लन्डन । इंग्ल्यान्डका अन्तर्राष्ट्रिय आक्रामक मिडफिल्डर कोल पाल्मरले गत सिजन इंग्लिस प्रिमियर लिगमा २७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यस सिजनको सुरुआतमा पनि उनको प्रदर्शन त्यत्तिकै सानदार थियो । पछिल्लो समय भने उनी खस्किएका छन् । उनले पछिल्ला ८ खेलमा कुनै गोल गर्न सकेका छैनन् । केही उत्कृष्ट अवसरसमेत उनले गुमाएका छन् । गोल खडेरीका कारण उनको मनोबल नै गिरेको चर्चा इंग्लिस फुटबलमा हुन थालेको छ । साथै चेल्सीको व्यवस्थापनमा नै चिन्ता थपिएको छ ।
चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्काले भने यस घटनाले उनलाई कुनै असर नपारेको दाबी गरेका छन् । प्रिमियर लिगअन्तर्गत लेस्टर सिटीविरुद्धको खेलअघि उनले पाल्मरको आत्मविश्वास यथावत रहेको बताएका हुन् । ‘गोल गर्दा तपाईंलाई खुसी लाग्छ । किनभने तपाईंको गोलले टोलीलाई जित्न मद्दत गर्छ । तर, समग्रमा गोल ठिक छ, ऊ खुसी छ’, उनले भने, ‘हाल गोल गर्न संघर्ष गरिरहेका छन्, तर यो कुनै असामान्य कुरा होइन । कुनै पनि सिजनमा यस्तो हुन सक्छ । उनी प्रशिक्षण सत्रमा अत्यन्त उत्कृष्ट देखिन्छन्, त्यसैले यसले उनलाई असर गरेजस्तो लाग्दैन ।’
मारेस्काले डिफेन्डर वेस्ली फोफाना, मिडफिल्डर रोमियो लाविया र फरवार्ड निकोलस ज्याक्सनको चोटसम्बन्धी अपडेट पनि दिएका छन् । ‘वेस (फोफाना) १० दिनभन्दा बढी समयदेखि हामीसँग प्रशिक्षण गरिरहेका छन्, त्यसैले उनी फर्किसकेका छन्’, मारेस्काले भने, ‘रोमियो (लाविया) पनि प्रशिक्षण सुरु गर्दैछन्, जुन राम्रो खबर हो । उनी अझै १०० प्रतिशत फिट हुन भने बाँकी छ । निको (ज्याक्सन) बाहिर दौडन थालेका छन्, तर उनको रिकभरी योजना उस्तै छ । सम्भवतः अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किनेछन् ।’
२७ खेलबाट ४६ अंक जोड्दै चेल्सी लिग तालिकाको पाँचौँ स्थानमा छ । आइतबार घरेलु मैदानमा १९औँ स्थानमा रहेको लेस्टर सिटीविरुद्ध जित हात पार्ने राम्रो सम्भावना भने छ । लेस्टरले पछिल्ला ४ लिग खेलमा पराजयको सामना गरेको छ ।
लेस्टर सिटी छाडेर चेल्सीको जिम्मेवारी सम्हाल्न आएका मारेस्काले रेलिगेसन दबाबमा रहेको आफ्नो पूर्व टोलीप्रति सहानुभूति प्रकट गरेका छन् । साथै उनले लेस्टरका मुख्य प्रशिक्षक रूड भान निस्टलरोयलाई समर्थन व्यक्त गरेका छन् ।
‘म रूडलाई पूर्ण रूपमा समर्थन गर्छु । पहिलो कारण, उनी मेरा साथी हुन्, दोस्रो उनी अहिले त्यहाँ छन् । उनी आफ्नो उत्कृष्ट प्रयास गरिरहेका छन्’, मारेस्काले भने । अहिले मारेस्का चेल्सीमै केन्द्रित छन् । उनको ध्यान टिममा कसरी सुधार गर्न सकिन्छ भन्नेमा छ ।
प्रतिक्रिया