अमेरिकी राष्ट्रपतिको अनियन्त्रित व्यवहारले वैश्विक स्थिरताका लागि चुनौती निम्त्याउने निश्चित छ । उनको व्यापार नीति, प्रशासनिक आदेश र कूटनीतिक सोचले अमेरिकाको छविमाथि आघात पुर्याउने निश्चित छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मोलभाउ गर्ने प्रवृत्ति र अराजक अप्रत्याशित कूटनीतिले १ महिनामै ८ दशक पुरानो विश्वक्रमलाई तहसनहस पारिदिएको अवस्था छ । दोस्रो विश्वयुद्धको समापनपश्चात संयुक्त राष्ट्रसंघ र त्यसका सहायक संस्थाहरूमार्फत स्थापित यस विश्वक्रमको हालको अवस्थाले पुरै विश्व जगतलाई चिन्तित बनाएको छ ।
नियमबद्ध व्यवस्थामा आधारित यस विश्वक्रमको मुख्य उद्देश्य अर्को देशको भूभाग कब्जा गर्ने साम्राज्यवादी परम्परामाथि रोक लाउनु थियो । सन् १८१६ देखि १९४५ सम्म अर्का देशको भूभाग कब्जा गर्ने एउटा अभियान नै चलेको थियो, जसअन्तर्गत १५० भन्दा बढी युद्धहरू भए, सन् १९४५ पछि अपवादका १–२ वटाबाहेक कुनै अर्को देशको भूभाग कसैले कब्जा गरेको उदाहरण छैन । सैन्यशक्तिको बढी प्रयोग भएन । अमेरिकाले आफनो सैनिक र आर्थिक महाशक्तिको प्रयोग अर्को देशमा आफनो कठपुतली सरकारहरू स्थापित गर्नका लगि र सत्ता परिवर्तन गराउनमा अवश्य पनि गरेको छ तर कुनै देशको भूभाग कब्जा गर्नका लागि होइन ।
जबकी १९५२ मा दक्षिण कोरिया र १९९० मा कुबेतको प्रभुसत्ताको रक्षाका लागि उसले बलजफ्ती वैश्विक नेतृत्व लिएको उदाहरण छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्घाटन भाषणमा नै आफ्नै देशद्वारा स्थापित वर्तमानको विश्वक्रमलाई तिलान्जली दिँदै विश्वलाई सन् १९४५ भन्दा अघिको साम्राज्यवादी व्यवस्थामा फर्काउन चाहन्छन् भन्ने सन्देश दिएका छन् । उनले भनेका छन्, ‘अमेरिका आफ्नो परिकल्पना एउटा उदीयमान देशको रूपमा गर्न चाहन्छ, एउटा यस्तो देश जो समृद्धिको दिशामा बढिरहेको छ, जसको सिमानाको बिस्तार भइरहेको छ ।’ २१औँ शताब्दिमा अमेरिकी राष्ट्रपतिको यो महत्वाकांक्षाले मूर्तरूप लिने सम्भावना छैन । उसको धृतराष्ट्र आलिङ्गनमा जान कुनै देश तयार पनि हुने छैन । यस्तो अवस्थामा अमेरिका मित्रविहीन हुन पुग्नेछ ।
ट्रम्पले आफ्नो सम्बोधनमा, अमेरिका निश्चित पनि डेनमार्कसित ग्रिनल्यान्ड खरिद गर्ने चाहना राख्ने जनाएका छन् । साथै अमेरिका पनामासित पनामा नहर खरिद गर्न चाहन्छ । क्यानडालाई अमेरिकाको ५१औँ राष्ट्र बनाउने घोषणा त उनले पटकपटक नै गरिसकेका छन् । २ साताअघि उनले गाजालाई लिएर पछिल्लो शताब्दीको सातौँ दशकको बेरुत जस्तो समुद्री जलविहारको रूपमा त्यसलाई विकसित गर्ने कुरा गरेर पुरै विश्वजगतलाई अचम्मित पारिसकेका छन् ।
अस्थिर नीति, मनमानी फैसला र व्यापारिक एवं कूटनीतिक मामिलामा डोनाल्ड ट्रम्पको अप्रत्याशित अडानले अमेरिकाको विश्वसनियतामाथि ठुलो प्रश्नचिन्ह खडा गरेको छ । अमेरिकी राष्ट्रपतिको अनियन्त्रित व्यवहारले वैश्विक स्थिरताका लागि चुनौती निम्त्याउने निश्चित छ । उनको व्यापार नीति, प्रशासनिक आदेश र कूटनीतिक सोचले अमेरिकाको छविमाथि आघात पुर्याउने निश्चित छ ।
साथै यसले वैश्विक आर्थिक सन्तुलनलाई पनि अस्थिर बनाउने छ । उनको ट्यारिफ नीतिले अन्तर्राष्ट्रिय व्यापारमा तनाव बढाइदिएको छ । यदि अन्य देशहरूले पनि यसरी नै ट्यारिफ शुल्क बढाउँदै जाने हो भने वैश्विक आपूर्ति शृंखला बाधित हुनेछ र उपभोक्ताहरूले महँगीको सामना गर्नुपर्नेछ । यदि अमेरिकाले चीन र भारतमाथि व्यापार कर बढाउनेछ भने भारत र चीनले पनि अमेरिकासित सोही बमोजिमको व्यवहार गर्नेछन् ।
सुरुमा सहायता अनुदान दिने र पछि आफ्नो हितअनुसार फिर्ता लिने प्रवृत्तिले अमेरिकाको विश्वसनियतालाई सन्दिग्ध बनाउने निश्चित छ । अमेरिकाले एउटा के कुरा पनि बुझ्नु आवश्यक छ भने आर्थिक शक्ति केबल संख्याहरूबाट मात्र होइन अपितु स्थायित्व र सहयोगबाट पनि बन्ने गरिन्छ । यदि ट्रम्पले आफनो नीतिमा सन्तुलन ल्याउने सकेनन् भने अमेरिकाको वैश्विक प्रभाव नाम मात्रको रहन जानेछ । ट्रम्पले सुरुमै म्याक्सिको, क्यानडा र चीनमाथि ठुलो मात्रामा आयात शुल्क लगाए । फेरि मेक्सिको र क्यानडा माथिको करलाई १ महिनाका लागि हटाउने निर्णय गरे ।
अमेरिकाद्वारा सुरु गरिएको यस ट्यारिफबाट सर्वाधिक असर चीनको व्यापारमाथि पर्नेछ । अमेरिकाको यस निर्णयको विरोधमा चीनले पनि अमेरिकी सामानको आयातमाथि कर बढाउने घोषणा गरेको छ । यसको अर्थ चिनियाँ उत्पादन अमेरिकामा महँगो पर्ने र अमेरिकी सामान चीनमा महँगो पर्ने निश्चित छ । ट्रम्पको जथाभावी घोषणाले उनका सहयोगीहरूलाई पनि ट्रम्प सरकारको बचाउ गर्न कठिन हुनेछ । अमेरिकाको विश्वसनियतामाथि त चोट पुग्ने नै छ । अमेरिकाले भोग्दै आउको व्यापार घाटालाई कम गर्न ट्रम्पले रातारात कुनै चमत्कार भएको हेर्न चाहन्छन् जुन सम्भव छैन । डोनाल्ड ट्रम्पद्वारा सुरु गरिएको ‘ट्यारिफवार’ ले विश्व व्यवस्थामा अनिश्चितता बढाइदिएको छ, यसबाट अनेकौँ देशलाई हानि हुनेछ तर सर्वाधिक ठानी अमेरिकालाई नै हुनेछ ।
डोनाल्ड ट्रम्पको यस साम्राज्यवादी सोचबाट सर्वाधिक लाभ यस्तै मानसिकता लिएर बसेका विश्वका केही अन्य देशहरूलाई पनि हुन सक्दछ । चिनियाँ राष्ट्रपति सी चिनफिङ, नाटकीय रूपमा विकसित विश्वको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् । ताइवानलाई चीनमा विलय गराउने उनको महत्वाकांक्षाले अहिलेसम्म पूर्णता प्राप्त गरेको छैन । उनी उपयुक्त समयको प्रतिक्षामा छन् । दक्षिण चीन सागरमा फैलिएका द्वीपहरू मध्ये १–१ गरी कतिपय माथि उसले आफ्नो नियन्त्रण जमाइसकेको छ । बिआरआई अन्तर्गतको दक्षिण एसियाका कतिपय देशहरूसित विश्वका दर्जनौँ देशहरूलाई आफ्नो प्रभावमा पारिसकेको छ । बिआरआईको ऋणसँगै चिनियाँ राष्ट्रपतिका अन्य केही पहलहरू ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) र ग्लोबल सिभिलाइजेसन, ग्लोबलाइजेसन इनिसिएटिभ (जिसिआई) मा सामेल हुन चीनले वाध्य पारिरहेको छ । कालान्तरमा गएर उपरोक्त ४ पहल ऋणी देशहरूको निम्ति गलपासोका ४ आधारहरू सावित हुनेछन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई त लोटरी नै हात लागेको जस्तो अनुभूति हुन सक्छ । किनभने जुन लक्ष्य उसले ३ वर्षको युद्ध र अर्बौं रुपैयाँको हतियार गुमाएर पनि प्राप्त गर्न सकेन, यो अब केवल ट्रम्पको नयाँ नीतिका कारण सम्भव हुन लागेको छ । ट्रम्पको नजरमा सोभियत संघको विघटन एउटा गलत कार्य थियो । साथै युक्रेनलाई उनी स्वतन्त्र देश मान्न तयार छैनन् । सायद त्यही भएर होला युक्रेनलाई उनी नाटो अथवा इयुको सदस्यता दिने पक्षमा छैनन् । युक्रेनमा रुस विरोधी सरकार पनि उनलाई मन परेको छैन ।
युक्रेनका विषयलाई लिएर अमेरिका र नाटोबीच फाटो पनि बढेको छ । ट्रम्प भने रुस–युक्रेन युद्ध अन्त्य भएको हेर्न चाहन्छन्, तर यसको साँचो त रुसको हातमा छ । अन्तर्राष्ट्रिय मामिलाका कतिपय जानकारहरूको विश्लेषणमा डोनाल्ड ट्रम्प रुसको पक्षमा उभिनुको प्रमुख कारण रुस र चीनबीच नजिकिँदो सम्बन्धलाई रोक्नु हो र रुसको विश्वास जित्नु पनि हो । यदि रुस र चीनबीच फाटो आउन थाल्यो भने प्रशान्त र हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो हस्तक्षेप र भूमिकालाई रोक्न सकिनेछ । हाल ट्रम्प भने चीनसित सोझो प्रतिस्पर्धा गर्नुभन्दा आफ्नो देशको व्यापार घाटालाई कम गर्न चाहन्छन् । विश्वको बदलिँदो परिवेशमा अमेरिका, रुस, चीन र शक्ति राष्ट्र हुन् । उपरोक्त ४ देशहरू मध्ये कुनै ३ एक ठाउँमा आउँदा एउटा कमजोर हुने निश्चित छ ।
प्रतिक्रिया