प्रधानमन्त्री कपमा आर्मी र पुलिसको जित

काठमाडौँ । शहब आलम र आकाश चन्दको कसिलो बलिङसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कपमा विजयी सुरुआत गरेको छ ।
सोमबार सम्पन्न खेलमा आर्मीले बागमती प्रदेशलाई १३४ रनले पराजित गरेको हो । आर्मीको यो पहिलो खेल हो । बागमतीले भने पहिलो खेलमा एपिएफसँग १०० रनले हारेको थियो । आर्मीले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको बागमतीले २७ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्रै बनाउन सक्यो ।

बागमतीका विवेक मगरले सर्वाधिक ५१ रन बनाए । ५० बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । ईशान पाण्डे १९ र आशुतोष घिरौया १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आर्मीका आलमले सर्वाधिक ४ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले १ मेडनसहित ३३ रन खर्चिए । आकाशले भने ५ ओभर बलिङ गर्दै २८ रन खर्चिएर ३ विकेट लिए ।

अर्को खेलमा नेपाल पुलिस क्लबले सफलता पाएको छ । कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकसँगै पुलिस क्लबले प्रधानमन्त्री कपमा विजयी सुरुआत गरेको हो । पुलिसले सोमबार लुम्बिनीलाई १८७ रनले हरायो । जितसँगै पुलिसले २ अंक जोडेको छ । लुम्बिनीको भने यो पहिलो हार हो । पहिलो खेलमा लुम्बिनीले कोसी प्रदेशलाई २६ रनले पराजित गरेको थियो । पुलिसले पहिला ब्याटिङ गर्दै कुशल र आरिफको अर्धशतकसँगै २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका प्रज्जवल थापाले सर्वाधिक ७२ रन बनाए । ९४ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।

मृणाल गुरुङ ३०, सलाहुदिन खान १३ र कप्तान देव खनाल ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । पुलिसका सागर ढकालले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ मेडनसहित ३२ रन खर्चिए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए । रशिद खान र कुशल भुर्तेलले समान १ विकेट आफ्नो नाममा लेखाए । त्यसअघि भैरहवास्थित एक्ट्राटेक ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रनको योगफल तयार गरेको थियो ।

पुलिसका कुशलले सर्वाधिक ५९ रन बनाए । ७५ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । आरिफले ७९ बलमा २ चौकासहित ५६ रन बनाए । दिलीप नाथ ३४ र अमित श्रेष्ठ २२ रनमा आउट हुँदा गुल्सनकुमार झा ३६ रनमा अविजित रहे । लुम्बिनीका कृष्ण कार्की र अजय चौहानले सर्वाधिक ३ विकेट लिए ।

प्रतिक्रिया