चार देशीय महिला क्रिकेट : युगान्डालाई हराउँदै नेपालकाे पहिलो जित

काठमाडौं । चार देशीय महिला टी– २० क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डालाई हराउँदै नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालले आइतबार युगान्डालाई एक विकेटले विकेटले रोमाञ्चक जित हात पारेको हो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन जोडिन् । पूजा महतो १६ र रुविना क्षेत्री १० रनमा आउट रहिन् ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् ।

स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् । मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडे । नेपालका लागि पूजा महतोले ३ र कप्तान इन्दु बर्माले २ विकेट लिइन् ।

सिरिजमा नेपालको यो पहिलो जित हो । युगान्डाको पहिलो हार हो । पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई पराजित गरेको थियो ।

जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

प्रतिक्रिया