पुलिस र आर्मीको लगातार दोस्रो जित

काठमाडौँ । कुशल भुर्तेलको ब्याट टु ब्याक अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार सम्पन्न खेलमा पुलिसले कोसी प्रदेशलाई १५४ रनले पराजित गरेको हो । यस नतिजासँगै पुलिसले २ खेलबाट ४ अंक पु¥याएको छ । पुलिसले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको हो । कोसीको भने यो लगातार तेस्रो हार हो । कोसीले यसअघि लुम्बिनीसँग २६ र मधेस प्रदेशसँग १६५ रनको हार बेहोरेको थियो ।

विभागीय टोली त्रिभुवन आर्मीले प्रदेशका टोलीमाथि आफ्नो दबदबा कायम राख्दै लगातार दोस्रो जित हात पारेको छ । बुधबार सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको रबाफिलो जित हात पारेको हो । सुदूरपश्चिमले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको आर्मीले २३ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै ११९ रन बनायो ।

आर्मीले सानदार सुरुआत गरेको थियो । ओपनरद्वय तीर्थराज दास र सन्तोष कार्कीले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । तीर्थ ११ दशमलव ३ ओभरमा ३१ रन बनाएर खेलिरहँदा शेर मल्लको बलमा बोल्ड भए ।

तेस्रो नम्बरमा आएका भीम सार्की १ रनमै पभिलियन फर्किए पनि कप्तान विनोद भण्डारीले सन्तोषसँग अर्को अर्धशतकीय साझेदारी गर्दै लगातार दोस्रो जित दिलाए । सन्तोषले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । ६३ बल खेलेका उनले १० चौका प्रहार गरे । विनोदले भने २८ बलमा २ चौका र १ छक्कासहित २० रनको अविजित इनिङ्स खेले । आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई १३४ रनले पाखा लगाएको थियो । सुदूरपश्चिमको भने यो दोस्रो हार हो ।
पहिलो खेलमा कर्णाली प्रदेशलाई ७९ रनको नतिजा सुम्पिएको सुदूरपश्चिमले दोस्रो खेलमा गण्डकीमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने प्रयास गरेको थियो । आर्मीविरुद्ध सफल हुन सकेन । सुदूरपश्चिमका शेर र मिलन बोहराले समान १–१ विकेट लिए ।

प्रतिक्रिया