पाथीभरा केबुलकार विवादको अन्तर्य

हरेक नेपाली जनतालाई आफ्नो देशको एक ठाउँबाट अर्को ठाउँ जाने तथा बसोबास गर्ने अधिकार छ । यो संविधानप्रदत्त मौलिक हक हो । घुम्न चाहने व्यक्तिले सडक यातायात प्रयोग गरोस् कि हवाइजहाज, हेलिकोप्टर अथवा केबुलकार– यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । केबुलकार निर्माण पाथीभरामा मात्रै हुन लागेको होइन, अन्य कैयौँ तीर्थस्थलहरूमा पनि केबुलकार सञ्चालनमा आइसकेका छन् ।

वोर्णबहादुर कार्की

तप्लेजुङमा रहेकी पाथीभरादेवी मन्दिर परिसरमा केबुलकार निर्माणको विषय अहिले चर्चाको उत्कर्षमा छ । यो विवाद समाधान गर्न वार्ताको माध्यम प्रयोग गर्नुपर्नेमा ओली सरकारले दमनको बाटो प्रयोग गरेको छ । धार्मिक आस्थासँग जोडिएको समस्यालाई गोली ठोकेर समाधान गर्छु भन्नु मुर्खता हो । यही मुर्खतापूर्ण काम ओली सरकारले गरिरहेको छ । पाथीभरा माता, जसलाई स्थानीय लिम्बूहरू ‘मुक्कुलुङ’ पनि भन्ने गर्छन् । उनीहरूमध्ये केहीले आफ्नो जाति विशेषकी देवीको स्थानलाई केबुलकार बनाएर अतिक्रमण गर्न खोजिएको भनेका छन् ।

केबुलकार बनाउनु उपयुक्त हो वा होइन ? भन्ने प्रश्नलाई लिएर उठेको विवाद बढ्दै जाँदा पाथीभरा कसको सम्पदा हो, कसको होइन ? भन्नेसम्मका विवाद उठाएर धमिलो पानीमा माछा मार्न खोज्नेहरू सलबलाउन थालेका छन् । यस कुरामा सरकार र सरोकारवाला दुवैपक्ष गम्भीर बन्नुपर्ने बेला आइसकेको छ ।

वास्तवमा देवीदेवता कुनै व्यक्तिविशेषका र जाति विशेषका पेवा हुँदैनन् । आस्था र विश्वास राख्ने सबैका साझा हुन्छन् । पाथीभराको सन्दर्भ पनि यही हो । त्यस क्षेत्रका स्थानीय जनताले मात्रै होइन देशभित्रका र बाहिरका धेरैले पाथीभरालाई मान्छन् । पाथीभरा दर्शन गर्न जाने घुइँचोले पनि यी देवी सबैकी साझा हुन् भन्ने कुरालाई पुष्टि गरेको छ । यसै सन्दर्भमा अर्को उदाहरण पनि दिन सकिन्छ । धरानमा बुढासुब्बाको मन्दिर छ । झट्ट नाम मात्रै हेर्दा यो मन्दिर लिम्बूको मात्रै हो कि भन्ने पनि लाग्न सक्छ । तर बुढा सुब्बा मन्दिरमा लिम्बू, किराँत मात्रै होइन हिन्दू, बौद्ध सबैको घुइँचो लाग्छ । बुढासुब्बा मन्दिर लिम्बू तथा किराँतको मात्रै हो, अन्यले पूजा गर्न पाइँदैन भनेर अहिलेसम्म कसैले भनेको छैन ।

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर पनि इतिहासको कुनै कालखण्डमा स्थानीय रैथानेहरूले निर्माण गरेका हुन् । पूजाआजाको चलन पनि उनीहरूले बसालेका हुन् । कालान्तरमा भगवान् शिवको पशुअवतारका रूपमा सबै हिन्दूहरूले उत्तिकै आस्था तथा विश्वास राख्न थाले । हिन्दूहरूले मात्रै होइन बौद्धमार्गी तथा किराँतहरूले समेत पशुपतिनाथलाई उत्तिकै श्रद्धाका साथ पूजा अर्चना गर्छन् । सबैको आस्था र विश्वासको मन्दिर बनेको छ पशुपति । प्रश्न कहीँ कतैबाट उठेको छैन ।

नेपाल परापूर्वकालदेखि नै विभिन्न जातजाति तथा सम्प्रदायी बसोबास गरेको साझा भूमि हो । साझा भूमि भएकै कारण यहाँका देवीदेवताका मठमन्दिर एवं पूजास्थलहरू पनि साझा छन् । कहीँ कहीँ त हिन्दू र मुस्लिमले मान्ने साझा तीर्थस्थल पनि छन् । एउटा उदाहरणका रूपमा बाँके जिल्लाको खजुरा क्षेत्रमा पर्ने मुस्बेटवा बाबाको मन्दिरलाई लिन सकिन्छ । यहाँ पूजा गर्न भारतको लखनउदेखीका हिन्दू र मुसलमानहरू एउटै गाडी रिजर्भ गरेर आउँछन् । गोरखाको मनकामना मन्दिरमा पनि हरेक दिन चुरा–पोते मुसलमान समुदायबाटै चढाउने प्रचलन छ । त्यसैले पाथीभरा मन्दिर कुन जाति तथा समुदायको हो ? भन्नुभन्दा पनि देशको साझा सम्पदा हो भन्नु उपयुक्त हुन्छ ।

केही अपवादलाई छाडेर नेपालका धार्मिक स्थलहरू कि त नदीहरूको संगम अर्थात् दोभान या त्रिवेणीमा छन्, कि त विकट पहाडका टुप्पोमा छन् । कोही हिमालको काखमा छन् । यातायात प्रविधिको विकास नहुँदा ती ठाउँमा पुग्न ज्यानको बाजी लगाउनु पथ्र्यो । बिस्तारै बिस्तारै नदीमा डुंगा चलाउन थालियो । पुलहरू बन्न थाले । दोभान तथा त्रिवेणीमा रहेका धार्मिक स्थलहरू सुगम बन्न थाले । ती क्षेत्रहरू धार्मिक सहरका रूपमा विकास हुन थाले । यसैगरी सडक यातायातको सुविधा पुगेपछि पहाडी क्षेत्रका धार्मिक स्थलहरूमा पनि श्रद्धालुहरूको भिड बढ्न थाल्यो । उदाहरणका लागि सडक यातायात नपुग्दाको हलेसी मन्दिर क्षेत्र र सडक यातायात पुगेपछिको हलेसी महादेव मन्दिर क्षेत्रलाई लिन सकिन्छ । चाहे गुल्मीको रेसुङ्गा होस्, चाहे प्युठानको स्वर्गद्वारी अथवा मुक्तिनाथधाम, गलेश्वर या रुरु क्षेत्र नै किन नहोस्, सडक यातायातको सुविधा पुगेपछि दर्शनार्थीहरूको संख्या सयौँ गुणा बढेको छ । दर्शनार्थीको संख्या बढेसँगै स्थानीयवासीको जनजीवन ह्वात्तै माथि उठेको छ ।

जहाँ सडक यातायत सम्भव छैन अथवा सडक निर्माण गर्दा पहिरो जाने वा जंगलको विनास हुने सम्भावना हुन्छ, त्यहाँ केबुलकार निर्माण गरेर सुगम बनाउने प्रयासहरू पछिल्ला दिनमा भएका छन् । यस्ता केबुलकारहरू धेरै ठाउँमा बनेका छन् । खासगरी श्रद्धालुहरूको ठुलो भिड लाग्ने ठाउँमा केबुलकार निर्माण गर्न निजी क्षेत्र पनि उत्साहित भएको देखिन्छ । पाथीभराको सन्दर्भमा सडकभन्दा केबुलकार उपयुक्त हुने देखिन्छ । तर हिँडेरै गए भइहाल्यो नि, किन चाहियो केबुलकार ? भन्ने प्रश्न पनि केही व्यक्तिले नउठाएका होइनन् । पुर्खाहरू हिँडेरै दर्शन गरे, भावी सन्ततिहरूले पनि हिँडेरै दर्शन गर्दा के हुन्छ ? भन्ने प्रश्न पनि उठाइएका छन् । तर, यस्ता प्रश्न समाधान होइनन्, बरु समस्याका कारक हुन् ।

हिँडेरै पाथीभरा पुग्ने भनेको बलिया–बाङ्गाले मात्रै हो । पैदल हिँड्ने अभ्यास भएको बलियो मान्छेलाई समेत ३ हजार मिटरभन्दा माथिको क्षेत्रमा उकालो चढ्नु पर्दा अक्सिजनको कमी हुन्छ । ज्यादै कष्ट हुन्छ । पाथीभरा मन्दिरको भूगोल तथा उचाइलाई विश्लेषण गर्ने हो भने पैदल हिँडेर जान सामान्य मान्छेलाई सम्भव छैन । बुढाबुढी तथा रोगले कमजोर भएकाहरू जान सक्ने अवस्था छैन । अपांगता भएकाहरू पनि जान सक्ने अवस्था छैन । आस्था तथा विश्वास राख्ने सबै पाथीभरा पुग्न सकून् भन्ने हो भने केबुलकार बन्नुपर्छ ।

जुनबेला ताप्लेजुङसम्म सडक यातायातको सुविधा थिएन त्यो बेला पाथीभरा दर्शन गर्न जानेहरूको संख्या वार्षिक ४–५ हजारमा सीमित थियो, त्यो पनि चाडपर्व तथा मेलाको बेला मात्रै । तर ताप्लेजुङ सदरमुकामसम्म सडक यातायात पुगेपछि पाथीभरा दर्शन गर्न जानेहरूको संख्या वार्षिक ३ लाख नाघ्न थाल्यो । यदि केबुलकार सञ्चालनमा आउने हो भने यो संख्या कैयौँ गुणा बढ्छ । किनकी सबैको पहुँच हुन्छ । तीर्थालुहरूको संख्या बढ्नासाथ स्थानीय क्षेत्रमा आन्तरिक पर्यटकीय उद्योगहरू फस्टाउँछन् । स्थानीय उत्पादन उचित मूल्यमा बिक्री हुन थाल्छ । तराई तथा सहरमा बसाइँ सरेकाहरू समेत फेरि आफ्नो थातथलो फर्कने सम्भावना बढ्छ । ठिक छ, पुर्खाहरूलेजस्तै हिँडेरै पाथीभरा पुग्न कोही चाहन्छ भने उसलाई केबुलकारले रोक्नु हुन्न । पदमार्ग र केबुलकार अलगअलग स्थानमा हुनुपर्छ । त्यसैले केबुलकार बन्नु पर्छ र पर्दैन भनेर विवाद गरिरहनु जरुरी छैन । हिँड्न चाहनेहरूलाई केबुलकारले छेक्दैन ।

हरेक नेपाली जनतालाई आफ्नो देशको एक ठाउँबाट अर्को ठाउँ जाने तथा बसोबास गर्ने अधिकार छ । यो संवैधानिक हक नै हो । घुम्न चाहने व्यक्तिले सडक यातायात प्रयोग गरोस् कि हवाइजहाज, हेलिकोप्टर अथवा केबुलकार– यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । केबुलकार निर्माण पाथीभरामा मात्रै हुन लागेको होइन, अन्य कैयौँ तीर्थस्थलहरूमा पनि केबुलकार सञ्चालनमा आइसकेका छन् । केबुलकार सञ्चालनले स्थानीय क्षेत्रमा विकास र समृद्धि ल्याउने कुरा प्रमाणित भइसकेको छ । पाथीभराको विषयलाई लिएर जुन रूपले जातीय तथा साम्प्र्रदायिक विभाजन ल्याउन खोजिएको छ, त्यो ज्यादै नै नकारात्मक र आपत्तिजनक सोच हो । एकथरी जातिवादीहरूले पाथीभराको विवादलाई मसला बनाएर द्वन्द्व चर्काउने र सामाजिक सद्भाव भड्काउने कोशिस गरेका छन् ।

यो द्वन्द्व अहिले आगोको सानो झिल्कोका रूपमा देखापरेको छ । यसलाई समयमै ननिभाउने हो भने ठुलो राँकोको रूप लिन सक्छ । देशव्यापीरूपमा किराँत र हिन्दूबीच द्वन्द्व हुनसक्छ । त्यस क्षेत्रमा धेरै पहिलेदेखि नै पहिचानवादी आन्दोलन चलिरहेको यथार्थलाई भुुल्नु हुन्न । निश्चित भूभागलाई फलानो जातिको मात्रै हो भनेर नामकरण गर्नुपर्ने विवाद उठ्दै आएको छ । तर, नेपालमा कुनै एउटा त्यस्तो गाउँ छैन, जहाँ एउटा मात्रै जातिको बसोबास रहेको होस् । विवाद नउठ्ने गरी सबैका लागि मान्य हुने नाम राख्न सकिन्न र ?

खासगरी २०७२ सालको संविधान निर्माणका बेला बाह्य उक्साहटका कारण यस्तो विवाद उत्पन्न भएको हो । नेपाललाई जातीय द्वन्द्वमा फँसाई अझ कमजोर बनाउने र आफ्नो निहित स्वार्थ पूरा गराउने रणनीतिअन्तर्गत उक्साइएको हो । यो कुरा अहिले भारत तथा अमेरिकाको संसद्मै उठेको छ । उनीहरूले नेपालको नामै लिएर धर्म संस्कारलाई विस्थापित गराउन आर्थिक लगानी भएको बताएका छन् । यो कुराले पनि प्रश्न उत्पन्न गराउँछ कि कोसी प्रदेश नामकरण तथा पाथीभरा केबुलकार निर्माणको विवादमा पनि कुनै बाह्य चासो त छैन ?

प्रतिक्रिया