नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर देशभर चर्चा छ । मिडियाहरूले प्राथमिकताका साथ समाचार प्रवाह गरेका छन् । तर एमालेको ११औँ महाधिवेशनको सन्दर्भ अहिलेसम्म गुमनाम छ । यो कुराले पनि नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र कतिसम्म सशक्त छ ? भन्ने कुराको पुष्टि हुन्छ ।

गोपालमान श्रेष्ठ

शशांक कोइरालाजीले नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८४ सालको स्थानीय तथा आमनिर्वाचनपछि गर्दा उपयुक्त हुने कुरा बोलिदिनुभयो । त्यसैलाई आधार बनाएर मिडियामा कांग्रेसको महाधिवेशन ३ वर्षपछि धकेलिने भयो भन्ने समाचार तथा टिप्पणीहरू आइरहेका छन् । जबकी शशांकजीले बेग्लै सन्दर्भमा सुझावका लागि यो कुरा बोल्नु भएको हो । यस विषयमा अहिलेसम्म पार्टी भित्रका कुनै निकायमा कुरा उठेको छैन । कांग्रेसको १५औँ महाधिवेशन २०८३ सालभित्रै हुने करिब करिब निश्चित छ । केही अपवादलाई छाडेर २०४८ साल यता कांग्रेसको महाधिवेशन ५ वर्षको अन्तरालमा हुँदै आएको छ । यसपटक पनि त्यही हुन्छ ।

पञ्चायतकालको ३० वर्षे कठिन कालखण्डमा बाहेक विधानले तोकेकै समयावधिभित्र नेपाली कांग्रेसको महाधिवेशन हुँदै आएको छ । लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व चयन हुँदै आएको छ । पार्टी भित्रको आन्तरिक लोकतन्त्र बलियो भयो भने मात्रै देशको लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता राख्ने पार्टी हो नेपाली कांग्रेस । बिपी कोइराला पनि चुनाव जितेरै पार्टी सभापति हुनुभएको हो । सुर्वणशमशेर राणा पनि गणेशमान सिंहसँग चुनावी प्रतिस्पर्धा गरेरै पार्टी सभापति बन्नुभएको हो । गिरिजाप्रसाद कोइरालाले पनि पहिलोपटक चिरञ्जीबी वाग्ले, दोस्रोपटक शेरबहादुर देउवा र तेस्रोपटक नरहरि आचार्यसँग चुनाव लडेरै पार्टी सभापति बन्नुभएको हो । सुशील कोइराला देउवाजीसँग चुनाव लडेर पार्टी सभापति बन्नुभएको हो । वर्तमान सभापति देउवा पनि रामचन्द्र पौडेलसँग र दोस्रो पटक डा.शेखर कोइरालासँग चुनाव लडेर सभापति बन्नुभएको हो ।

नेपाली कांग्रेसले आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई उत्सवको रूपमा लिने गरेको छ । आन्तरिक चुनाव लगत्तै प्रतिस्पर्धीबीच मनमुटावको आलो घाउ हुने र त्यो आलो घाउ लिएर अन्य पार्टीसँग प्रतिस्पर्धामा उत्रँदा अन्तरघात हुनसक्ने आशंका पनि बेलाबेलामा प्रकट हुने गरेका छन् । त्यही आशंका पोख्दै शशांकजीले राष्ट्रिय चुनावपछि मात्रै पार्टीको आन्तरिक चुनाव गर्नु उपयुक्त हुने धारणा राख्नुभएको हो । उहाँको यो आशंका गलत होइन, केही अपवादस्वरूप त्यस्ता घटना कहीँ कतै देखिएका होलान् । तर यस्ता मामिलालाई नेपाली कांग्रेसले समग्रतामा हेर्ने गरेको छ । समग्रतामा हेर्दा नेपाली कांग्रेसको आमकार्यकर्ता पंक्तिले आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई उत्सवको रूपमा लिने गरेको छ । उपविजेतालाई पनि पार्टीभित्र उचित भूमिका र सम्मान दिने उच्च संस्कार नेपाली कांग्रेसमा छ । पार्टीका संस्थागत निर्णयमा उपविजेताको संलग्नता विधानद्वारा नै व्यवस्था गरिएको छ । यसैगरी कांग्रेस मासबेस पार्टी भएकोले महाधिवेशनका क्रममा पार्टी संगठन थप सुदृढ हुने गरेको व्यवाहरतः सिद्ध भएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन र नेकपा एमालेको १०औँ महाधिवेशन सँगसँगै जस्तै सम्पन्न भएको होे । तर, नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर देशभर चर्चा छ । मिडियाहरूले प्राथमिकताका साथ समाचार प्रवाह गरेका छन् । तर एमालेको ११औँ महाधिवेशनको सन्दर्भ अहिलेसम्म गुमनाम छ । यो कुराले पनि नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र कतिसम्म सशक्त छ ? भन्ने कुराको पुष्टि हुन्छ । नेपाली कांग्रेसका दर्जनाँै साथीहरू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने भन्दै देश दौडाहमा हुनुहुन्छ । तर, एमालेभित्र ११औँ महाधिवेशनमा म अध्यक्षको उम्मेदवार हुन्छु भनेर कसैले उच्चारण गर्ने त परै जाओस् संकेत दिन सक्ने अवस्थासमेत छैन ।

यस्तो देख्दादेख्दै पनि नेपाली कांग्रेसका सभापति देउवामाथि महाधिवेशनको मिति पछि धकेल्न खोजेको भन्दै कपोलकल्पित समाचार लेख्ने काम भएका छन् । मेरो व्यक्तिगत अनुभवमा किशुनजीलाई अपवाद छाडेर २०४८ साल यता देउवा जत्तिको लचक र आलोचना सहन सक्ने सभापति कांग्रेसले पाएको छैन । स्वयं मैले पनि यही फागुन १६ गते देउवाजीकै गृह प्रदेश धनगढी गएर १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेँ । यो खबर सुनेर देउवाजीले शुभकामना दिनुभयो ।

नेतृत्व गर्न पाउनुपर्छ भन्ने सबैको दाबी हुन्छ । मेरो पनि छ । राजनीतिमा जोगी हुन कोही पनि लाग्दैन । म उपसभापति भइसकेँ, सभापति हुनु छ । उपप्रधानमन्त्री भइसकेँ प्रधानमन्त्री भएर देशलाई अगाडि बढाउनु छ । देश र पार्टी हाँक्न सक्ने सामर्थ भएकोले मैले नेतृत्वको इच्छा राखेको हुँ ।

सदूरपश्चिममा गएर मैले उम्मेदवारीको घोषणा गर्नु संयोग मात्रै होइन । १४औँ महाधिवेशनका क्रममा देउवाजीसँग भएको सहमतिलाई बाहिर ल्याउने उपयुक्त समय तथा उपयुक्त स्थान रोजेको हुँ । हुन त देउवाजी र मेरो सामान्य सहमति १३औँ महाधिवेशनकै बेला भएको हो । १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी मैले नगरेको होइन, तर देउवाजीलाई फेरि पनि अवसर दिनुपर्ने परिस्थिति उत्पन्न भयो । त्यतिबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । पार्टी सभापति पदमा निरन्तरता नदिए प्रधानमन्त्री पदमा निरन्तरता हुने कि नहुने ? भन्ने प्रश्न उठ्न सक्थ्यो । पार्टीलाई नै नोक्सान पुग्ने अवस्थालाई ख्याल गर्दै देउवाजीलाई पुनः सभापति बनाउने प्रस्ताव मैले नै राखेको हुँ । विमलेन्द्र निधिजीले विद्रोह गर्नुभयो, तर मैले समय, परिस्थिति, पार्टी तथा देशको आवश्यकतालाई मध्यनजर राख्दै देउवाजीलाई साथ दिएँ । प्रस्तावकका रूपमा मैले हस्ताक्षर गर्दै गर्दा देउवाजीले दिनुभएको वचन भुलेको छैन । उहाँले १५औँ महाधिवेशनमा तपाईं हो गोपालमानजी भन्नुभएको थियो ।

देउवाको सबैभन्दा ठूलो गुण भनेको वचनको पक्का हो । उहाँले हतपत वचन दिँदै दिनुहुन्न, वचन दिएपछि कुनै पनि हालतमा पछि हट्नुहुन्न । सहयोगको बदला सहयोगद्वारा नै दिने देउवाजीको चरित्र हो ।

देउवाजीले वचन दिएका कारण मात्रै होइन, अब सभापति बन्ने पालो मेरै हो । तर लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टीमा अब मेरो पालो भन्नुको मात्रै कुनै अर्थ रहन्न । संगठन निर्माणमा काम गरेको अनुभव पनि हुनुपर्छ । चुनावी प्रतिस्पर्धामा उत्रिनै पर्ने हुन्छ । मैले नेपाली कांग्रेस (प्रजातान्त्रिक)मा रहँदा कार्यबहाक सभापतिका रूपमा करिव पाैने ३ वर्ष नेतृत्व गरे । संसद्वादी दल र माओवादीबीच भएको १२ बुँदे सहमतिको एक हस्ताक्षरकर्ता पनि हुँ । पार्टी एकीकरणपछि वरिष्ठ उपसभापतिको रूपमा काम गरेँ । अर्का उपसभापति रामचन्द्र पौडेलजीले भरपुर सहयोग गर्नुभयो ।

१३औँ महाधिवेशनपछि संगठन विभाग प्रमुखका हैसियतले देशैभरमा संगठन बिस्तारको काम गरेँ । अब पनि म सभापतिमा उठिनँ भने राजनीतिमा पछि पर्छु । तर एक्लै उठेर हुन्न टिममा सल्लाह गर्नुपर्छ । हाम्रो टिम लिडर देउवा हो । अब उहाँ उम्मेदवार बन्नु हुन्न । स्वभाविक रूपमा म नै सभापति उठ्ने हो । देउवालाई अप्ठेरो पर्दा मैले गुन लगाएको छु । म भुइँदेखि दुःख गरेर आएको नेता हुँ । यति मात्रै हो म नेता पुत्र भइनँ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेतासँग काम गरेकोले सबैलाई मिलाएर लैजान सक्ने आँट ममा छ ।

यति मात्र होइन मैले पार्टीमा समावेशिता भित्र्याएको हुँ । कर्णाली, दलित, महिला र जनजातिलाई ११औँ महाधिवेशनदेखि नै स्थान दिइएको हो । त्यतिबेला देउवाजीलाई धर्मसंकट पर्दा मैले नै सफल बनाएको हुँ । मैले नै उहाँलाई सर्वसम्मत सभापति बनाएको थिएँ । त्यसबेला साथीहरूले सभापति लड् भनेका थिए तर मैले देउवालाई नै सहयाेग गरेको थिएँ ।

देउवाजीलाई मात्रै होइन मैले धेरैलाई गुण लगाएको छु । यसपटक म सभापतिमा उम्मेदवार बन्दा इतर पक्षका पनि धेरै नेताहरूले साथ सहयोग दिने अवस्था छ । संस्थापन पक्ष पनि एक ढिक्का हुने अवस्था छ । आफू कसको कारणले नवलपुर पुगेर स्थापित भएँ ? भन्ने कुरा शशांकजीले पनि भुल्नु भएको छैन । त्यो गुण तिर्न उहाँ पनि इच्छुक हुनुहुन्छ । बालकृष्ण खाण यतिबेला देउवाजीसँग मात्रै होइन हाम्रो टिमका धेरै साथीहरू सँग बिच्किनु भएको छ, तर म अघि सर्दा उहाँ हाम्रो टिमबाट बाहिर जानु हुन्न । उहाँलाई १ वर्ष अघि जेल हालिँदा म १७ पटक भेट्न पुगेको छु । त्यसो त गणेशमानजीको वचन संझेर पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि मलाई साथ दिनु हुने छ । महेन्द्रनारायण निधिसँग त मैले सँगै बसेर धेरै काम गरेको छु । बिमलेन्द्र निधिजीले जहिले पनि मलाई साथ दिनुको एउटा कारण उहाँको पिताजीको सहयोगीका नाताले पनि होे ।

प्रतिक्रिया