राजा, राष्ट्रपति र प्रधानमन्त्री बनेका सिंहानुक

म उहाँलाई सल्लाह दिन चाहन्छु, ‘पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातन्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसदबाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस् ।’

बामदेव गौतम

कम्बोडियाका पूर्वराजा नरोद्दम सिंहानुकको निधन भएको पनि १२ वर्ष बितिसकेको छ । २०६९ असोज २९ गते ८९ वर्षको उमेरमा बेइजिङस्थित अस्पतालमा मृत्युवरण गरेका सिंहानुक सधँै चर्चाको शिखरमा छन् । अन्य देशमा भन्दा नेपालमा उनको चर्चा बढी हुने गर्छ । किनकी उनी कम्बोडियाका राजा थिए, अपदस्त गरिए, श्रीपेचबिना जनतासँग आन्दोलनमा समाहित भए, र पुनः जनताले सत्तारोहण गराएका थिए । कुनै बेला माओवादीका नेताहरूले कम्बोडियाका पूर्वराजा सिंहानुकको उदाहरण दिने गर्थे ।

विश्वमा कुनै बेला अधिकांश देशहरूमा राजतन्त्र थियो । विश्व इतिहास हेर्दा धेरैजसो देशहरू राजाद्वारा नै निर्माण गरिएको पाइन्छ । लोकतान्त्रिक परिपाटी तथा निर्वाचन प्रविधिको विकास नभइसकेको त्यो युगमा राजतन्त्र स्वभाविक थियो । कालान्तरमा शासन सत्ताको शैली परिवर्तन हुँदै गयो । राजाको ठाउँमा जननिर्वाचित व्यक्तिले शासन चलाउने परिपाटी पनि सुरु भयो । तर यो परिपाटी पनि विश्वका सबै देशमा समान रूपले अघि बढेको देखिँदैन । संबन्धित देशको भौगोलिक अवस्था, छिमेकीको प्रभाव, जनचेतना, राजाहरूको शैलीलगायत धेरै कुराले प्रभाव पारेको देखिन्छ ।

यो संसारमा सबै राष्ट्रका राजा र राजपरिवारका सदस्यहरूको एउटै पृष्ठभूमि छैन, व्यवहार पनि एउटै छैन । विश्वका कतिपय देश राजा फालिएर लोकतन्त्र स्थापना हुने तर लोकतन्त्रमा टेकेर तानाशाह जन्मने स्थितिमा पनि गुज्रे । ती देशमा जनताले फेरि राजसंस्था स्थापित गरेको इतहास पनि छ । प्रजातन्त्रको जननी भनिने बेलायतकै दृष्टान्त हेर्दा पनि हुन्छ । राजतन्त्रका सन्दर्भमा कम्बोडियाको दृष्टान्त अरूभन्दा फरक र निकै रोचक देखिन्छ ।

कम्बोडियाका राजा नरोद्दम सिंहानुक जनताबीच अत्यन्त लोकप्रिय थिए । उनी माक्र्सवादी दर्शनका अध्यता थिए । तर कम्युनिस्ट थिएनन् । कम्युनिस्ट पार्टीसँग मिलेर साम्राज्यवादका विरुद्ध लडेर राष्ट्रको रक्षा गरे । यद्यपि पोलपोटको नेतृत्वमा त्यहाँको कम्युनिस्ट पार्टीले उग्र अराजकताको नीति अवलम्वन ग¥यो । जसका कारण सिंहानुकलाई वर्षाैँ निर्वासित हुनु पर्यो । तर पोलपोट शासन पनि टिक्न सकेन ।

जनताले पोलपोट शासनलाई विस्थापित गरी निर्वासित सिंहानुकलाई स्वदेश ल्याएर राजा बनाए । उनको मान्यता राजा बन्नु हुन्न भन्ने थियो । तर जनताको दबाब र राष्ट्रको आवश्यकता महसुस गरेर राजा बने । उनी प्रर्याप्त दृष्टिकोण भएका देशभक्त थिए । उनी असंलग्न आन्दोलनका संस्थापक नेता थिए । उनी नेपालका राजा महेन्द्रका मित्र पनि थिए । उनीहरूको भेट असंलग्न आन्दोलनको सम्मेलनमा भएको थियो । त्यो सम्मेलनका नेताहरू सबैले राजा महेन्द्रलाई असल मित्रका रूपमा बाँचुन्जेल संझना गरे । ती नेताहरूमध्ये अहिले सम्म १–२ जना मात्र बाँचेका होलान् ।

सिंहानुकका सन्दर्भमा एउटा पक्ष अत्यन्त रोचक र अद्भुत छ । त्यो हो उनी कहिले सक्रिय राजा, कहिले संवैधानिक राजा, कहिले कार्यकारी प्रधानमन्त्री, कहिले कार्यकारी राष्ट्रपति बने । एउटै व्यक्तिले यतिधेरै अवसर तथा अनुभवको मौका पाएको घटनालाई भुतो न भविष्यति भन्ने पनि गरिन्छ । राजा सिंहानुक एकपटक निर्वाचन जितेर प्रधानमन्त्री र चुनावबाट पटकपटक राष्ट्रपति पनि भए ।

८ दशकभन्दा बढी समयसम्म फ्रान्सको उपनिवेश बनेको कम्बोडिया कम्बोडियाली नागरिकको संघर्षपछि सन् १९५३ मा स्वतन्त्र भएको थियो । फ्रान्सेली उपनिवेश रहेकै बेला पनि सिंहानुक कम्बोडियाका राजा थिए । सिंहानुक सन् १९४१ देखि १९५५ पहिलोपटक राजा थिए । सिंहानुककै नेतृत्वमा चलेको राष्ट्रवादी आन्दोलनले नै कम्बोडिया फ्रान्सको उपनिवेशबाट मुक्त भयो । सिंहानुकले राजा भएकै बेला कम्युनिस्टहरूसँग मिलेर राष्ट्रवादी आन्दोलन चलाएकै कारण फ्रान्स आफूविरुद्ध आइलाग्ने देखेर थाइल्यान्डमा निर्वासित जीवन बिताएका थिए ।

कम्बोडिया स्वतन्त्र भएपछि मात्रै उनी स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि सन् १९५५ को संसदीय निर्वाचनमा सिंहानुकले भारी बहुमत ल्याई विजयी भए । र, प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उनी सन् १९६० मा भएको निर्वाचनबाट कम्बोडियाको राष्ट्रप्रमुख पदमा निर्वाचित भए । सत्ता आफ्नै हातमा आएपछि सन् १९६३ मा कम्बोडियाको संविधानलाई संशोधन गरी सिंहानुकले आफूलाई राष्ट्रप्रमुख घोषणा गरेका थिए ।

कम्बोडियालाई उपनिवेशबाट मुक्त गराएपछि सिंहानुक देशका सक्रिय राजा बनेका थिए । राष्ट्रप्रमुख पदमा निर्वाचित भएपछि सन् १९७० मा सिंहानुक विदेश भ्रमणमा रहेकाबेला प्रधानमन्त्री जनरल लोन नोलले अपदस्त गरिदिए । कम्बोडियाली प्रधानमन्त्री लोन नोलले शासन हत्याई आपतकालीन अधिकार आफ्नो हातमा लिएपछि सिंहानुकले नोलको शासन पतनका लागि पुनः चीन पुगेर क्याम्बोडियाको कम्युनिस्ट पार्टी (खमेर रुज)लाई सहयोग गरे ।

खमेर रुजसँग राजा सिंहानुक मिलेपछि उत्साहित कम्बोडियाले राज्यविरोधी विद्रोहमा सक्रिय सहभागिता जनाए । राजा सिंहानुकको सहयोगकै कारणले सन् १९७५ मा खमेर रुज सत्तामा पुगेको थियो । जतिबेला नयाँ सत्ताधारी खमेर रुजले सिंहानुकलाई कठपुतलीका रूपमा कम्बोडियाको आलंकारिक राष्ट्रप्रमुख बनाए । तत्पश्चात तत्कालीन कम्युनिस्ट नेता पोलपोटले मुलुकको मुख्य कार्यकारी अधिकार आफूले हातमा लिए । तर, सन् १९७६ मा खमेर रुजले सिंहानुकलाई अपदस्थ ग¥यो । त्यसपछि सिंहानुकले चीन र उत्तर कोरियामा शरण लिए ।

उनी केही वर्षदेखि चीनमा स्वनिर्वासनमा थिए । सन् १९७८ मा भियतनामले कम्बोडियामा आक्रमण गरी खमेर रुज शासन अन्त्य गरायो । तर, सन् १९८० र ९० को दशकमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नयाँ विदेश नीतिले कम्बोडियामा भियतनाम र सोभियत संघको प्रभाव कम गर्न चाहेको थियो । त्यसकै लागि अमेरिकाले सिंहानुक र उनको दस्तालाई आर्थिक तथा सैन्य सहयोग गरेको थियो । सन् १९९१ मा कम्बोडियाली राजनीतिका सरोकारवालाबीच बृहत् समझदारी बन्यो । उक्त बृहत् समझदारीबाट १३ वर्षे निर्वासित जीवन बिताएका सिंहानुक स्वदेश फर्किएका थिए । र, सन् १९९३ मा सिंहानुक पुनः क्याम्बोडियाको राजा भए । उनी सन् १९९३ देखि २००४ सम्म गरी दुईपटक कम्बोडियाका राजा बनेका थिए ।

सिंहानुक राजा भएकैबेला सन् २००४ मा स्वनिर्वासनमा उत्तर कोरिया र त्यसपछि चीन पुगेका थिए । कमजोर स्वास्थ्य कारण देखाउँदै सिंहानुकले राजमुकुट त्यागेपछि उनका छोरा नरोद्दम सिंहामुनी कम्बोडियाका राजा बनेका थिए । अहिले कम्बोडियामा सिंहानुकका एक छोरा संवैधानिक राजा अर्का छोरा संसद्बाट निर्वाचित प्रधानमन्त्री तथा अर्का छोरा सत्ताधारी कम्युनिस्ट पार्टीका अध्यक्ष छन् । त्यहाँ अहिले संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली छ । उत्पादन प्रणाली पुँजीवाद सहितको समाजवादी व्यवस्था छ । त्यहाँका अधिकांश जनता बुद्ध धर्मावलम्वी छन् । थोरै सनातन (हिन्दू) धर्मावलम्वी छन् ।

नेपाल पनि लामो समयसम्म राजतन्त्रात्मक शासन व्यवस्थामा गुज्रेका कारण कम्बोडियाको सन्दर्भ निस्कने गरेको हो । नेपाल अहिले सामन्ती राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको छ । समाप्त गरिएको राजतन्त्रको आधार देशभित्र सामन्त वर्ग दलाल र नोकरशाही पुँजीपतिवर्ग र देश बाहिर साम्राज्यवाद रहेका थिए । राजतन्त्र अन्त्य भए पनि त्यसका आधारहरू नेपालबाट समाप्त भएका छैनन् । यीनलाई पनि समाप्त नगरी राजतन्त्र अन्त्य भए पनि नयाँ नेपालको नयाँ युग यहाँ आउन सक्दैन । त्यही भएर मुलुकलाई अग्रगामी परिवर्तनतर्फ लैजानुपर्छ ।

यसैगरी पूर्वराजा शाहले फेरी राजगद्दी ताक्नुभन्दा सिंहानुकको जस्तो निर्वाचनमा जानु उचित हुन्छ । नेपाली जनताले जनआन्दोलनको बलमा राजा हटाएर बहुदलीय व्यवस्था ल्याएका हुन् । त्यसैले म उहाँलाई सल्लाह दिन चाहन्छु, ‘पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातन्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस् ।’

प्रतिक्रिया