नेपाल ओलम्पिक कमिटीको विवाद : कुबेत बैठकले नयाँ बाटो तय गर्ने अपेक्षा

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको विवाद समाधानका अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइसिसी)ले एसियाली ओलम्पिक काउन्सिल (ओसिए) लाई अख्तियारी दिएपछि यसले विवाद समाधान गर्ने अपेक्षा रहेको सरोकारवालाले बताएका छन् । यसका लागि ओसिएले ५ मार्चमा कुबेतमा तय गरेको सरोकारवालाको बैठक भने केही समयपछि ११ मार्चमा सरेको छ । ओसिएको बैठकमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका साथै तत्कालीन महासचिव निलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति रहनेछ । साथमा सदस्यता माग गर्ने ५ संघका अध्यक्षहरू सो बैठकमा उपस्थित हुने छन् ।

नेपालमा सोही दिन मुद्दाको पेसी रहेका कारण अर्को दिन बैठक राख्नका लागि मुद्दाका पक्षधरहरूले ओसिएमा गरिएको अनुरोधलाई ओसिएले स्वीकार गरेका कारण विवाद समाधानको बाटोमा गएको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल बताउँछन् । ‘हामी धेरै कुरामा सकारात्मक छाँै’, खनालले भने ।

१७ फेब्रुअरीमा नेपालमा भएको ओलम्पिक कमिटीको विवाद समाधानका लागि नेपालका सबै स्टेक होल्डरलाई सम्बोधन गर्दै पत्राचार गरेको थियो । त्यसपछि नेपाल ओलम्पिक कमिटी र नेपाल सरकारलाई प्रतिवादी बनाई आफूहरूले हक छिनिएको दावीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गर्ने संघहरूको तर्फबाट ओसिएमा आफ्नो कुरा राखेका जनाइएको छ ।

खनाल भन्छन्, ‘हाम्रो आवाज सबैतिर पुगेको छ । हामीले सबै योग्यता पूरा गरेका कारण साधारणसभामार्फत सदस्यताको मागलाई सम्बोधनको कुनै विकल्प छैन । हामी यो मागमा अडिग छौँ’, खनालले भने । आफू ओलम्पिक मुभमेन्टका लागि सम्पूर्ण योग्यता पूरा गरेका कारण सदस्यता पाउनका लागि नेपालका धेरै खेल संघले नेपाल ओलम्पिक कमिटीका गत वर्ष नै निवेदन दिएको थियो । सो निवदेनलाई बे वास्ता गरेपछि नेपाल बेसबल एन्ड सफ्टबल संघ, नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघ, नेपाल रग्वी संघ तथा नेपाल इक्वेस्ट्रियन संघ उच्च अदालत पाटनमा पुगेका थिए । यी ४ संघबाहेक मोर्डन पेन्टाथलन संघले पनि भिन्न मुद्दा जाहेर गरेको थियो ।

यसैबीच नेपाल ओलम्पिक कमिटीले साधारणसभा गरेको थियो । आफ्नो अनुपस्थितिमा साधारणसभा नगराउनका लागि यी ४ संघले निवेदन दिएपछि उच्च अदालतले स्टे अर्डर जारी गर्नुका बाबजुद नेपाल ओलम्पिक कमिटीको सधारणसभा भएको थियो । आइसिसीले भने नेपालमा अदालती विवाद समाधान नभएसम्म एनओसीका निर्णयलाई ‘रेस्पोन्स’ नगर्ने नीति लिँदै विवाद समाधानको जिम्मेवारी ओसिएलाई दिएको हो ।

नेपाल ट्रायथलन संघका अध्यक्ष तथा निर्वाचन पूर्वमहासचिव निलेन्द्रराज श्रेष्ठले कुबेतमा हुने बैठकमा निर्वाचनको बैधताकै कुरा उठाउने विषयमा बताए । उनी कुबेतको बैठकले सबै कुराको तय नगरे पनि समाधानको बाटो निकाल्ने बताउँछन् ।

ओलम्पिक कमिटीमा सदस्य रहेका संघ नै बढी गैरजिम्मेवार

अहिले सदस्यता माग गर्दै विद्रोह गर्दै आएका ५ संघका खेल ओलम्पिकमा आवद्ध छन् । साथै ती खेलका गतिविधि नेपालमा सक्रियताका साथ भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र नतिजाका आधारमा पनि ओलम्पिकमा आवद्ध अन्य धेरै खेलभन्दा अघि छ ।
ओलम्पिकमा सदस्य खेल संघमा नै अन्तर्राष्ट्रिय प्रतियोगितमा कमजोर प्रदर्शन, विवाद, वर्षौं साधारणसभा गर्न नसक्ने, आफ्नो संघको कार्यालयसमेत स्थापना नगर्ने र खेलाडीमाथि पूर्वाग्रहको समस्या बढी छ ।

हक्की र जिम्न्यास्टिकलगायत खेलको दक्षिण एसियाली क्षेत्रमा नै कमजोर उपस्थिति छ । सुटिङले काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदमा समेत कुनै पदक पाएको थिएन । नेपाल ओलम्पिक कमिटीमा अहिले आवद्ध भएका धेरै संघले वार्षिक साधारणसभाको आयोजना गर्र्दैनन् । नेपाल जिम्न्यास्टिक संघको त कुनै गतिविधि नै नभएको वर्षौं भइसकेको छ । यसरी साधारणसभा नै हुन नसकेको संघ नेपाल ब्याडिमिन्टन संघसमेत हो । ब्याडमिन्टन संघ त बारम्बार साधारणसभा आह्वान भए पनि आवश्यक मापदण्ड पूरा नभएको कारण साधारणसभा गर्न असमर्थ भएको हो ।

वर्षौंदेखि ओलम्पिक कमिटीमा आवद्ध रहेका संघहरूमा नै खेलाडीमाथि भेदभाव गरेको अरोप ती खेल संघमाथि लागेको छ । एथलेटिक्सले त विश्व च्याम्पियनसिमपा समेत बिनाछनोट अमेरिकामा भएका नेपालीलाई सहभागी गराएको थियो । गत वर्ष हंगेरीको बुढापेस्टमा भएको विश्व च्याम्पियनसिपमा अमेरिकामा रहेका आयुष खत्रीलाई सहभागी गराएको थियो ।

सो संघको आफ्नो कार्यालयसमेत छैन । संघको काम थापाथलीस्थित संघ अध्यक्ष राजीवविक्रम शाह निवासबाट हुने गरेको छ ।
ओलम्पिक खेलकुदमा समावेश नभए पनि उसु र कबड्डी नेपाल ओलम्पिक कमिटीमा आवद्ध छन् । यसैगरी करातेले एकपटक टोकियोमा भएको ओलम्पिकमा मात्र मौका पाएको थियो ।

प्रतिक्रिया