पश्चिम एसियामा भीषण युद्ध हुने अड्कल

अहिलेलाई त सतहीरूपमा हेर्दा युद्धबिरामको अवस्था छ । तर, यसलाई युद्ध समाप्त भएको कसैले भन्न सक्दैन । त्यहीमाथि आफ्नो दोस्रो कार्यकालको आरम्भसँगै अझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको वयानले त शान्ति प्रकृयाका सबै सम्भावनाहरूमाथि नराम्रोसँग पानी खन्याइदिएको छ ।

लोकनारायण सुवेदी

२ वर्षअघि ७ अक्टोबरका दिन हमासका लडाकुहरूले इजरायलमाथि जोडदार हमला गर्न सफल भए । तर त्यसको अकल्पनीय मूल्य आज विश्व जनमतका विपरीत प्यालेस्टिनीहरूले चुकाइरहनुपरेको छ । यो मूल्य पीडदायक र बिर्सनै नसकिने छ । प्यालेस्टिनीहरूमाथि भएका जघन्य क्रूरता, अमानवीयता र बिध्वंशका तथ्य तथ्यांकहरू मात्र सर्सरी केलाउँदा पनि यो कुरा प्रष्ट हुन्छ ।

हमासको आक्रमणपछि भएको इजरायली दमनमा हजाराँै हजार प्यालेस्टिनीहरू हताहत भए । जसमध्ये ४० प्रतिशत त स–साना बालबालिकाहरू मात्रै छन् । यतिबेला ५ करोड टनभन्दा बढी भवन र बस्तीहरूको भग्नावशेषको गाजामा खात लागेको कुरा प्रकाशमा आएको छ । त्यसलाई पूर्णरूपले हटाउन पनि १५ वर्ष लाग्न सक्ने अनुमान गरिँदै छ । संयुक्त राष्ट्र संघको एउटा सर्वेक्षण प्रतिवेदनअनुसार मिश्र(इजिप्ट)को गिजास्थित विशाल पिरामिडको आकारभन्दा झण्डै १२ दोब्बर बढी भग्नावशेषको थुप्रो इजरायली बम वर्षाका कारण गाजामा जम्मा भइसकेको बताइएको छ ।

यस कारण पेलेस्टिनको पुनर्निर्माणमा वर्षौंवर्षको समय लाग्नसक्ने अनुमान पनि गरिएको छ । यस्तो दुर्दान्त स्थितिमा पालमुनि जन्मेका पेलेस्टिनीका तीन पुस्ताले लामो समयसम्म त्यसलाई आफ्नो स्थायी घर मानेर बस्नु सिवाय अरू उपाय छैन । त्यसमा पनि यसको पुननिर्माणका लागि अर्बौं डलरको आवश्यकता हुनेछ । यस्तो अनियन्त्रित क्षेत्रमा लगानी गर्नका लागि कुनै पनि अन्तर्राष्ट्रिय संस्थाहरू तयार हुने पनि छैनन् । जुन संस्थाहरूले २ दशकभन्दा पनि कम समयभित्र ५ वटा युद्ध त्यो क्षेत्रमा भएको अनुभव गरे । त्यसले स्थिति नराम्ररी खल्बलिएको छ ।

स्याटलाइट डाटाहरूको उपयोग गरेर संयुक्त राष्ट्र संघले गएका महिनाहरूमा अनुमान लगाइसकेको छ कि गाजापट्टीमा ७० प्रशिशत आवास र भवनहरूका संरचना तहसनहस भइसकेका छन् । त्यसमा २ लाख ४५ हजारभन्दा बढी आवासीय घरहरू सामेल छन् । बिश्व बैंकले त्यो युद्धका पहिला ४ महिनामा नै १८ दशमलव ५ अर्ब डलर बराबरको नोक्सानी भएको अनुमान लगाइसकेको थियो । जुन रकम २०२२ मा पश्चिम किनारा र गाजाको संयुक्त आर्थिक उत्पादनको झण्डै बराबरी हुन्छ । मूख्य मूख्य सडकहरू बम वर्षाले गहिरा गहिरा खाडलमा परिणत भइसकेका छन् । विद्युत् र पानी सञ्चालनका महत्वपूर्ण र आवश्यक संरचनाहरू पनि सबै तहसनहस भएर काम नलाग्ने बनिसकेका छन् । त्यस क्षेत्रका अधिकांश अस्पतलाहरू पनि सेवा प्रदान गर्न काम नलाग्ने र बस्न नसकिने अवस्थामा पुगेका छन् ।

संयुक्त राष्ट्र संघकै प्रतिवेदनअनुसार गाजामा ५० हजारभन्दा बढी मानिसहरू मारिइसकिएका छन् र त्यसमा ४४ प्रतिशत त बालबालिका मात्रै परेका छन् । जुन बालबालिकाहरू युद्धबाट बचेर जीवत रहेका छन् उनीहरूलाई पनि तनाव, अनिन्द्रा, अवसाद र डरले घर गरेको छ । त्यहाका ९६ प्रतिशत बालबच्चाहरू बाँच्न चाहँदैनन् । उनीहरू नजिकबाट आफ्नो मृत्युलाई देखिरहेका जस्ता छन् । त्यहाँका ४९ प्रतिशत बाल बच्चा ठान्दछन् कि उनीहरूको मृत्यु भइहालेको भए बरु राम्रो हुने थियो । निदरल्यान्डको एउटा संस्था ‘वार चाइल्ड एलायन्स’ले डरलाग्दो र हृदयविदारक तथ्यांकहरू संकलन गरेको छ । त्यसमा त्यस्ता प्यालिस्टिनी परिवारहरूलाई शामेल गरिएको छ, जसको एउटा बच्चा युद्धमा परेर अपांग भएको छ, या परिवारबाट छुटेर बेपत्ता हुन पुगेको छ ।

सर्वेक्षणमा सामेल गरिएका त्यस्ता बच्चाहरूमा ९२ प्रतिशत बा बच्चा युद्धको सत्य स्वीकार गर्न अझै तयार छैनन् । गाजाको सम्पूर्ण वातावरणमा युद्धका बम र बारुदहरूको गन्ध फैलिएको छ । दृष्य यस्तो बताइन्छ कि, ७९ प्रतिशत बालबच्चाहरू सपनामा पनि तर्सिने र शर्माउने गर्दछन् । ती मध्येका ७३ प्रतिशत अबोध बालबच्चाहरू यति दिक्क र चिडचिडहटमा परेका छन् कि उनीहरूको व्यवहार रिसाहा र क्रूरजस्तो बन्न पुगेको छ ।

त्यहाँको यस्तो भयावह, विदीर्ण र असैह्य वातावरण देखेर दुःखी बनेका पेलेस्टिनी प्रधानमन्त्री मोहम्मद सतायेहसमेत उनको पूरै सरकारले राजीनामा दिइसकेको छ । उता सैनिक अपरेसनमा सामेल भएका १ जना अमेरिकी वायु सैनिकद्वारा वासिंगटन डिसीमा इजरायली दूतावास बाहिर स्वयं आफूलाई आगो लगाउनाले पनि वातावरण अत्यन्तै गम्भीर हुन पुगेको देखिन्छ । संयुक्त राष्ट्र संघद्वारा युद्ध विरामको प्रस्ताव पनि पारित भइसकेको छ । जसको विश्वका १५८ राष्ट्रहरूले अनुमोदन गरिसकेका छन् । हुन त कतिपय अवसरमा संयुक्त राष्ट्र संघद्वारा युद्ध विरामका लागि कैयौँ यस्ता प्रस्तावहरू पारित भएका हुन्, तर सबै प्रयास असफल रहने गरेका छन् । यतिसम्म कि इजरायललाई ‘लिस्ट अफ सेम’ अर्थात ‘शर्मको सूची’पनि शामेल गरिसकेको छ, त्यसमा इजरायलमाथि बालबच्चाहरूका विरुद्ध गम्भीर अधिकार उल्लंघको आरोप छ, जसलाई लिएर सम्पूर्ण इजरायलमा रोष फैलिएको पनि बताइन्छ । अन्तर्राष्ट्रिय समुदायकाबीच यसबाट इजरायलको छबिमा अवश्य नराम्ररी आघात पुगेको छ ।

उता निरन्तर अमेरिकी सहयोग हुँदाहुँदै पनि इजरायलको अर्थव्यवस्था नराम्रोसँग धर्मराउन थालेको छ । बितेको महिनाको मात्र कुरा गर्ने हो भने पनि त्यहाँको जिडिपी शून्य दशमलव ७ प्रतिशतमा झरेको थियो । राजकोषीय घाटा पनि जिडिपीको ८ प्रतिशत जति पुगिसकेको बताइन्छ । इजरायलको ठूलो चिन्ताको कारण उसको व्यापारिक केन्द्र तेल अभिव र जेरुसलेमसम्म युद्धको पहुँच पनि छ । गएको जनवरीमा मात्र इजरायलको ऋण जिडिपीको ६२ प्रतिशत पुगेको थियो । जुन धेरैजसो धनाढ्य देशहरूको ओइसिडी क्बलको सरदरभन्दा कम छ । फिच र मुडिजजस्ता विश्वका चर्चित रेटिङ एजेन्सीहरूले यस वर्ष फेरि पनि इजरायलको रेटिङ घटाइसकेका छन् । अनि निकट भविष्यमा पनि त्यसैलाई दोहो¥याइने सम्भावना बनिरहेको छ ।

२ वर्ष पहिलाको हमासको निकै ठुलो आश्चर्यजनक हमलादेखि यता इजरायलले ८० हजार पेलेस्टिनी श्रमिकहरूको वर्कपर्मिट रद्द गरिदिएको छ र तिनको ठाउँमा अरू कसैलाई पनि राखेको छैन । त्यसबाट निर्माण उद्योगहरू ४० प्रतिशतभन्दा अझ तलको सानो स्थितिमा खुम्चिन पुगेका छन् ।

अहिलेलाई त सतहीरूपमा हेर्दा युद्ध बिरामको अवस्था छ । तर यसलाई युद्ध समाप्त भएको कसैले भन्न सक्दैन । त्यही माथि आफ्नो दोस्रो कार्यकालको आरम्भसँगै अझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको बयानले त शान्ति प्रकृयाका सबै सम्भावनाहरूमाथि नराम्रोसँग पानी खन्याइदिएको छ । आफ्नो कार्यकाल सुरु गरेपछिको पहिलो अतिथि इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूलाई बोलाएर पत्रकार सम्मेलनमा ट्रम्पले गाजाका बारेमा अभद्र टिप्पणी गरे । नेतान्याहूलाई समेत राखेर ट्रम्पले जे जस्तो बयान दिए त्यसले विश्वमै ठूलो तरंग पैदा गरेको छ । उनले सिधै भनेका छन् कि अमेरिकाले गाजापट्टीमा कब्जा गर्ने छ, त्यहाँ एउटा ‘रिसोर्ट सिट’अर्थात ‘रिभेरा’ बनाइनेछ । गाजामा रहने गरेका २३ लाख पेलेस्टिनीहरूलाई मिश्र(इजिप्ट) र जोर्डन जस्ता देशहरूमा धकेलिने छ ।

तर साऊदी अरब, मिश्र, जोर्डन, कतार र तुर्कीए जस्ता देशहरूले खुलेरै ट्रम्पको यो प्रस्तावको विरोध जनाएका छन् । अनि अमेरिकाका दर्जनौँ सांसदहरूले पनि ट्रम्पको त्यो प्रस्तावको विरोध गरेका छन् । ती सांसदहरूमा रिपब्लिकन र डेमोक्रेट दुबै पक्षका छन् । अनि नेतान्याहूको इजरायलमा पनि यो प्रस्तावको विरोध भइरहेको छ । यी सबै स्थिति र अन्य कतिपय कारणहरूले गर्दासमेत अझै पनि मध्यपश्चिम एसियामा शान्तिको साटो युद्ध भड्किने सम्भावना नै बढनसक्ने सुक्ष्म विश्लेषहरूको गम्भीर अनुमान छ ।

प्रतिक्रिया