बंगलादेशका स्टार अलराउन्डर महमुदुल्लाहले लिए सन्न्यास

ढाका । बंगलादेशका अलराउन्डर महमुदुल्लाहले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३९ वर्षीय क्रिकेटरले सन् २०२१ मा टेस्ट र २०२४ मा टी–२० आईबाट सन्न्यास लिइसकेका थिए । एकदिवसीय क्रिकेटबाट पनि आफूले सन्न्यास लिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

महमुदुल्लाहले एकदिवसीयमा बंगलादेशका लागि चौथो सर्वाधिक रन बनाउने खेलाडीको रूपमा आफ्नो करियर समाप्त गरे । एकदिवसीय खेलमा उनले ३६ दशमलव ४६ को औसतमा ५ हजार ६८९ रन बनाएका छन्, जसमा ४ शतक र ३२ अर्धशतक समावेश छन् ।

बंगलादेशका लागि एकदिवसीय खेलमा मुशफिकुर रहिम, शकिब अल हसन र तमिम इकबालले महमुदुल्लाहभन्दा बढी रन बनाएका छन् ।
मुशफिकुरले एकदिवसीयबाट सन्न्यास लिएको १ हप्तापछि महमुदुल्लाहले उनको पदचाप पछ्याएका हुन् । बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिनुको मुख्य दोष यी २ खेलाडीमाथि लगाइएको थियो ।

महमुदुल्लाहका ४ वटा नै शतक आइसिसीका प्रतियोगितामा बनेका हुन् । तीमध्ये ३ एकदिवसीय विश्वकपमा र १ शतक सन् २०१७ च्याम्पियन्स ट्रफीमा बनेका हुन् । यो कुनै पनि बंगलादेशी ब्याट्सम्यानले बनाएको आइसिसी प्रतियोगितामा सबैभन्दा धेरै शतक पनि हो । महमुदुल्लाहले सन् २००७ मा बंगलादेशका लागि डेब्यु गरेका थिए र मुख्यतया बलर थिए । यद्यपि, उनको करियरको टर्निङ प्वाइन्ट सन् २०११ को विश्वकपबाट भएको हो ।

इंग्ल्यान्डमाथि २ विकेटको जितमा शफिकुल इस्लामसँग नवौँ विकेटका लागि ५८ रन जोडे । सन् २०१५ को विश्वकपमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै उनले इंग्ल्यान्ड र न्युजिल्यान्डविरुद्ध लगातार २ शतक बनाए । उनले च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डविरुद्ध शतक बनाए र शकिब अल हसनसँग २२३ रनको साझेदारी गरे ।

२०२३ को एकदिवसीय विश्वकप अघि महमुदुल्लाहलाई टोलीबाट बाहिर राखिएको थियो । दक्षिण अफ्रिकाविरुद्ध टोलीको हारमा शतक बनाएर विश्वकपमा फर्किएका थिए । उनले सन् २०२४ मा पनि बंगलादेशका लागि नियमित अर्धशतक प्रहार गरे ।

अफ स्पिनरको रूपमा महमुदुल्लाहको नाममा ८२ विकेट छन् । महमुदुल्लाहले कहिल्यै एकदिवसीयमा बंगलादेशको नेतृत्व गरेनन् । उनले टेस्ट र टी–२० मा बंगलादेशको नेतृत्व गर्ने अवसर पाए । महमुदुल्लाहको सन्न्याससँगै २००६ देखि बंगलादेशका लागि खेलेका सफल क्रिकेटरहरूको युगको अन्त्य पनि भएको छ । यस वर्ष मुशफिकुर र तमिमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । शकिबले गत वर्ष टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका थिए ।

विभिन्न कारणले च्याम्पियन्स ट्रफी गुमाएपछि उनको अन्तर्राष्ट्रिय क्रिकेट पनि सकिएको छ भने मशरफे मोर्तजाले कप्तानी त्यागेपछि सन् २०२० मा बंगलादेशका लागि अन्तिमपटक एकदिवसीय खेलेका थिए ।

प्रतिक्रिया