किन सच्चिएन राजनीति ?

गरिबहरूको रगत पसिनाले जम्मा भएको करबाट चिल्ला गाडीमा झण्डा फरफराएर हिँड्नु नै उपलब्धि हो ? स्वतन्त्र भएको ७६ वर्षमा आज चीनले गरेको प्रगति चमत्कारी छ । हाम्रो कल्पनाभन्दा बाहिरको छ । आर्थिक, सामाजिक र वैज्ञानिक तकनिकीमा उनीहरू कहाँ छन् ? भारत स्वतन्त्र भएको ७८ वर्ष भएछ । आज भारत कहाँ छ ? हामी कहाँ छौँ ?

मानधोज मोक्तान

नेपाली जनताले राणाको निरंकुश जहानीयाँ शासनबाट २००७ सालमा स्वतन्त्रता प्राप्त गरे । विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रसको संघर्षको परिणाम थियो त्यो । त्यस यता जनताले राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र धेरै तन्त्रहरू देखे भोगे पनि जनताको आर्थिक र सामाजिक सुधार केही भएन । नेपाली जनता राजनीतिक रूपमा स्वतन्त्र भएको ७४ वर्ष भएछ । हामी जस्तै सामन्ती शोषणबाट चीन मुक्त भएको ७६ वर्ष भएछ । छिमेकी भारत बृटिस साम्राज्यबाट मुक्त भएको ७८ वर्ष भएछ । यी छिमेकी दुवैको तुलनामा आज हामी कहाँ छौँ ? कसरी यस्तो भयो ? कसले यस्तो बनायो ? राजनीतिक व्यवस्था या प्रणालीले ? कि राजनीतिक दलका नेताहरूका शैक्षिक धरातलका कारण दृष्टिकोणका अभाव भएर हो ? या परिवर्तनको उद्देश्यमा तत्कालीन सत्ता हटाउने मात्र तर के गर्ने भन्ने मार्ग चित्र नहुनु हो वा त्यो परिवर्तनले आफ्नो मौलिकता राष्ट्रियता, धर्म र सभ्यतालाई साथ नलिनु कारण हो ?

अहिले सत्तामा पुगेका नेताहरूले पञ्चायती सरकार फाल्न भूमिगत भएर काम गरेका हुन् । ज्यानको बाजी राखेर पञ्चायत फाल्न जनताका पक्षमा उभिएका अवश्य हुन् । तर राजा फालेपछि राजाको भूत उनीहरूमा चढ्यो । २०४६ सालदेखि अहिलेसम्म आइपुग्दा सत्ता उनीहरूकै हातमा छ । देश र जनताको पक्षमा राम्रो काम गर्ने सोच विचार नै आएन । शिक्षाको कमि र दृष्टिकोण नभएकाले उनीहरूमा सत्ता उन्माद बढ्यो । जसको परिणाम सरकारी निकायहरूमा आ–आफ्नो दलका झन्डे कार्यकर्ताहरू भर्ना गर्ने, आफ्नो स्वार्थका लागि नियम कानुन बदल्ने काम भयो । राजदूतहरू नियुक्ति गर्दा आफ्नै झोलेहरू खोज्न थालियो । बदलिँदो युगको राजदूतले देशका निम्ति के कति भूमिका खेल्नुपर्छ भन्नेतर्फ हेक्का नराख्ने, अथवा ती राजदूतको योग्यता र क्षमताले हाम्रो जस्तो देशको निम्ति कत्तिको प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ भन्नेतर्फ सोच पुर्याउनु नसक्ने । अवस्था आयो । देश लफँगाहरूको हातमा पुग्यो ।

अन्तर्राष्ट्रिय मञ्चमा देशको छबि बिग्रदो छ । सक्कली मान्छेलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरू नै आज सरकारमा छन् । त्यसको आलोचना गर्नेहरूलाई जेल पठाइन्छ । जनता झन्झन् गरिब बन्दै छन् । देशमा उद्योग धन्दा, कलकारखाना छैनन् । जीवन धान्न र परिवार पाल्न ऋणपान गरेर रोजगारीको लागि विदेश पलायन हुन जनता वाध्य छन् । त्यसरी गएकाहरू पनि बाक्साभित्र लास भएर फर्किएका दर्दनाक कहानीहरू छन् । अरबबाट बलात्कृत भएर फर्किएका कैयौँ चेलीहरूको जिन्दगी आँसुमा डुबिरहेको छ ।

खोइ उपलब्धि ? नेताहरूको आलिसान दरबार, गरिबहरूको रगत पसिनाले जम्मा भएको करबाट चिल्ला गाडीमा झण्डा फरफराएर हिँड्नु नै उपलब्धि हो ? स्वतन्त्र भएको ७६ वर्षमा आज चीनले गरेको प्रगति चमत्कारी छ । हाम्रो कल्पनाभन्दा बाहिरको छ । आर्थिक, सामाजिक र वैज्ञानिक तकनिकीमा उनीहरू कहाँ छन् ? भारत स्वतन्त्र भएको ७८ वर्ष भएछ । आज भारत कहाँ छ ? हामी कहाँ छौँ ?

सत्तामा बस्नेहरूले हामी कहाँ छौँ, छिमेकीहरू कहाँ पुगिसके भन्ने पनि तुलना गर्ने र अगाडि बढ्ने सोच राख्न पर्ने होइन ?, देश र जनता लुट्ने मात्रै हो ? हाम्रा देशका राज्य सत्ता सञ्चालनमा बसेकाहरू अलिकति पनि लाज शरम तथा नैतिक भइदिएको भए आज देशको यो हालत हुने थिएन । देशको आर्थिक अवस्था दरिलो छैन, उत्पादन छैन । भएको वन जंगल, जडीबुटीबाट देशलाई फाइदा पुर्याउने रोजगारी सिर्जना गर्ने कुनै कार्यक्रम योजना छैन, तर हावाको भरमा रटान छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’ बिनाकाम बिनाठोस कार्यक्रम कसरी सुखी र समृद्ध हुन सक्छ ?

नेपालीले बुझ्नु अत्यन्त जरुरी छ कि, यसरी देश बन्दैन, जनताको जीवनस्तर उठ्दैन । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू अब एक ठाउँ आएर देश बचाउने जनताको जीवनस्तर उकास्ने र राष्ट्रको गौरव बढाउने, खुकुरीको शान र नेपालीको मान बढाउने नयाँ अभियानमा ठोस कार्यक्रमसहित एकजुट भएर अघि बढौँ । यसै परिपेक्षमा राजनीतिमा नागरिकको प्रत्यक्ष नियन्त्रण हुनुपर्ने विषयमा स्वतन्त्र विज्ञहरूबीच बहस र छलफल सुरु भएको छ । आयातित लोकतन्त्रले नेपाली जनतालाई हरेक ५ वर्षमा एकपटक भोट हाल्ने यन्त्रको रूपमा मात्र प्रयोग गर्यो । भोट जितेर जाने नेता सर्वेसर्वा भए । जनताको आफ्नो दायित्व सिर्फ भोट हाल्नु मात्र रह्यो । यो किसिमको राजनीतिक व्यवस्थाले नेताको परिवार र आसेपासेले मात्रै राज्यको स्रोत साधनको दोहन गर्ने भए जनता गरिब झन् झन् गरिब हुने भए । बाँच्नका लागि आफँै थातथलो नै छोडेर हिँड्नुपर्ने दिन आउने भयो । यसो हुँदा देशको अस्तित्वमै प्रश्न आयो । यसर्थ यो गहन विषयमा विभिन्न क्षेत्रका विज्ञहरू, बौद्धिक समुदाय र विभिन्न पेसा व्यवसायका मानिसहरूबीच व्यापक सरसल्लाह र छलफल चलिरहेको छ ।

आजको यो दलतन्त्र र लुटतन्त्रले देश उँभो लाग्दैन भन्ने निष्कर्ष निक्लेको छ । देश यस्तो हालतमा पुग्नुको कारण पश्चिममा नवउदारवादले ल्याएको नवउदारवाद र उपभोक्तावादले निभोग गरेको वित्तिय पुँजीवाद हो । उत्पादनमा ध्यान नदिइएका कारण बेरोजगारी बढ्यो । वर्तमान अवस्थाको उपज अहिलेको संविधान हो । जनताले बाँच्ने अधिकार राख्ने र देशको अस्तित्व जोगाउने हो भने अहिलेको संरचना नबदली हुँदैन । यो मन्थनको सार सामाजिक नागरिकतन्त्र हो ।

आज देशमा भइरहेका तमाम खाले रमिता टुलुटुलु हेरिरहनु भनेको हुती नभएको नेपाली हुनु हो । यस्तै राजनीतिक परिदृष्यमा दार्जिलिङका सहित्यकार विद्वान समालोचक इन्द्रबहादुर राईले ‘आज रमिता छ’ भन्ने उपन्यास लेखेका थिए । आजभन्दा ६१ वर्षअघि अर्थात सन् १९६४ ताका दार्जिलिङमा एउटा कथन प्रचलित थियो, ‘आज दार्जिलिङ जे सोच्दछ त्यो नेपालले भोलि सोच्छ ।’

आज तमाम नागरिकले सत्ता सञ्चालनमा पुगेका लुटेराहरूले गरिरहेको मनपरी तन्त्रको दृष्यहरू हेरिरहेका छन् । व्यापारीले आफ्नो उद्योगमा खपत गरेको बिजुलीको पैसा तिर्न अस्वीकार गर्छन् । पैसा उठाउन लाइन काटिदिँदा, प्रधानमन्त्रीले हस्तक्षेप गर्छन् । अनेक आरोप लागेका सांसदहरू संसद् भवनमा मज्जाले गफ हाँक्छन् । प्रधानमन्त्रीको आलोचना गर्नेमाथि छानी छानी दिन दहाडै भाडाका लठैतहरूद्वारा कुटाउँछन् । अन्तर्राष्ट्रिय मञ्चहरूमा कुनै विषयमा अडान लिएर बोल्न सक्ने क्षमता देखिँदैन । एमसिसीको हालत के भयो देखिएकै छ । बिआरआईको अर्थै नबुझी अनुदान सरकार माग्न गयो । भारतले सीमा मिच्दै छ, सरकार बोल्न सक्दैन । लिपुलेकको कुरा उठाउने सहास छैन । अनि खोई त हाम्रा पुर्खाले स्थापित गरेको गौरवशाली इतिहास, स्वाभिमान र प्रतिष्ठा ? शक्तिशाली देशका राष्ट्रपतिले यिनीहरूलाई ठग भन्छन् ।

दक्षिण एसियामा उपनिवेश नभएको देश हाम्रो मात्रै हो । पुर्खाले जोगाएको त्यो गौरव र आत्मसम्मान अहिलेका शासकहरूले ध्वस्त पारे, यसले हाम्रो स्वाभिमानमा चोट पुगेको छ । चुप्पी साँधेरै बसौँ, रमिता हेरेरै बसौँ २१औँ शताब्दीमा राज्य सत्तामा पुग्नेहरूले बनाएको नेपालको छवीलाई । नेकपा (एमाले) र नेपाली कांग्रेसकोे गठबन्धन सरकारको अकर्मण्यताले जनता निराश छन् । जनता असन्तुष्ट र आक्रोशित भएका कारण राजावादीहरू उत्साहित भएका छन् । भुटान र लखनऊमा मन्त्रणाको कारण राजा पनि उत्साहित भएको भान हुन्छ । तर विगतको दरबारको जनता प्रतिको भूमिका र राजाको भूमिका पनि मूल्याङ्कन गर्न जनता सचेत छन् ।

राजालाई बोक्ने पार्टी वा समूहको पनि देश र जनता प्रतिको जिम्मेवारी तथा भूमिका निर्वाह गर्ने कुनै खाका छैन । राजाको नाममा आफ्नो स्वार्थ पूर्ति गर्ने स्वार्थी समूह मात्र छन् । देशलाई कसरी आर्थिक विकासमा लाने जनताको आर्थिक जीवनस्तर कसरी उकास्ने ? विद्यमान सामाजिक संरचना कसरी सुधार गर्ने ? बिग्रदो विश्व भू–राजनीतिमा नेपाललाई कसरी उभ्याउने ? यस्ता अनेकौँ मुद्दाहरू छन् । २४०–५० वर्षदेखि खप्टिँदै आएका अनेकन समस्याहरू छन् । दलित, थरूहट र पहिचानको समस्या पेचिलो बन्दै गइरहेको अवस्थामा राजा नै आए पनि उल्लिखित तमाम समस्याको समाधान सहज छैन । राजनीतिको कोर्ष नै परिवर्तन नभएसम्म सम्भव छैन ।

प्रतिक्रिया