुरूप नेताहरूले कार्य गर्न सकेनन् । बेरोजगारी दिनदिनै विकराल हुँदै गएको छ । हजारौँ युवाहरू बिदेसिनु परिरहेको छ । गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भई पुनः राजसंस्थाको माग गर्दै जनता सडकमा ओर्लिएका छन् । सडकमा उत्रने जनताको संख्या दिनानुदिन बढ्दै गएको छ । अब जनता जनसंघर्षबाट राजसंस्थालाई पुनःस्थापना गर्ने अन्तिम तयारीमा छन् । यो देशको सार्वभौमसत्ताका मालिक जनता हुन् । उनीहरूकै शक्तिले अहिलेसम्म गणतन्त्र चलिरहेको थियो । अब गणतन्त्रले जनताको चाहाना पूरा गर्न सकेन । नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबे । जताततै अराजकता फैलियो । विकास निर्माण ठप्प भयो । विदेशी सहयोगसमेत बन्द भएको छ । विधिको शासन सोझा साझा जनतालाई मात्र लागू भइरहेको अवस्था छ । नेता र नेताका कार्यकर्तालाई कुनै कानुन नलाग्ने भयो । यस अवस्थामा जनताले राजसंस्थाको माग गर्नु अत्यन्त स्वभाविक हो ।

राजा ज्ञानेन्द्रले गद्दी त्याग गर्दा जनताले चाहेको शासन व्यवस्था चलाउनु भनेर हाँसीहाँसी गद्दी त्याग गर्नुभएको थियो । १६–१७ वर्षभन्दा बढी उहाँले अहिलेको व्यवस्था र नेताहरूको काम कारबाही हेर्नु भयो । यस बीचमा देशमा जताततै अराजकता फैलिँदै गयो । देशमा गरिब जनता आज खाए भोलि के खाउँको अवस्था पुगे । भ्रष्टाचार जताततै मौलायो । वैदेशिक ऋण २६ खर्ब पुगेको छ । आएको अनुदान र ऋणमा पनि भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न बनेका विभिन्न सरकारी निकायहरू पनि नेताहरूको मुख हेरेर निर्णय गरिरहेको देखिन्छ । दबाबमा निर्णय गरिरहेको अवस्था छ । यसरी चौतर्फी रूपमा देशमा अराजकता फैलिएपछि देशै असफल हुने हो कि भनेर राजा ज्ञानेन्द्र सक्रिय हुनुभएको छ । देश बचाउन राजा ज्ञानेन्द्र सक्रिय हुनुभएको हो ।

राजा ज्ञानेन्द्रले फागुन ७ गते जुन सन्देश दिनुभयो त्यसलाई अधिकांश सबै जनताले स्वागत गरिरहेका छन् । सडकमा उत्रिरहेका छन् । आम जनता, बुद्धिजीवी वर्ग एवं नागरिक समाज सबै मिलेर राजसंस्था बहाली गर्छन् भन्ने मैले विश्वास लिएको छु । केही दिन ढिला होला तर अब राजसंस्था अवश्य स्थापित हुन्छ । वास्तवमा भन्नुपर्दा यो देशका सार्वभौमसत्ताका मालिक जनता हुन्, जनताले चाहे जे पनि हुन सक्छ ।

राप्रपाले स्थापना कालदेखि नै हिन्दूराज्य र राजसंस्थाको अपरिहार्यतालाई महसुस गरी आफ्नो विधानमा संवैधानिक राजसंस्था र हिन्दू राज्य नेपाल स्पष्ट रूपमा उल्लेख गरेको छ । विभिन्न वाह्य शक्तिको आडमा सार्वभौम जनताको आंकाक्षालाई नबुझी जनशक्तिलाई बेवास्ता गरियो । त्यसैले राप्रपा एकै पटक हिन्दूराज्य र राजसंस्था स्थापित गर्न यति बेला संघर्षको मैदानमा छ । अब चाँडै जनआन्दोलनको तिथि र मिति तय गर्न गइरहेका छौँ ।


देश यतिबेला भ्रष्टाचारले चुर्लुम्म डुबेको छ । अमेरिकाका राष्ट्रपति ट्रम्पले नेपालमा भ्रष्टाचार भइरहेको छ, हामीले दिएको सहयोग दुरुपयोग भइरहेको छ भनेर सार्वजनिक गरेबाट पनि नेपालमा भ्रष्टाचार माथिल्लो निकायसम्म पुगेको पुष्टि हुन्छ । स्थानीय निकाय, प्रदेशमा रहेका जनप्रतिनिधिहरू आफैँ ठेकेदार बन्ने, आफ्नै मेसिनहरू प्रयोग गरेर बजेट दुरुपयोग गरिरहेको कुरा सार्वजनिक भइरहेका छन् ।

देशमा हरेक वस्तुमा महँगी भइरहेको छ । नुन, तेल, चामललगायत जनताका दैनिक आवश्यकताको वस्तुमा महँगी भइरहेको छ । विकास निर्माण ठप्प हुँदा गरिबहरूले रोजगारी पाएका छैनन् । बिहान बेलुकाको छाक टार्न पनि गरिब जनतालाई धौ धौ परिरहेको छ । महँगी नियन्त्रण गर्ने सरकारी संयन्त्र पनि मूकदर्शक भएर बसेको अवस्था छ ।

नेपाल आफैँमा गरिब देश हो । आम्दानीको स्रोत धेरै कम भएको कारण वैदेशिक सहयोग र ऋणबाट बजेट निर्माण भइरहेको छ । देश यसै गरी चलिरहेको छ । आएको सहयोग ऋण र राजस्वले कर्मचारीको तलबसमेत दिन नसक्ने अवस्था भएकाले विकास निर्माण हुन नसकेको हो । अन्य देशको तुलनामा काम गरिरहेका कर्मचारीको तलबसमेत कम छ । विकास निर्माणमा काम गर्ने कर्मचारीको तलब पनि कम छ ।

जनआन्दोलनपश्चात जनताले आन्दोलनका नेतृत्वकर्ता ठुला दलहरूमाथि विश्वास गरेका थिए । तर ठुला दलका नेताहरूले जनतालाई दिएको आश्वासन पूरा गर्नुको सट्टा देशमा भएका उद्योग कलकारखाना सम्पूर्ण बेचे । जसबाट देशका युवाहरू बेरोजगार हुनु पर्यो । बिदेसिनु पर्यो । यो अवधिमा कहीँ कतै कुनै नयाँ कारखाना उद्योग खुलेनन् । कुनै पनि आँकाक्षा पूरा गर्न नसकेका कारण सम्पूर्ण जनतामा नैराश्यता छाएको महसुस भइरहेको छ । जसको कारण अहिले सम्पूर्ण जनता राजाको जयजयकार गर्दै ‘राजा आऊ देश बचाऊ’ भन्ने मूल नारा लिएर सडकमा ओर्लिराखेका छन् ।

देशमा विकास निर्माण नहुनुको कारण यिनै ठुला दलहरू नै हुन् भनेर जनताले बुझिसकेका छन् । तसर्थ नेपाल पनि श्रीलंका, बंगलादेशको जस्तो अवस्थामा पुग्ने त होइन भनेर जनता चिन्तित छन् । त्यस कारण यी ठुला दलबाहेक जनताले विकल्प खोजिरहेका छन् । ठुला दलहरूले चाँडोभन्दा चाँडो राजासहितको गोलमेच सम्मेलन गरेर देशमा निकास निकाल्नु अपरिहार्य छ । यस्तो गरिएन भने देश अझ अधोगतितिर जान बेर छैन ।

यतिबेला नेपाललाई एउटा इमानदार नेतृत्व चाहिएको छ । नेतृत्व इमानदार भयो भने अन्य कर्मचारी इमानदार हुन्छ । हाम्रा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १ रुपैयाँ घुस खानु भनेको आमाको रगत खानुसरह हो भन्नुभएको छ । यहि नीति अनुरूप हामी पनि काम गर्ने हो भने १० वर्षभित्र नेपाल समुन्नत बन्न सक्छ । देशमा इमानदार नेतृत्व नभएकै कारण देश समुन्नत हुन नसकेको हो । यस कारण आगामी निर्वाचनमा सम्पूर्ण देशवासीले इमानदार देशभक्त नेतृत्व चयन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

हामी राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाको आन्दोलनमा छौँ । आन्दोलनबाट अब राजसंस्था पुनःस्थापना हुँदै छ । त्यसैले यो आन्दोलनलाई सफल पार्न समस्त देशवासीको कर्तव्य हो । देश सबैको साझा हो । १६–१७ वर्षदेखिको दलहरूको शासन हामीले देखेकै हो, भोगेकै हो, अब आमूल परिवर्तन नगरी देश समृद्ध हुन सक्दैन । त्यसैले राजासहितको प्रजातन्त्र र हिन्दूराज्य ल्याउन देशवासी तयार हुन लागेका छन् ।

(चटौत राप्रपा केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया