राप्रपाले सुरु गरेको आन्दोलनको अभिभारा

भ्रष्टाचार नियन्त्रण गर्न २०४६ सालपछिका नेताहरू कोही पनि इमानदार रहेनन् । जनताको आँखामा छारो हालेर नेताहरूले भ्रष्टाचार गरिरहेको देखिन्छ । यो अवस्थाबाट मुक्ति पाउन जनताले विकल्प खोज्नु स्वभाविक हो ।

सागर थापा

देशको वर्तमान परिस्थिति पञ्चायति व्यवस्थाको तुलनामा निकै नाजुक अवस्थामा छ । २०४६ सालपछि जनताले दलहरूप्रति जुन अपेक्षा गरेका थिए, त्यो उनीहरूले पूरा गर्न सकेनन् । हिजो पञ्चायती व्यवस्थामा जुन गतिले विकास भएको थियो, त्यो अहिले हुन सकेन । त्यति बेला सयौँ कलकारखाना थिए, ती सबै कलकारखानालाई बहुदलवादीले बेचेर खाए । जसका कारण देशमा यतिबेला बेरोजगारी भयानक अवस्थामा पुगेको छ । स्वदेशमै पेसा व्यवसाय तथा रोजगारीका लागि अनुकूल वातावरण नभएका कारण जनता बिदेसिन वाध्य भएका छन् । मुलुकमा भरपर्दो शिक्षा र रोजगारीको अवसर नभएकोले युवा विद्यार्थीहरू देशको झण्डा बोकेर बिदेसिने क्रम बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँ विद्यार्थी अध्ययन र युवाहरू रोजगारीका लागि देश छाड्दै गरेको दृष्यले यसलाई पुष्टि गर्छ ।

सरकारमा बस्ने मन्त्रीहरू कमाउ धन्दामै लागिरहेको देखिन्छ । ऊर्जामन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन र आफ्नो मान्छे ल्याएर प्राधिकरणलाई दुहुनो गाई बनाउने प्रपञ्चमा लागेको अवस्थाले गणतन्त्रवादीको चरित्र कस्तो रहेछ उदांग भएको छ ।


पञ्चायति व्यवस्थाको समाप्तीपछि देशमा भ्रष्टाचार बढेको मात्रै होइन ठुला दलका शीर्ष नेतादेखि कार्यकर्तासमेत भ्रष्टाचारमा लिप्त छन् । स्थानीय सरकार प्रमुखहरू समेत भ्रष्टाचारमा लिप्त भएको देखिन्छ । जनताको समस्या सुन्नुभन्दा आफू र आफन्तको हितका लागि मात्र मध्यनजर गरेर अगाडि बढेको देखिन्छ ।


नेपाल यस्तो देश हो, जहाँ नेताहरू सरकारमा गएर अर्थोपार्जन गर्ने काममा सक्रिय छन् । जनताका जल्दाबल्दा समस्यातिर ध्यान गएको देखिँदैन । राजनीतिलाई व्यवसाय बनाउने काम भइरहेको देखिन्छ । राजनीति भनेको जनता र राष्ट्रको सेवा गर्ने हुनुपर्नेमा त्यसतर्फ नलागी भ्रष्टाचार, अनियमिततामा आपसी मिलेमतोमा राजनीतिलाई दुहुनो गाई बनाउँदै गरेको देखिन्छ । ठुलठुला भ्रष्टाचारका काण्डमा दलकै नेताहरूको संलग्नता देखिन्छ । भ्रष्टाचारकै कारण देशै असफलतातिर जान्छ कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छ ।

भ्रष्टाचार नियन्त्रण गर्न २०४६ सालपछिका नेताहरू कोही पनि इमानदार रहेनन् । जनताको आँखामा छारो हालेर नेताहरूले भ्रष्टाचार गरिरहेको देखिन्छ । यो अवस्थाबाट मुक्ति पाउन जनताले विकल्प खोज्नु स्वभाविक हो । नेताहरू दिनदिनै धनि भए, जनता झन् झन् गरिब भए । जनताले तिरेको करबाट राज्य चलिरहेको छ । तर, नेताहरू जनतालाई लुटिरहेका छन् । राज्यस्रोत लुटिरहेका छन् । विकासका नाम आएका विदेशी सहयोगमा समेत अनियमितता भइरहेका छन् । नेपालको परिचय दिँदा नेता धनी, जनता गरिब भन्नुपर्ने अवस्था छ । जनतालाई स्वतन्त्रताका नाममा नेताहरूले ठगीरहेका छन् । यो अवस्था कति दिन रहला ? जनता आफैँ आन्दोलित हुनुपर्ने बेला आएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक रुपैयाँ घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नुभएको छ । के अन्य दलका नेताहरूले यस्तो भन्न सक्छन् । राप्रपा यस्तो पार्टी हो, जहाँ भ्रष्टाचार गर्ने अटाएका छैनन् ।

महँगी नियन्त्रण गर्न सबैभन्दा पहिला सरकारी संयन्त्र क्रियाशील हुनुपर्ने हो । भ्रष्टाचार नियन्त्रण बनेका संयन्त्रसमेत मूकदर्शक भएर बसेको अवस्था छ । महँगीले जनता आज खाए भोलि के खाउँको अवस्थामा छन् । ठुला व्यापारीको हातमा राज्य छ । अर्थतन्त्र छ । उनीहरूकै इशारामा महँगी बढिरहेको देखिन्छ । देशको वार्षिक बजेट नै ठुला व्यापारीहरूले सरकारलाई प्रलोभनमा पारेर विनियोजन गरेको अवस्था छ । काला बजारी, भ्रष्टाचार, महँगी बढ्नुको कारण यही हो । गरिब जनतालाई राहत दिन सरकारी बजेटमा केही हुन्न । तर नेताहरू जनतालाई राहत दिने सपना देखाउँछन्, देखाइरहेका छन् ।

दलीय नेताहरू व्यापक रूपमा भ्रष्टाचारमा लिप्त भएकै कारण देश विकास नभएको हो । देश विकासनिम्ति हामीले राजासहितको प्रजातन्त्र चाहिरहेका छौँ । २०४६ अघि र २०४६ सालपछिको अवस्था तुलना गर्ने हो भने २०४६ सालअघि नै देशमा व्यापक रूपमा विकास भएको स्पष्ट छ । त्यसैले राजासहितको प्रजातन्त्रले मात्र देश विकास हुन सम्भव छ । राप्रपा सदैव विकासको पक्षपाती पार्टी हो । हामी यहि नीति लिएर अघि बढिरहेका छौँ । जुन देशमा विकास हुँदैन, त्यो देश सफल पनि हुन सक्दैन । विकास राजनीतिक स्थायित्व र नीतिसँग जोडिएको हुन्छ । हाम्रा देशका राम्रो नीति नलिएकै कारण देश विकास नभएको घाम जस्तै छर्लंग छ । विकासका नाममा विनियोजन गरिएका सरकारी बजेट पनि दुरुपयोग भइरहेको अवस्था छ ।

यसै मेसोमा केही दिनअघि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्रले दिनुभएको सन्देश समयसापेक्ष, जनचाहाना, देशको वर्तमान परिस्थिति अनुकूल छ । राजा ज्ञानेन्द्रको सन्देशले आमजनतालाई उत्साहित पारेको छ । र, यो राजा ज्ञानेन्द्रको सन्देशबाट गणतन्त्रवादी नेताहरूको मुटु झस्किएको जस्तो देखिन्छ । राष्ट्रप्रति माया भएका जनता सो सन्देशबाट झन् बढी उत्साहित छन् । राजा ज्ञानेन्द्रको सन्देशबाट हामीले मेलमिलाप र शान्तिको अनुभव गर्न पाएका हौँ । हामी राजासहितको प्रजातन्त्र चाहान्छौँ । राप्रपाको नीति पनि यहि हो ।


राजाको सक्रियतालाई सघाउन राप्रपा सधैँ तयार रहेको छ । यस क्रममा हामी आन्दोलित अवस्थामा छौँ । राजाविना देश बच्न नसक्ने समयक्रमले देखाइरहेको छ । हामी प्रजातन्त्र मास्नभन्दा पनि राजासहितको प्रजातन्त्र मात्र चाहान्छौँ । राजासहितको प्रजातन्त्रबाट मात्र सबैको भावनाको प्रतिनिधित्व हुने कुरा स्पष्ट छ । राजा ज्ञानेन्द्रलाई अझ बढी सव्रिmय हुन सुझाव दिन चाहान्छु ।

हामी राजतन्त्र फर्काउनै पर्छ भन्ने अभियानमा लागिरहेका छौँ । राजतन्त्र फर्काएर हामी देशमा सुशासन ल्याउँछौँ, शान्ति ल्याउँछौँ, भ्रष्टाचार नियन्त्रण गर्छौं । हामी राजासहितको समुन्नत नेपाल बनाउने अभियानमा छौँ । दलका नेताहरूले जनतालाई धेरै ढाँटे, अब ढाट्न पाउने छ्रैनन् ।

राप्रपाको अबको रणनीति भनेको देशमा सुशासन कायम गर्ने हो । साथै सबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध कायम गरी शाह वंशीय योगदानहरूलाई कदर गर्दै राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको हिन्दूराज्य निर्माण गर्ने अभियानमा हामी छौँ । नेपालमा राजसंस्था र हिन्दूधर्म पुनःस्थापना नभएसम्म हाम्रो अभियान रोकिने छैन । हामी सडक र सदनमा आन्दोलित भइरहने छौँ ।

कांग्रेस, एमाले, माओवादीका क्रियाकलापहरू देशमा शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण विपरीत छन् । प्रमुख दलका नेताहरू आफू र आफ्ना कार्यकर्तालाई मात्र धनी बनाइरहेका छन् । प्रमुख दलका नेताहरूले भ्रष्टाचार गरेर आर्जन गरेको पैसा विदेशी बैंकमा थुपारेको हामीले सुनिरहेका छौँ । यसले के बुझिन्छ भने प्रमुख दलका नेताहरूको अकर्मनियताकै कारण देश टाट पल्टिने अवस्थामा छ ।

नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि भ्रष्टाचार नियन्त्रणका लागि बेरोजगारी अन्त गर्नका लागि यो अवस्थामा देशमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्व जनताले खोजिरहेका छन् । लिङ्देन स्वच्छ छवि र इमानदार राजनीतिज्ञ हुनुहुन्छ । त्यसो त राप्रपा अभिभावकीय राजसंस्था र जननिर्वाचित प्रजातन्त्रको पक्षमा छ । यही बाटोबाट मात्र देशमा सही निकास दिन्छ ।


देशमा भ्रष्टाचार, महँगी, बेरोजगारी अन्त्य गरी शिक्षा स्वास्थ्यका समस्या समाधान गर्दै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि हामी सबै एकजुट हुनुपर्ने अवस्था छ । साथै राजासहितको प्रजातन्त्रमा स्थापनाका लागि राप्रपाको अभियानमा साथ र सहयोग गर्न पुनः अनुरोध गर्दछु ।

(लेखक थापा राप्रपा मकवानपुरको कार्यवाहक जिल्ला अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया