दलहरुले संगठनमा अवशर दिएर नेतृत्व क्षमताको विकास गर्दा विद्यार्थी राजनीति गर्नेलाई मात्रै प्राथमिकता दिने सिलसिला अन्त्य हुनुपर्छ । स्ववियु सभापति बन्नेले जति प्राथमिकता पाउँछ त्यति नै प्राथमिकता पढाएमा टपटेन भित्र पर्नेले, विषयबस्तुको विज्ञले पनि पाउने परिपाटीदलहरुले सुरु गर्ने हो भने स्ववियु निर्वाचनका क्रममा देखिएको आधा विकृति अन्त्य हुन्छ ।
सबै जसो ठूला क्याम्पसहरुमा स्ववियुको चुनाव विथोलिएको छ । संख्यात्मक हिसावले धेरै क्याम्पसहरुका चुनाव सम्पन्न भएको छ । तर विद्यार्थीको संख्यात्मक हिसाव गर्दा करिव ८० प्रतिशत विद्यार्थी पढ्ने क्याम्पसहरुमा निर्वाचन विथोलिएको छ । चुनाव अरु कसैका कारण विथोलिएको होइन , विद्यार्थी संगठनकै गुट तथा उपगुटका कारण विथोलिएका हुन् । यस पटक मात्रै होइन विगतमा पनि स्ववियु निर्वाचन यसरी नै विथोलिने गरेको देखिन्छ । २०६३ को जनआन्दोलन यता त स्ववियुको निर्वाचन विथोलिने नियती नै बनेको छ ।
यसरी स्ववियु चुनाव विथोलिने सिलसिला जारी रहँदा सर्वसाधरण जनताले समेत एउटा प्रश्न उठाउने गरेका छन् । त्यो प्रश्न हो–‘ अन्य सबै संघ, संगठन तथा वर्गीय चुनावहरु निर्वाध रुपमा सम्पन्न हुने , स्थानीय तथा आम निर्वाचन पनि निर्वाधरुपमा सम्पन्न हुने तर स्ववियु निर्वाचनमा किन हुलदंगा हुन्छ ? किन तालाबन्दी हुन्छ ? पटक पटक किन निर्वाचन विथोलिन्छ ? बुथकब्जा तथा धाँधलीको प्रयास किन हुन्छ ?
यस्तो प्रश्न उठ्नुको अर्को कारण पनि छ । स्ववियु निर्वाचनमा स्नातक तह तथा सो भन्दा माथिका विद्यार्थीहरुले मात्रै भाग लिन्छन् । यो तहमा अध्ययन गर्नेहरुलाई संसारभर शिक्षित व्याक्तिको सुचिमा राख्ने गरिन्छ । के शिक्षित व्याक्तिले गर्ने लोकतान्त्रिक अभ्यास यही हो त ? स्ववियु निर्वाचनलाई नेता उत्पादन गर्ने कारखाना मानिन्छ । नेपालको हकमा अहिलेसम्म यो कुरा लागु हुँदै गएको छ । अध्ययन गर्ने बेला नै चुनावमा हुलदंगा , तालावन्दी , कब्जा तथा धाँधलीमा अभ्यास्तहरुले भोलि राष्ट्रिय चुनावमा के गर्लान ? लोकतन्त्रको भविष्य माथि खतराको संकेत त होइन यो ? यी र यस्तै यावत् प्रश्न उठ्ने गरेका छन् ।
आखिर विद्यार्थीहरुको चुनावमा किन हुन्छ त यस्तो ?
मैले यो जिज्ञासा त्रिचन्द्र क्याम्पसमा नेवि संघको गतिविधि नियाली रहेकी स्नातक तह विज्ञान संकाय दोस्रो वर्षकी १९ वर्षीया छात्रा आफ्नै छोरी आयोजना घिमिरेसँग राखेँ ।
उसले एउटै वाक्यमा भनी–‘ अन्य चुनावमा २१ प्लसले भाग लिन्छन् , तर स्ववियु चुनावमा २८ अण्डरले मात्रै भाग लिन पाउँछन् ।’
मैले फेरी सोधेँ– ‘२८ वर्ष मुनीका कतिपयले धेरै ठूला तथा संवेदनशील जिम्मेवारी समेत संहालेका छन्, अन्य क्षेत्रमा ठूला ठूला जिम्मेवारी संहाल्न सक्नेहरु लोकतान्त्रिक प्रक्रियामा किन असफल भए ? आफ्नै संस्था स्ववियु निर्वाचनलाई मर्यादित बनाउन किन चुके ?’
यो प्रश्नमा भने उसले अली लामै जवाफ दिई । उसले भनी–
‘अरु क्याम्पसका के कसरी विथोलियो, म खासै अपडेट छैन , तर त्रिचन्द्रमा विथोलिनुको पहिलो कारण लामो समयसम्म स्ववियु निर्वाचन नहुनु, दुई वर्ष पछि फेरी चुनाव हुन्छ भन्ने सुनिश्चितता नहुनु । दोस्रो कारण उमेरको हदबन्दी २८ वर्ष तोकिनु ।’
उसले आफ्नो भनाई बिस्तारमा राख्दै भनि –‘भविष्यमा नेपाली कांग्रेसको राजनीति गर्ने सोच बनाएका धेरै विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस रोजेको देखिएको छ । त्रिचन्द्र सँधै नेवि संघले जित्ने क्याम्पस हो । त्रिचन्द्र क्याम्पसमै नेवि संघको राजनीति गरेका शेरबहादुर देउवाको क्रेज उनीहरुले देखेका छन् । त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति बनिसकेका गगन थापा नेपाली कांग्रेसको महामन्त्री मात्रै होइन युवा राजनीतिको रोलमोडल भएको उनीहरुले देखेका छन् । त्रिचन्द्र क्याम्पसकै पुर्वसभापति सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री रहेको उनीहरुलाई थाह छ । पुर्वस्ववियु सभापति शंकर भण्डारीको क्रेज पनि उनीहरुले देखेका छन् ।
त्रिचन्द्र क्याम्पसमा नेविसंघबाट उमेदवार बनेपछि चुनाव जितिन्छ, स्ववियु सभापति बनेपछि नेपाली कांग्रेसको राजनीतिमा स्वतः स्थापित होइन्छ भन्ने उद्देस्यका साथ राजनीतिका आकांक्षी धेरै विद्यार्थी भर्ना हुने गरेका छन् । तर टिकट पाउने एक जनाले हो । अर्को चुनावसम्म पखौँ भन्ने अवस्था पनि उमेरहदका कारण रहेन । टिकट पाउनेले आँफुलाई राजनीतिमा सँधैका लागि उछन्ने भयो भन्ने त्रासमा टिकट नपाउनेहरु देखिए । टिकट नपाउनेहरुको संख्या यसै पनि ठूलो हुने नै भयो । चुनाव हुन भन्दा विथोलिँदा नै आफ्नो राजनीतिक भविष्य कम जोखिममा पर्ने ठम्याइमा पुगेर उनीहरु सबै मिली तालाबन्दी गरिदिए ।’
छोरीले दिएको यो जवाफ पछि अन्य ठूला क्याम्पसहरुमा पनि स्ववियु निर्वाचन किन र कसका कारण विथोलियो ? भन्ने अनुमान लगाउन गाह्रो भएन । किनकी दुई दशक अघि जस्तो एउटा विद्यार्थी संगठन र अर्को विद्यार्थी संगठन बीचको द्धन्दका कारण यस पटकको स्ववियु निर्वाचन विथोलिएको होइन । नेवि संघले जित्ने गरेका क्याम्पसमा नेवि संघ तथा कांग्रेस भित्रकै गुट र उपगुटका कारण चुनाव विथोलिएको हो । अनेरास्ववियु पाँचौले चुनाव जित्दै आएका क्याम्पसमा सोही संगठनको आन्तरिक द्धन्द तथा एमाले भित्रकै गुट उपगुटका कारण विथोलिएको हो ।
उदाहरणका लागि र त्रिचन्द्र क्याम्पसमा विथोलिनु र आरआरक्याम्पसमा विथोलिनुको कारण एउटै हो । तर बिथोल्ने संगठनहरु फरक हुन् । सँधै एमाले अखिलले चुनाव जित्दै आएको आरआर क्याम्पसमा विथोलेको अहिलकै विद्रोहीहरुले हो । सँधै नेवि संघले चुनाव जित्दै आएको त्रिचन्द्रमा विथेलेको नेवि संघकै विद्रोहीहरुले हो ।
यो विकृतिको समाधान के त ?
मैले फेरी अर्को प्रश्न राखेँ –‘उमेरहद हटाइयो र विगतमा ( २०१८–२०२९) म जस्तै एक एक वर्षमा स्ववियु निर्वाचन गराउने परिपाटी बसाइयो भने यो विकृति हट्ला त ?’
तर विक्रिति धेरै झ्यांगिइसकेकोले यतिले मात्रै नपुग्ने तर्क उसले राखी । उसको भनाई थियो –‘ उमेर हद राखिएन भने मेयरको टिकट नपाउँदा सम्म विद्यार्थी राजनीति गरिरहने विक्रिति बढ्छ । एक एक वर्षमा निर्वाचन गराउने हो भने पठन पाठनको वातावरण झन् विग्रन्छ ।’ त्यसो भए समाधान के त ?
सुत्रात्मक रुपमा तर्क राख्दै उसले भनी
‘पहिलो कुरा प्यानलका आधारमा चुनाव गर्ने परिपाटी अन्त्य हुनुपर्छ । संगठन तथा पार्टीको टिकटमा भन्दा आफ्नै ताकतमा स्वतन्त्र रुपमा चुनाव लडाउने अभ्यास भयो भने नेतृत्व क्षमताको विकास हुन्छ । यदी भविष्यमा देशको राजनीति हाँक्ने कर्णाधार समेत जन्माउने उद्देस्यले स्ववियु निर्वाचनको व्यवस्था गरिएको हो भने दलगत टिकटको प्रावधान खारेज गर्नु पर्छ । शैक्षिक वातावरण सहज र अनुसाशित बनाउने उद्देस्यले स्ववियुको व्यवस्था गरिएको हो भने पनि टिकट दिने परिपाटी गलत छ ।
उदाहरणका लागि त्रिचन्द्र क्याम्पसमा सरसफाईको काम गर्ने कर्मचारी २० जना छन् । तर क्याम्पस हाता तथा कक्षा कोठाको हालत कस्तो छ ? सबैले देखेभोगेकै छन् । शैक्षिक वातावरण सुधार गर्ने एजेण्डाको सट्टा दलगत एजेण्डाका आधारमा स्ववियु निर्वाचन हुनुको परिणाम हो यो ।
दोस्रो कुरा दलहरुले संगठनमा अवशर दिएर नेतृत्व क्षमताको विकास गर्दा विद्यार्थी राजनीति गर्नेलाई मात्रै प्राथमिकता दिने सिलसिला अन्त्य हुनुपर्छ । स्ववियु सभापति बन्नेले जति प्राथमिकता पाउँछ त्यति नै प्राथमिकता पढाएमा टपटेन भित्र पर्नेले, विषयबस्तुको विज्ञले पनि पाउने परिपाटीदलहरुले सुरु गर्ने हो भने स्ववियु निर्वाचनका क्रममा देखिएको आधा विकृति अन्त्य हुन्छ ।
तर हाम्रा दलहरुले विज्ञान तथा प्रविधि मन्त्री बनाउँदा त्रिचन्द्रबाट उत्पादित ‘टप’ बैज्ञानिक प्रा डा. दयानन्द बज्राचार्यहरु प्राथमितामा पर्दैनन्, स्ववियु पूर्वसभापति रामहरि ढुंगेलहरु प्राथमिकतामा पर्छन् । तर यति भन्दै गर्दा मन्त्री बन्दका लागि विषयगत ज्ञानले मात्रै पुग्दैन, आधारभूत योग्यता भनेको नेतृत्व क्षमता हो भन्ने कुरालाई नजर अन्दाज गर्न मिल्दैन ।’
प्रतिक्रिया