आजभन्दा पच्चीस सय वर्षअघि सिद्धार्थ गौतमले तत्काल प्रचलित ध्यान साधनाबाट सन्तुष्टि नमिलेपछि आफ्नै शरीरमा लामो अभ्यास गरी विपश्यना ध्यान र शील समाधी प्रज्ञा बोध गर्दै चित्त निर्मल पार्दै वुद्धत्व प्राप्त गरे ।
मानिसको चेतनासँग जोडिइरहने मनको गहिरो आयामलाई चित्त भनिन्छ । सुख, दुःख लाभ, हानि, क्रोध र मोह चित्तले उत्पन्न गर्छ । चित्तको स्वरूप विभु हो, जो सबै ठाउँमा रहन सक्छ । तर चित्तको स्वभाव कहीँ पनि स्थिर नहुने चञ्चल हुन्छ । चित्त चेतनाको चार भागमा रहेको हुन्छ । पहिलो भाग हो विज्ञान, जसको अर्थ हुन्छ जान्नु । दोस्रो भाग हो संज्ञा, जसले पहिचान गर्ने चिन्ने बुझ्ने काम गर्छ । वेदना अर्थात संवेदना चित्तको तेस्रो भाग हो । संस्कार चित्तको चौथो भाग हो, जुन संवेदनामा हुने प्रतिकृया हो । संवेदना सुखद् र दुःखद् दुई प्रकारको हुन्छ । सुखद् संवेदना प्रिय लाग्छ र राग जाग्दछ । दुःखद् संवेदना आयो कि अप्रिय लागेर द्वेष जगाउँछ । मनको काल्पनिकताले मोह जगाइदिन्छ । संवेदना र कल्पनाका कारणले चित्तमा राग, द्वेष र मोहको प्रतिकृया भइरहन्छ । यिनै राग, द्वेष र मोहले चित्तलाई विकृत बनाइदिन्छन् ।
राग, द्वेष र मोहजस्ता विकारबाट चित्तलाई रहित बनाए निर्मल र शुद्ध हुन्छ चित्त । शुद्ध र निर्मल चित्तले वुद्ध बन्छ मानिस । किनभने वुद्ध व्यक्ति होइन व्यक्तित्व हो । जसले आफुभित्र भएको अपार शान्ति र करुणाभाव भेटेर शान्त र आनन्दित हुँदै अरूले पनि शान्ति र आनन्द भेटुन् भन्दै भेट्ने प्रेरणा, ज्ञान र विधि दिएर सबैको कल्याणको मार्ग प्रशस्त गर्दछ । आजभन्दा पच्चीस सय वर्षअघि सिद्धार्थ गौतमले तत्काल प्रचलित ध्यान साधनाबाट सन्तुष्टि नमिलेपछि आफ्नै शरीरमा लामो अभ्यास गरी विपश्यना ध्यान र शील समाधी प्रज्ञा बोध गर्दै चित्त निर्मल पार्दै वुद्धत्व प्राप्त गरे ।
बीचमा लोप हुँदै गएको यो ध्यान र ज्ञानले वर्तमान विज्ञान प्रविधिको युगले भौतिक उन्नतिसँगै निम्त्याएको उपचार दिन असमर्थ रहेको मानसिक समस्याको उपचार दिएकाले विपश्यना ध्यान साधना दिनप्रतिदिन फैलिँदै गएको छ । पढे सुनेर चिन्तन मनन गर्दैमा चित्त निर्मल हुँदैन, अभ्यास नै गर्नुपर्छ । पंक्तिकारले स्वयं विपश्यनाचार्य सत्यनारायण गोयन्काले भिडियोद्वारा निर्देशित १० दिने विपश्यना अभ्यास गर्दा चित्त निर्मलीकरण आरम्भ भएको अनुभव र अनुभूति गरेको छ । यो अनुभूति अरूका लागि प्रेरणा बन्ला भन्ने सदासयताले विपश्यना ध्यान र शील समाधी र प्रज्ञाको चर्चा गर्ने प्रयास गरिएको हो ।
सुख शान्तिको जीवन जिउन सबै चाहान्छन् । जीवनमा आउने उतारचढावले चाहना पूरा हुन पाउँदैन । प्रकृतिले कहिले शिशिर र कहिले बसन्त ऋतु ल्याए झैँ जीवनमा सुख दुःख आइरहन्छ । किनकी क्षणप्रतिक्षण संसारमा केही न केही बदलिरहेको छ । यो बदलावका अनेक कारण छन् । एक कारणले कुनै कुरा सम्पन्न हुन्छ, फेरि त्यो सम्पन्नता अर्को कार्यको कारण बन्न जान्छ । यो कार्य अविरल गतिले चलिरहन्छ । यिनै कारणले मानिसको चित्तमा राग, द्वेष र मोह जगाइदिन्छ । राग द्वेष र मोहको दागले चित्त अशुद्ध हुन्छ । चित्त मैलिन्छ । विपश्यना अभ्यासले यो कारणको निवारण गर्छ । अशुद्ध चित्त शुद्ध पार्दै निर्मल राख्छ ।
चित्त निर्मल पार्ने काम कुनै चमत्कार होइन, केबल आफूभित्र शरीर एवं चित्तको पारस्परिक संस्पर्शलाई ठिक तरहले जान्नुको परिणाम हो । जीवनमा गर्न नचाहेको कुरा गर्नुपर्ने र चाहेको कुरा पूरा हुन नपाउने अवस्था र परिस्थिति सिर्जना हुन्छन् । यिनै अवस्था र परिस्थितिलाई जीवनको उतारचढाव भनिन्छ । चाहेको कुरा पूरा हुन नदिने व्यक्ति, अवस्था र परिस्थितिका कारण मानिस भित्रभित्रै छट्पटिन्छ । छटपटाहटले निराशा, क्रोध र घृणा जगाएर मानिस ब्याकुल बन्छ ।
जबसम्म मानिसको मनमा क्रोध र घृणा रहन्छ तबसम्म अशान्त हुन्छ मन । मानिसको हृदय मैत्री र करुणामय भए मात्र मन शान्त हुन्छ । शान्त मनले चित्त शुद्ध र निर्मल बनाउँछ । श्मशानघाटमा मृत शरीरको सद्गत गर्दाका अवस्था मलामीको हृदय करुणा र मैत्री भावले भरिएको हुन्छ । मानव शरीर नश्वर र क्षणभंगुर छ भन्ने सत्यको साक्षात्कारले मलामीको हृदयमा मैत्री र करुणाभाव जगाएको हो । थुप्रै सत्यको साक्षात्कार विपश्यना ध्यानको अभ्यासका क्रममा गराइन्छ ।
विपश्यना अभ्यास गराउने आचार्य सत्यनारायण गोयन्काले जंगली हात्तीको बिम्बमा प्रस्तुत गर्ने गर्नुहुन्छ मनलाई । अनुभवी व्यक्तिले धैर्यतापूर्वक बिस्तारै बिस्तारै जंगली हात्तीलाई पाल्तुमा परिणत गरेर मानिसको सेवक बनाए झैँ विपश्यना अभ्यासको १० दिने शिविरले चित्तलाई क्रमशः निर्मल बनाउँदै शान्तितिर मन मोडिदिन्छ ।
विपश्यना ध्यान साधकलाई कापी, कलम र मोबाइल लगायतका डिभाइसरहित बनाएर मात्र शिविरमा प्रवेश गराइन्छ । हरेकलाई अलग अलग बसोबास र उचित भोजनको निःशुल्क प्रबन्ध हुन्छ । आर्य मौन (मन, वाणी र शारीरिक ईसारा गर्न नपाइने) पूर्ण पालना गराइन्छ । यी कुराले पाँच शील (प्राणी हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नmु झुटो कुरा नगर्नु र नशालु पदार्थ सेवन नगर्नु) पालना गर्ने अवसर दिएर सुरुआती चरणबाटै चित्तलाई अन्तर्मुखी हुन प्रेरित गरिन्छ ।
साधनाको पहिलो दोस्रो र तेस्रो दिन ढाड, गर्धन र शिरको भाग सिधा पार्दै पलेटी कसेर बसाली उपल्लो ओठको जुँगा आउने भागदेखि नाकको त्रिकोणात्मक एरियामा मात्र चित्तलाई टिकाउँदै आइरहेको र गइरहेको सास नाकको कुन प्वालबाट के कस्तो प्रभाव पारेर आए–गएको छ भन्ने थाहा पाउन अह्राइन्छ । ३ दिन सम्मको यो आनापाना अभ्यासले ओठको माथिल्लो भागको सानो एरियामा उत्पन्न हुने संवेदना महसुस गर्न सक्ने क्षमताको विकास हुन्छ । चौथो दिनबाट शिखा राखिने शीरको केन्द्रभागमा उत्पन्न हुने संवेदना थाहा पाउन लगाएर क्रमशः पाउसम्मका र पाउदेखि शिर सम्मका सबै अंगमा संवेदना उत्पन्न भएको र आफँै बिलाउँदै गएको निरीक्षण गराइन्छ ।
यसक्रममा हलचल नगरी घन्टौँसम्म पलेटी कसेर बस्दा उत्पन्न हुने सुखद तथा असैह्य पीडादायी दुःखद् दुबैखाले संवेदनाप्रति समता र साक्षी भावले हेर्न लगाइन्छ । विपश्यना अभ्यासको सिलसिलामा शरीरको सबै अंगमा सूक्ष्म संवेदना उत्पन्न भएको अवस्थामा दुई–तीनपटक शिरदेखि पाउ र पाउदेखि शिरसम्म धाराप्रवाहमा संवेदना महसुस गर्न लगाई यन्त्रवत नहोस् भनी पुनः हरेक अंगअंगको संवेदनामा मन पुर्याउन भनिन्छ । शरीरको कुनै एक अंगमा स्थूल संवेदना उत्पन्न भएको छ भने धाराप्रवाहमा संवेदना महसुस हुन सक्दैन र गर्न पनि नहुने बताइन्छ ।
कतै स्थूल संवेदना छ भने एक–एक अंगको संवेदना महसुस गराउँदै संवेदनाप्रति भोक्ता र कर्ताको भाव नराखी समता र साक्षी भावले संवेदनाको उत्पत्ती र विलय भएको सत्यको प्रत्यक्ष दर्शन र स्वअनुभूति गराइन्छ । विपश्यना अभ्यासमा शान्त, सजग र समता भरिएको चित्त द्वारा शरीरका सबै अंग र भाग निरीक्षण गर्न लगाई सम्यक समाधीमा राखिन्छ । सम्यक समाधीले मानिसको जीवनमा घटित हुने धेरै सच्चाइहरूको साक्षात दर्शन गराउँछ ।
व्यवहारमा तत्काल हुने प्रत्यक्ष स्वअनुभूति नै भावनामय प्रज्ञा हो । भावनामय प्रज्ञाले मन चित्तको अपरेसन गरि सूक्ष्म र टुक्रा टुक्रा पारी धोइदिन्छ । यो धुवाइबाट चित्त बस्ने अन्तरमन र बाहिर चलखेल गर्ने उपरी मनबीचमा रहेको पर्खाल भत्काउँदै जन्मजन्मदेखि संग्रहित विकारयुक्त संस्कार (राग, द्वेष र मोहको जालो) सफा गरी चित्त निर्मल पारिदिन्छ । । सूक्ष्म मनले साक्षी र समता भावमा शरीरको सूक्ष्म संवेदना निरीक्षण गर्दा स्थित प्रज्ञ (दुःखबाट नआत्तिने सुखबाट नमात्तिई शान्त भावमा स्थित हुन सकिने अबस्था) भइने पहिलो सच्चाइको दर्शन हुन्छ ।
चित्त निर्मल बनाउनमा विपश्यना ध्यानको भूमिका बुझ्न रामायणमा राम लक्ष्मण बीचको एक संवाद प्रसंग सान्दर्भीक देखिन्छ । आफ्नो सेवा गरिरहेका भाइ लक्ष्मण सोचमग्न देखेर कुन सोचमा परेका छौ भनि रामले सोध्छन् । आफू सोचमा होइन द्विबिधामा परेको भन्दै लक्ष्मणले मन्त्री आर्य सुमन्तबाट हजुर भगवान् विष्णुको अवतार भाउजु सीता भगवती लक्ष्मीको अवतार रहेको र पिताजीलाई पछि हुने सबै घटनाको पूर्वजानकारी रहेको थाहा हुँदाहुँदै किन घटना हुन दिइयो भनेर द्विबिधामा परेँ भनी प्रश्न गरे ।
जवाफमा रामले भने, ‘मन सुख दुःख, पीडा प्रसन्नताको भावनाको वाहक हो । मायाले ती भावनामा रहेको मानवले कस्तो व्यवहार गर्छ भनी परीक्षा लिन्छ । योगको शक्तिले दिव्य दृष्टि प्राप्त गरी मानिस त्रिकालदर्शी हुन सक्ने हँुदा भविष्य जान्नु महत्वपूर्ण कुरो होइन । सुख दुःखको अवस्थामा मानिसले कस्तो व्यवहार गर्छ, हुने हुनामी भएरै छाड्छ, जसले पीडा प्रसन्नताको भावनात्मक चोट सहेर पनि आफ्नो धर्म र कर्तव्य पथमा स्थिर रहन सक्छ त्यो हो सबैभन्दा महत्वपूर्ण कुरा हो ।’
यसरी पिताजी दशरथ आफ्नो धर्म र कर्तव्यमा अडिएर जानाजान मृत्युवरण गरेको रहस्य खोल्दै रामले वर्तमानमा अडिनु सबैकुराको समाधान हो भन्ने ज्ञान दिए भाइलाई । त्यसरी नै विपश्यना अभ्यासमा शरीरमा उत्पन्न संवेदनाप्रति साक्षी र समता भावमा निरीक्षण गर्न लगाएर वर्तमानमा अड्याइन्छ । किनकी हरेक घटना हुँदाको अवस्था त्यतिबेलाको वर्तमान हो र सोही वर्तमानमा सोही घटना भएको ठाउँमा रहेर देखेको ब्यक्ति मात्र साक्षी हो ।
अभ्यासको क्रममा सास र संवेदना निरीक्षणमा लगाएको मन चित्त अन्तै भागेकोमा खिन्नता नगरी स्वीकारेर अघि बढाइन्छ । किनकी मन चित्त भड्किनु त्यतिबेलाको सच्चाइ हो र त्यसको दर्शन गराइन्छ । जीवनमा हुने हरेक घटना स्वीकारेर सामना गर्न सिकाउँदै घटनाप्रति सुखद वा दुःखद् प्रतिकृया गरेर घटनामै अड्किएर राग, द्वेष र मोहको गाँठा बाँधिन दिँदो रहेनछ विपश्यना अभ्यासले । विपश्यनाले बाँधिएका पुराना गाँठा खोलिदिएर जीवन फूलको थुंगा जस्तो भएको स्वअनुभूति दिलाउँदो रहेछ । शीलका लागि सदाचार, सम्यक समाधीका लागि शील र भावनामय प्रज्ञाको लागि सम्यक समाधी आवश्यक पर्ने तथ्य व्यावहारिक ढंगले स्वअनुभूति गराउने र शील समाधी र प्रज्ञा नै सच्चा धर्म रहेको प्रत्यक्ष बोध गराउँदो रहेछ विपश्यना ध्यानको १० दिने कोर्सले ।
कुनै धार्मिक संप्रदाय र दार्शनिक मान्यताको विरोध वा समर्थन नगरी शील समाधी र प्रज्ञा नै सच्चा धर्म हो जुन दैनिक जीवनमा कल्याणकारी सिद्ध हुन्छ भन्ने व्यावहारिक रूपमा पुष्टि गरिदिन्छ । एक भिक्षु जीवनशैलीमा अन्तरमुखी बनाएर नयाँ साधकलाई निःशुल्क र पुराना साधकको स्वेच्छिक दानबाट मात्र सञ्चालन गरी ध्यानलाई धन्दा बनाउन र बन्न नदिने पद्धति स्थापित गरी स्वच्छता प्रदर्शित गरिँदै आइएको परम्पराले चित्त निर्मल बनाउन बल पुर्याएको अनुभूति भयो ।
अहिले हाम्रो देश हाँक्ने सबैजसोको मन चित्त राग, द्वेष र मोहले अशुद्ध पारेको तथ्य देशको अधोगतिले उजागर गरेको छ । विपश्यना ध्यान साधना अभियानको रूपमा देशैभरी फैलाएर सबैको चित्त निर्मल पारी सबैले सबैप्रति मैत्री र करुणाभाव राख्दै सदाचारी बन्ने अवसर सृजना गरी नेपाल र नेपालीको उत्थान गर्न ढिलाइ नगरौँ ।
प्रतिक्रिया