काठमाडौँ । नेपालले युगान्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी ४ देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ । बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ रनले पराजित भएसँगै प्रतियोगितामा तेस्रो हार बेहोरेको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।
नेपालका लागि साना प्रविणले सर्वाधिक ३१ रन बनाएकी थिइन् भने पूजा महतो र कप्तान इन्दु बर्माले १५–१५ रन बनाएका थिए । यसअघि नामिबियाले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । सर्वाधिक नामिबियाको लागि यसमिन खानले सर्वाधिक ४५ रन बनाइन् भने अरस्ता डिएरगार्टले १६ र विल्का एम्वाटिलले २० तथा सुने विटम्यानले १५ रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर ईश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले १–१ विकेट लिएका थिए । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा १ जित र ३ हार बेहोरेको छ । नेपालले यसअघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगान्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले ४ खेलमा २ जित र २ हार बेहोरेको छ । नेपालले अब बिहीबार युगान्डाविरुद्ध र १४ मार्चमा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि १६ मार्चमा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।
प्रतिक्रिया