काठमाडौं । घरेलु मैदानमा जारी फोर नेसन्स इन्टरनेसनल महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल म्यानमारसँग भिड्दै छ । दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ । उक्त खेलका लागि नेपालले सुरुआती–११ सार्वजनिक गरेको छ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यो खेलमा गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बालाई टोलीमा फर्काएका छन् । यसअघिको खेलमा एन्जिलालाई विश्राम दिइएको थियो ।
नेपालको सुरुआती–११ मा एन्जिला तुम्बापो सुब्बा (कप्तान–गोलकिपर), रेनुका नगरकोटी, विमला विक, पूजा राना, समीक्षा घिमिरे, गीता राना, सरु लिम्बु, प्रीति राई, रेखा पौडेल, सविता राना मगर र सावित्रा भण्डारी साम्बा रहेका छन् । नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्न लागेको हो ।
सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए । त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि भारतको फुटबल महासंघले हिरो कपको आयोजना गरेको थियो ।
नेपाल र म्यानमारबिच त्यति बेला पनि फाइनल र लिग गरि २ वटा खेल भएको थियो। नेपाल फाइनलमा ३–१ र लिगमा ३–० ले पराजित भएको थियो। फाइनलमा नेपालका लागि एक मात्र गोल मन्जलीकुमारी योन्जनले गरेकी थिइन् ।
नेपालले अहिले सम्मका म्यानमारसँगको ५ भेटमा हराउन सकेको छैन। नेपालले म्यानमारसँग २०१८ओलम्पिक छनोटमा १–१ को बराबरी खेलेको थियो । हिरो कप पछिको ओलम्पिक छनोटको अर्को खेलमा ३–१ को हार बेहोरेको थियो ।
त्यसयताको पहिलो भेटमा आइतवार दशरथ रंगशालामा नेपालले म्यानमारलाई २–२ मा रोकेको थियो। ५ खेलमा १२ गोलको सामना गर्दा नेपालले ५ गोल गरेको छ । पछिल्लो भेटमा मात्र नेपाल एउटा खेलमा २ गोल गर्न सफल भएको थियो ।
हिरो कपमा नेपाल, म्यानमार, आयोजक भारत र इरानले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेलेका थिए । त्यति बेला नेपालले पहिलो पटक भारतलाई २–१ ले हराउँदा दुवै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी थिइन् ।
फोर नेसन्समा यसपटक कीर्गिस्तान र लेबनान सहभागी थिए । यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि अहिलेको फोर नेसन्सलाई तयारीका रुपमा हेरिएको छ ।
प्रतिक्रिया