फुटाउ र राज गर

सन् १८५८ मा अयोध्याको राम मन्दिरको लागि आन्दोलन गर्ने सबैभन्दा पहिला शिखहरू नै थिए । इतिहासमा गएर हेर्ने हो भने शिख धर्म हिन्दूभन्दा अलग्गै धर्म थिएन एउटा पन्थजस्तो मात्रै थियो, त्यो पनि इस्लामी आक्रमणकारीको प्रकोप बढ्दै गएपछि हिन्दू धर्म रक्षार्थ खडा गरेको एउटा सैन्य बटालिनजस्तो थियो ।

मोहन लामा रुम्बा

सन् १८५७ मा भएको सिपाही विद्रोहपछि अंग्रेजले आफ्नो उपनिवेशलाई दीर्घकालसम्म कायम गरिराख्न ‘फुटाउ र राज गर’ भन्ने रणनीति लिए । त्यसपछिका दिनदेखि सुरु भएको हो, भारतमा धार्मिक सामाजिक विभाजनको शृंखला । सबैभन्दा पहिलो तारो हिन्दू बन्न पुगे । त्यसको कथाव्यथा अनगिन्ती छ । त्यतातिर नलागी झन्डै झन्डै एक–डेढ करोड शिख धर्म रहेकोे भारतमा हिन्दूबाट कसरी अलग्याएर अलग्गै एउटा धर्म बनाएर अंग्रेज गएको थियो भनेर सर्सर्ती एकपटक हेरौँ ।

सन् १८८२ मा म्याक्स अर्थर म्याक्लिफ नाम गरेका एक अंग्रेज अफिसर डेपुटी गभर्नर नियुक्त भएर पञ्जाबमा आए । सबैभन्दा पहिला शिख धर्मको अध्ययन गरेर शिख धर्मको गुरु ग्रन्थलाई अंग्रेजीमा अनुवाद गर्ने पहिलो व्यक्ति यिनै बने । ‘शिख धर्म हिन्दू होइन’ भनेर पुस्तक लेखेर पश्चिमी समाजमा प्रचारप्रसार गरे । अंग्रेज सरकारमाथि शिख धर्मलाई हिन्दूबाट अलग्याउन दबाब दिने काम आरम्भ गरे ।

म्याक्स अर्थर म्याक्लि हिन्दू धर्मलाई कतिसम्म घृणा गरेर लेख्थे भने, ‘हिन्दू धर्म अजिंगर जस्तो हो, यो आफ्नो प्रतिद्वन्द्वीलाई चारैतिर घुमेर त्यसलाई बेर्छ र बिस्तारै त्यसलाई पुरै निल्छ, हिन्दू धर्म त्यस्तै छ र अहिले शिख धर्मलाई बेरेर राखेको छ, यो नयाँ शिख धर्म अहिले आफ्नो अस्तित्वका लागि संघर्षरत छ । यदि शिख धर्मले राज्यसत्ताबाट समर्थन सहयोग गरेन भने यो धर्म पुरै नष्ट भएर जानेछ ।’

म्याक्स अर्थर म्याक्लिफले शिख धर्मलाई हिन्दूबाट अलग्याउन त्यतिबेलाका पढेलेखेका हुनेखाने पञ्जाबी शिखहरूलाई प्रलोभनमा पारेर आफ्नो अभियानमा जोडे । त्यसै मध्येका भाइ कानसिंह नाभा नाम गरेका १ जना व्यक्ति थिए र तिनलाई प्रयोग गरेर सन् १८९८ मा पञ्जाबी भाषामा ‘असीं हिंदू नइं’ अर्थात ‘हामी हिन्दू होइन’ शीर्षकमा पुस्तक लेखाए । जसरी नेपालमा बहुदलीय व्यवस्था आएपछि आइएनजीओद्वारा वामपन्थी कार्यकर्ताहरूलाई प्रयोग गरेर यो चाडपर्व हिन्दूको हो हामी हिन्दू होइन भन्ने अभियान चलाउनेदेखि पूर्वी नेपालबाट ‘हामी हिन्दू होइन मंगोल हौँ’ भन्दै गोपाल गुरुङलाई प्रयोग गरेको जस्तै त्यहाँ कानसिंह नाभालाई प्रयोग गरेर हिन्दूप्रति घृणा जगाउँदै ‘हामी हिन्दू होइन’ भन्ने पुस्तक लेखाए । उक्त पुस्तकलाई अंग्रेज सरकारले सर्वसाधारणसम्म हातहातमा पुर्याउने तारताम्य मिलाउने काम गर्यो ।

म्याक्लिले आफूले इसाई धर्म छोडेर शिख धर्म अंगालेको भनेर विश्वास दिलाएर काम गरे । ठिक यही काम सन् १८९० मा श्रीलंकामा तामिल हिन्दूसँग बौद्धलाई अलग्याएर २ समुदाय बीचमा घृणा उत्पन्न गर्न कर्नेल हेनरी स्टिल अलकटले गरेका थिए । उनले पनि मैले इसाइ धर्म त्यागेर बौद्ध धर्म अँगालेको अभिनय गरे । उनले अब बौद्ध धर्मलाई शुद्धता बनाउन पर्छ भन्दै हजारौँ वर्ष देखिन तामिल र सिंहलीले संयुक्तरूपमा मान्दै आइरहेको स्थानीय साझा चाडपर्वहरू जस्तैः पोंगल पर्व, कन्दन पूजा, कोहम्बा कंकारिया पर्वजस्ता चाडपर्वहरू बौद्ध ग्रन्थमा नभएको भन्दै बहिष्कार गराउन लगाए ।

म्याक्लिफले पनि पञ्जाबमा बसेर शिख धर्मलाई सनातन हिन्दूबाट अलग्याउन शिख धर्मको पूजा पद्धतिको नियमसमेत नयाँ रूपरेखा कोरेर खालसा पूजा यसरी गर्नुपर्छ, सेनामा भर्ती भएको शिखले सपथ यसरी खानपर्छ भन्दै ससाना सांस्कृतिक आयामहरू पनि लेखेर नयाँ संस्कारको विकास गरे । शिख धर्मलाई शुद्धता गर्ने भन्दै शिख अगुवाहरूलाई अगाडि सारेर सामाजिक आन्दोलन सुरु हुन थाले । आन्दोलनको पर्दा पछाडि त अंग्रेज छँदै थिए । यसरी शिख धर्मभित्र ‘खालसा’ सम्प्रदायलाई स्थापित गराउन अकाली आन्दोलन (सन् १९२०–१९४७), गुरुद्वारा सुधार आन्दोलन (१९२५) लामो समयसम्म चलाइयो ।

यो आन्दोलनले पन्जाबमा रहेकोे गुरुद्वारा (मन्दिर) ‘खालसा’ सम्प्रदायको नियन्त्रणमा पुग्यो । शिख धर्मभित्र रहेकोे अन्य सम्प्रदायहरू जस्तैः उदासी सम्प्रदाय, निर्मला सम्प्रदाय, सेवा पन्थी सम्प्रदायहरू बिस्तारै शिख धर्मको मूल प्रवाहबाट बाहिरियो अथवा धक्का दिएर निकालियो । यी सम्प्रदायहरू खालसा सम्प्रदायभन्दा पनि अघि देखिका पुराना सम्प्रदाय थिए । उदाहरणका लागि उदासी सम्प्रदाय, शिख धर्मका संस्थापक गुरु नानकका पुत्र श्री चन्द (सन् १४९४–१६४३) द्वारा स्थापना गरिएको थियो । निर्मला सम्प्रदाय गुरु गोविन्द सिंहकै शिष्यहरूद्वारा स्थापना गरिएको थियो त्यस्तै अर्को सेवापन्थी सम्प्रदाय गुरु तेग बहादुरको शिष्य भाई कन्हैयाले आरम्भ गरेका थिए ।

शिख धर्मलाई शुद्धीकरण गर्ने नाममा यी सबै सम्प्रदायहरूलाई हिन्दूवादी भएको हिन्दू ग्रन्थ वेद उपनिषद् पाठ गर्ने भन्दै जबर्जस्ती हटाएर खालसा सम्प्रदायलाई स्थापित गरियो । अचम्म त के भने त्यही खालसा सम्प्रदाय शिख गुरु गोविन्द सिंहले सन् १६९९ मा स्थापना गरेका हुन् । गुरु गोविन्द सिंह नै एक हिन्दू योद्धा थिए । इस्लामिक अतिक्रमणबाट हिन्दू धर्म जोगाउन भनेर सशस्त्र सैन्य अवधारणा विकास गर्ने उनी नै थिए । गुरु गोबिन्द सिंहले शिख धर्म ‘गुरु ग्रंथ साहिब’ लाई पूर्णता दिएका थिए । उनले लेखेको अर्को एउटा आत्मकथा छ । जसको नाम हो, ‘बचित्तर नाटक ।’


सन् १८७१ को पहिलो आधिकारिक जनगणना सम्ममा शिख धर्मलाई अलग्गै गणना गरिएको थिएन, हिन्दू धर्मसँग जोडेर गणना गरिएको थियो । उपनिवेशवादी अंग्रेजहरूले भारतमा फुटाउ र राज गर भन्ने रणनीतिक परियोजना चलाएपछि सन् १९०६ मा आएर शिख धर्मलाई अलग्गै धर्मको रूपमा अंग्रेज सरकारले दर्ता गरेर भारतमा एउटा अलग्गै धर्म जन्माए ।

सन् १८५८ मा अयोध्याको राम मन्दिरको लागि आन्दोलन गर्ने सबैभन्दा पहिला शिखहरू नै थिए । इतिहासमा गएर हेर्ने हो भने शिख धर्म हिन्दूभन्दा अलग्गै धर्म थिएन एउटा पन्थजस्तो मात्रै थियो, त्यो पनि इस्लामी आक्रमणकारीको प्रकोप बढ्दै गएपछि हिन्दू धर्म रक्षार्थ खडा गरेको एउटा सैन्य बटालिनजस्तो थियो ।

इस्लामी अतिक्रमणकारी मुगलको बारम्बारको आक्रमणदेखि अहमद शाह अब्दालीको आक्रमण भइरहने भएकोले शिख बन्न प्रत्येक हिन्दू परिवारले आफ्नो माइलो छोरालाई शिख धर्ममा दीक्षित गरेर गुरु गोविन्द सिंहको खालसा सेनामा पठाउने परम्परा नै रहेकोे थियो । यसरी एउटै धर्म भित्रको फरक सम्प्रदायलाई अलग्गै धर्मको रूपमा उभ्याएर २ वटा धर्म बनाएर अन्ततः त्यही धर्म–धर्म बीचमा अन्तरविरोध बनाएर लडाइँ गराउने काम पञ्जाबमा अंग्रेजले सुरुआत गरेको थियो ।

जसको परिणामस्वरूप पञ्जाबमा सन् १९४७ मा भारत–पाकिस्तान विभाजनको क्रममा पञ्जाब क्षेत्रमा व्यापक सांप्रदायिक हिंसा भएको थियो, त्यतिबेला करिब ५० हजारदेखि २ लाख शिखहरू मारिएको अनुमान गरिएको थियो । लाखौँको संख्यामा शरणार्थी र हजारौँ गुरुद्वाराहरू ध्वस्त भएको थियो भने सन् १९८४ देखि १९९५ सम्म उग्रवादी खालिस्तान हिंसामा २५ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

हाँसोलाग्दो त के भने हिन्दू देवीदेवताको उपसना आउने कुनै पनि शिख ग्रन्थलाई अस्वीकार गर्ने र हिन्दूसँग नजोडिने मात्रै पाठ गर्ने भनेर खालसा कमिटीले निर्णय नै गरेको छ, यहीँबाट बुझौँ नियत के हो भनेर धेरै लामो किन लेखुँ ? हाम्रै नेपालमा बौद्ध ग्रन्थमा आउने हिन्दू देवीदेवताको उच्चारण हुने पाठ्यसामग्री त लुकाउन थालिसकेको छ पञ्जाबको के कुरा गरिराख्नु होइन र ?

काठमाडौँमा शिख धर्मको उदासी सम्प्रदायको एउटा मठ छ, यो सम्प्रदाय गुरु नानकका जेठा छोरा श्रीचन्द (१४९४–१६४३) ले स्थापना गरेको सम्प्रदाय हो । उदासीहरू योग, तपस्या, र वेद–पुराणका शिक्षाहरूलाई मान्ने भएकोले तथाकथित शिख धर्म शुद्ध आन्दोलनले यिनीहरूलाई बहिष्करणमा (लखेटिएका) सम्प्रदाय हो । अहिले कुंभ स्नानमा जाने शिखहरू यही लखेटिएका उदासी सम्प्रदाय निर्मला सम्प्रदायका शिखहरू हुन् । काठमाडाँैमा रहेकोे उदासी मठ विजोग अवस्थामा रहेछ, कोही कसैले मेयर बालेनलाई देखाउन लिएर गए हुने थियो ।

प्रतिक्रिया