साफ च्याम्पियनसिप जित्ने नेपाली प्रशिक्षकको लक्ष्य

काठमाडौँ । नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले टिमलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताएका छन् । सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले ललितपुरमा गरेको अन्तक्र्रियामा उनले नेपाललाई एसियन कपमा छनोटदेखि साफ च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

नेपालमा फुटबलको प्यासन धेरै देखिएको भन्दै उनले फुटबल खेलको विकासका लागि आफूले आवश्यक भूमिका खेल्ने बताए । स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्न कठिन नभएको उनले बताए ।

उनले नेपाली टिममा केही सुधारको आवश्यकता देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलसहित मैदान उत्रिन जरुरी हुने बताए । आफ्नो कार्यकालमा दबाबमुक्त भएर टिमको विकासमा लाग्ने उनले जानकारी दिए । म्याट रोससँग नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा १ वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोसलाई चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसँगै नेपाली टिमलाई बलियो बनाएर अघि बढाउने विश्वास उनले व्यक्त गरे ।

म्याट रोस डेढ महिनादेखि काठमाडौँमा रहेर नेपाली फुटबललाई नियालिरहेका थिए । उनले २१ मार्चमा सिंगापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकाको सुरुआत गर्नेछन् । त्यस्तै नेपालले २५ मार्चमा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्दै छ ।

प्रतिक्रिया