ओलम्पिकमा जसलाई रोकेन सानो भूगोल र गरिबीले

काठमाडौँ । नेपालमा अहिले पनि ओलम्पिक कमिटीको विवाद जारी छ । यो विवादका अन्तरंग पत्ता लगाउने हो भने माथिल्लो ओहदामा रहनेको पदीय स्वार्थबाहेक अन्य केही देखिँदैन । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पद जोगाउन मात्र चासो छ भने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ओलम्पिक कमिटीमा आफ्नो उपस्थिति देखाउनुबाहेक अन्य कुनै कुरामा चासो दिन सकेका छैनन् ।

यसैबीच, नेपाल मात्र होइन, संसारका केही देशका ओलम्पिक मुभमेन्ट र घटना छन्, जसबाट सिक्नुपर्ने थुप्रै विषय छन् । सन् २०२१ मा टोकियोमा ओलम्पिक आयोजना हुँदा बर्मुडाको जनसंख्या ६३ हजार मात्र थियो । त्यही जनसंख्या भएको बर्मुडाले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । ट्रायथलनमा फ्लोरा डफीले स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी थिइन् । त्यो आफैँमा एउटा कीर्तिमान हो ।

टोकियो ओलम्पिकमा योभन्दा आश्चर्यको परिणाम पनि नआएको होइन । ३९ हजारभन्दा कम जनसंख्या भएको देश सानमारिनोले जापानको टोकियोमा आयोजित ओलम्पिक खेलकुदमा ५ खेलाडी सहभागी गराएको थियो । यी ५ मध्ये सानमारिनोले १ रजत तथा २ कास्य गरी ३ पदक जितेको थियो । ओलम्पिक इतिहासमा सबैभन्दा कम जनसंख्या भएको देशले पदक जितेको रेकर्ड सानमारिनोका नाममा अझै छ । ३ करोड जनसंख्या भएको नेपालले हालसम्म ओलम्पिकमा कुनै पदक जितेको छैन । प्रायः वाइल्ड कार्डमा छनोट भएर खेल्ने गरेको नेपालका लागि छनोट हुनु नै दुर्लभ बन्ने गरेको छ ।

सिंगो संसारका लागि प्रेरणाको स्रोत हुन्– इथियोपियाकी खेलाडी डेराटु टोलु । ओलम्पिक खेलकुद इतिहासमा यी महान् धाविकालाई इथियोपियाको ‘लिजेन्ड’ मात्र होइन, संसारको आदर्श खेलाडीका रूपमा समेत लिइन्छ । लामो समयको प्रतिबन्धपछि इथियोपिया र दक्षिण अफ्रिका दुवै सन् १९९२ को ओलम्पिकमा फर्किएका थिए । सोही ओलम्पिकमा १० हजार मिटर दौडमा टोलुले अन्तिम ल्यापमा अस्वाभाविक रूपमा आफ्नो गति बढाएर स्वर्ण पदक जितेकी थिइन् । उनी नै ओलम्पिक स्वर्ण पदक जित्ने पहिलो अश्वेत अफ्रिकी महिलाको रूपमा कीर्तिमान कायम गर्न सफल भइन् ।

सो स्पर्धामा दक्षिण अफ्रिकी एलिना मेयरले रजत पदक जितेकी थिइन् । मेयर भने अफ्रिकी महादेशको प्रतिनिधित्व गर्ने श्वेत महिला थिइन् । उनीहरूको सोही सफलताले अफ्रिकामा रंगको आधारमा हुने विभेदलाई मात्र कम गर्न मद्दत मात्र गरेन, आपसी वैमनस्य हटाउनसमेत सहयोग गरेको बताइन्छ ।

इथियोपियाको राजधानी अदिस अबाबाभन्दा धेरै टाढा रहेको बेकोजीमा टोलुको जन्म भएको थियो । सो समयमा इथियोपियामा महिलालाई दौडका लागि त्यति सहज थिएन । उनले अदिस अबाबामा प्रहरी टोलीसँग प्रशिक्षण गरेकी थिइन् । सन् २००० मा सिड्नीमा भएको ओलम्पिकमा उनले दोस्रो पटक स्वर्ण पदक जितेकी थिइन् । त्यसको ४ वर्षपछि पनि उनले कास्य पदक जितिन् ।
हाल उनको नेतृत्वमा इथियोपिया एथ्लेटिक्स संघ छ । उनी सन् २०२० मा इथियोपियाको एथ्लेटिक्स संघको अध्यक्षमा निर्वाचित भएकी हुन् । उनको कार्यकालमा नै इथियोपियाले लामो दुरीमा पकड राखेको छ ।

टोलुले इथियोपियालाई विश्व खेलकुदमा फर्काएको समयमा अहिलेको नेपालको भन्दा त्यहाँको जनजीवन अत्यन्त कष्टप्रद थियो भने गरिबीले आक्रान्त थियो । उनले पहिलो पटक स्वर्णपदक जित्दा इथियोपियाको प्रतिव्यक्ति आय २१६ दशमलव २९ अमेरिकी डलर मात्र थियो । आफूभन्दा साना र गरिब मुलुकहरूले पाएको सफलताबाट नेपालले सिक्नुपर्ने पाठ धेरै छन् ।

प्रतिक्रिया