काठमाडौँ । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले जितेको छ । दमकस्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा बागमती महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ महिला टोलीले उपाधि जितेको हो ।
नेपाल खेलकुद महासंघ कोसी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न भएको फाइनल खेलको पहिलो सेटमा एपिएफले २५ अंक हासिल गर्दै बागमतीलाई १० अंकमा रोक्न सफल भएको थियो भने दोस्रो सेटमा एपिएफले २५ अंक जोड्दा बागमती २२ अंकमा रोकियो ।
अन्तिम सेटमा बागमतीले १८ अंक प्राप्त गर्दा एपिएफ २५ अंक जोड्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । प्रतियोगिताको उपाधि जित्दै एपिएफले ट्रफी, मेडल, प्रमाणपत्रसहित ५ लाख र उपविजेता बागमतीले ट्रफी, मेडल, प्रमाणपत्रसहित ३ लाख प्राप्त गरेको थियो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफको कविता भट्टलाई वुमन अफ म्याच बन्न सफल भइन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना, उत्कृष्ट सर्भिस कविता भट्ट, उत्कृष्ट डिफेन्डर शान्तिकला तामाङ, उत्कृष्ट स्पाइकर सलिना बुढा मगर, उत्कृष्ट ब्लकर सुमित्रा रेग्मी, उत्कृष्ट सटर जस्ना महतो र उत्कृष्ट कोच महेश चौधरी भए ।
उत्कृष्ट खेलाडी ठगुन्नाले ट्रफीसहित नगद २५ हजार र अन्य विधाका उत्कृष्ट खेलाडीहरूले ट्रफीसहित जनही १० हजार प्राप्त गरेका छन् । प्रतियोगिताको विजेतालगायत अन्य उत्कृष्ट खेलाडीलाई कोसी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, कोसी प्रदेश खेलकुद् विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) लगायतले ट्रफी, मेडल हस्तान्तरण गरे ।
प्रतिक्रिया