विश्वकपले २ लाख रोजगारीको अवसर सिर्जना गर्ने

वासिंगटन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल आयोजना गर्दा अमेरिकामा २ लाख रोजगारी सिर्जना हुने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ को आयोजनाको तयारीका लागि टास्क फोर्स गठन गर्ने विषयमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा इन्फान्टिनोले यस्तो बताएका हुन् ।

उनले विश्वकपका कारण थप २ लाख रोजगारीको सिर्जना हुने तथा ४० अर्ब अमेरिकी डलर बराबरको प्रभाव रहने बताए । विश्वकपकै कारण अमेरिकामा ८० लाख जना पुग्ने अनुमान गरिएको छ । ट्रम्पले विश्वकप फुटबलको आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए । सन् २०१८ मा अमेरिकाले अधिकार पाउँदा ट्रम्प नै राष्ट्रपति थिए ।

सन् २०२६ को विश्वकप फुटबल र सन् २०२८ को गृष्मकालीन ओलम्पिक दुवै आयोजना गर्न पाउनु गर्वको विषय भएको ट्रम्पले बताए ।
सन् २०४८ को विश्ववकपमा पहिलोपटक ४८ देशको सहभागिता रहने छ । प्रतियोगिताको आयोजक मेक्सिको, क्यानडा र अमेरिका हुन् । आयोजनाको अवसर पाउने क्रममा यी ३ देशले अन्तिम समयमा मोरक्कोलाई हराएका थिए । यसका लागि सबै महादेशको छनोट जारी भइरहेको छ ।

सबैभन्दा प्रतिक्षित दक्षिण अमेरिकी समूहमा अर्जेन्टिना पहिलो स्थानमा छ । १२ खेल खेलेको अर्जेन्टिनाको २५ अंक छ । उरुग्वेको २० तथा इक्वेडरको १९ अंक छ । यसैगरी, कोलम्बियाको पनि १९ अंक छ भने ब्राजिलको १८ अंक छ । छैटौँ स्थानको पाराग्वेको १७ अंक छ । बोलिभियाको १३ तथा भेनेजुएलाको १२ अंक छ । चिलीको ९ तथा पेरुको ७ अंक छ ।

उत्तर तथा मध्य अमेरिकी समूहमा भने ६ समूहमा छनोट भइरहेको छ । होन्डुरस, कोस्टारिका, कुराकाओ, निकारागुवा, ग्वाटेमाला र सुरिनाम शीर्ष स्थानमा छन् । यसैगरी, युरापेली देशको छनोट १२ समूहमा हुने छ । ३ देशको १६ रंगशालामा अबको विश्वकप फुटबल आयोजना हुने छ ।

प्रतियोगिताको अनुमानित बजेट २८ अर्ब युरो रहेको छ । प्रतियोगिता आयोजक देशहरूले फिफाको मापदण्ड अनुसारको रंगशाला तयार गर्नका लागि १ दशमलव ८ अर्ब युरो बराबर खर्च गर्ने छन् । रंगशाला बनाउन मात्र होइन त्यहाँ अत्याधुनिक सुविधा दिलाउन पनि यसरी खर्च गर्न लागिएको हो ।

प्रतिक्रिया