काठमाडौं । युगाण्डामा जारी महिला टी– २० आई क्रिकेट प्रतियोगितामा हङकङलाई हराउँदै नेपालले सान्त्वना जित हात पारेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । सम्झनाले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् । अर्की ओपनर तथा कप्तान इन्दु वर्माले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन बनाइन् । रोमा थापा ४ रनमा आउट हँदा पूजा महतो २० रनमा नट आउट रहिन् । हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो । हङकङका लागि साञ्जिन शाहजादले ४७ बलमा ५ चौका र १ छक्का सर्वाधिक ५४ रन जोडिन् । चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भइन् ।
नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दुले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए । यस प्रतियोगिताको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ । अब नेपालले आइतबार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ ।
आजै हुने युगाण्डा र नामिबियाबीचको खेल पछि फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । यस खेलमा नेपाललाई हराएको भए हङकङले फाइनलमा स्थान पक्का गर्ने थियो । यसै सिरिजमा यसअघिको खेलमा हङकङले नेपाललाई दुई रनले हराएको थियो ।
प्रतिक्रिया