नेतृत्व, कार्यकर्ता र जनताहरू परिवर्तन र उपलब्धिहरूको रक्षा गर्नेभन्दा आफ्नो स्वार्थ केन्द्रित बनेको अवस्थामा पार्टी कमजोर बन्छ । पार्टी कमजोर बन्दा लोकतन्त्र कमजोर बन्छ । लोकतन्त्र कमजोर बन्दा राष्ट्र, जनता कमजोर बन्छन् । अन्ततः मुलुक असफल, अराजकतातर्फ उन्मुख बन्छ । नेताहरूको गुणस्तर, विगत र वर्तमान हेरेर मात्रै जनताहरू पार्टीप्रति आकर्षित हुन्छन् । नेताहरूको संख्याले नभएर, गुणस्तरले पार्टीको भविष्य निधारण गर्छ भन्ने कुरा भुल्नु हुँदैन ।
९ भदौ २०७८ सालमा नेकपा (एमाले) बाट विभाजित बनेर गठन भएको पार्टी हो एकीकृत समाजवादी । उक्त पार्टी यतिबेला स्थानीय, प्रदेश र संघीय निर्वाचन पार गरेर अर्को निर्वाचनको तयारीमा जुटेको छ । यस्तो बेलामा पार्टी बन्छ या बन्दैन ? भन्ने खालको गम्भीर बहस गरिरहेको छ । आखिर किन ? यस स्तम्भमा यही सवालको जवाफ खोज्ने प्रयास गरिनेछ । जसको मनसाय पार्टीको आन्तरिक सुधार हुनेछ । नेताकार्यकर्ताहरूको आखिर अवस्थाको लेखाजोखा गरिने छ ।
नेताको बाहुल्यता
माधवकुमार नेपाल र झलनाथ खनाल जस्ता अनुभवी, पूर्वप्रधानमन्त्रीहरूको पार्टी आज सानै भए पनि मूलधारका मिडियामा समाचार बन्ने पार्टी मध्यको एउटा पार्टी हो भन्दा फरक पर्दैन । उक्त पार्टीभित्र नेपाल र खनाल मात्र नभएर घनश्याम र रामकुमारी झाँक्रीजस्ता दरिला र भरिला खम्बा पनि छन् । जसले तितो बोल्छन्, रूखो बोल्छन्, तर तथ्यका आधारमा सत्य बोल्छन् । समाजिक र राजनीति रूपमा चर्चामा रहने यी ४ जना नेताहरूबाहेक प्रकाश ज्वाला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडाजस्ता अनुभवी दोस्रो तहका नेताहरू पनि छन् । पढ्ने लेख्ने, राम्रो विश्लेषण गर्ने नेताहरू पनि त्यत्तिकै छन् ।
एकीकृत समाजवादी पार्टीभित्र नेताहरूको कुनै कमी छैन । नेताहरूको बाहुल्यताको बारेमा नेता नेपालले भाषण गरेको सुनिन्छ । उनले विगतमा गरेको संघर्षको कथा प्रायः भाषणामा सुनाउने गर्छन् । सायद नेताको कमी छैन भन्नु र संघर्षको कथा सुनाउनुमा कुनै खास रणनीति होला । कोके, माले, एमाले हुँदै एकीकृत समाजवादी निर्माणसम्मको संघर्षको कथा कम रोचक हुने कुरा पनि भएन । पछिल्लो पुस्ताका निम्ति पाठ र सिकाइ होस् भनेर पनि आफ्नो पार्टीमा रहेका पुराना र पाका नेताहरूको बाहुल्यता छ भन्दा कार्यकर्ता पंक्ति निरास नहोस् भन्ने पनि हुनसक्छ ।
खैर, नेताहरूले पार्टीमा नेता छन् भनेर मात्रै समाजले पत्याउने अवस्था हुँदैन । नेता वैचारिक, सैद्धान्तिक, व्यावहारिक र गतिशील भएनन् भने जनताले पत्याउँदैनन् । त्यस्तो नेतालाई समाजले पत्याउँदैन । एउटा नेता पार्टीभित्र मात्रै प्रभाव राख्न सक्ने हुन्छ । अर्को नेता पार्टीभित्र र बाहिरसमेत प्रभाव राख्न सक्ने हुन्छ । अर्थात सबै प्रकारका नेता कार्यकर्ताहरूको सामूहिक रूप नै पार्टी हो । पार्टी बन्न नेता, कार्यकर्ता र जनताको सहभागिता चाहिन्छ । अझ प्रगतिशील, अग्रगामी र समाजवादी क्रान्तिको झण्डालाई उठाउन वेदाग नेतृत्व, असली कार्यकर्ता र सचेत नागरिकबिना सम्भव हुँदैन । नेतृत्व, कार्यकर्ता र जनताहरू परिवर्तन र उपलब्धिहरूको रक्षा गर्नेभन्दा आफ्नो स्वार्थ केन्द्रित बनेको अवस्थामा पार्टी कमजोर बन्छ । पार्टी कमजोर बन्दा लोकतन्त्र कमजोर बन्छ । लोकतन्त्र कमजोर बन्दा राष्ट्र, जनता कमजोर बन्छन् । अन्ततः मुलक असफल, अराजकतातर्फ उन्मुख बन्छ । नेताहरूको गुणस्तर, विगत र वर्तमान हेरेर मात्रै जनताहरू पार्टीप्रति अकर्षित हुन्छन् । नेताहरूको संख्याले नभएर, गुणस्तरले पार्टीको भविष्य निधारण गर्छ भन्ने कुरा भुल्नु हुँदैन ।
कार्यकर्ताको अवस्था
मैले बारम्बार भन्दै र लेख्दै आएको छु कि, नेपालको कम्युनिस्ट आन्दोलन जुनदिन बहुदलीय प्रतिष्पर्धामा गयो, त्यही दिनबाट गुणस्तर पक्षलाई भुल्यो । अर्थात प्रतिष्पर्धाको नाममा संख्यात्मक कुरा प्रमुख बन्यो । गुणस्तर गौण बन्यो । मूल प्रसंगमा फर्किंदा नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी टिम अत्यन्तै राम्रो र पाको टिम छ । लामो अनुभव हासिल गरेका नेताहरू बाहुल्यता छ । यसमा दुईमत छैन । ती नेताहरूको सक्रियता, क्रियाशील र प्रभावशालीता कत्तिको छ ? यसका बारेमा माथि पनि सामान्य चर्चा गरिएको छ । अर्कातर्फ पहिलो पुस्ताका नेताहरूको बारेमा हामीभन्दा जनताहरू धेरै नै जानकार छन् । तर, पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी, प्रदेश र जिल्ला कमिटीको नेतृत्वका बारेमा केही प्रश्न उठाउन लायक छन् । किनकी उनीहरूलाई गल्ती गर्ने छुट छैन ।
अघिल्लो पुस्तालाई देखाएर उम्किन मिल्ने अवस्था छैन । अबको बाटो र विकल्पका बारेमा दोस्रो र तेस्रो पुस्ता निक्कै जिम्मेवार बन्नुपर्छ । स्मरण रहोस्, एकीकृत समाजवादी बन्दाखेरी पार्टीमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरूको सहभागिताको प्रश्न चलेको बेला एकीकृत समाजवादीमा युवाहरूको उपस्थिति बलियो बन्ने अपेक्षा थियो । सुरूमा युवाहरू नलागेका पनि होइनन् । एउटा शंका थियो, युवाहरूसँग उमेर छ, समय छ, अवसर र मौका पाउने बित्तिकै वा अवसर नपाउने बित्तिकै जुनसुकै बेला पार्टी छोड्न सक्छन् । आज आएर सुरुको शंका बिस्तारै पुष्टि हुँदै गइरहेको छ । युवाहरूको भरोसाका रूपमा एकीकृत समाजवादी पार्टी बनाउने भन्दा पनि निराश पार्ने काममा पदाधिकारी टिम सक्रिय देखिन्छ ।
युवा नेता कार्यकर्ताहरूको साथ, सहयोग र सर्मथनबिना कुनै पनि पार्टीको भविष्य सुन्दर बन्दैन । कुनै पनि कुराको राम्रो र नराम्रो पक्षहुन्छ । तर, तुलनात्मक रूपमा राम्रो कुरालाई अंगालेर अघि बढ्नुको विकल्प रहँदैन । हिजोका दिनमा युवाहरूले भविष्य एकीकृत समाजवादी पार्टीमा देखेका थिए । आज पनि युवाहरू अरूभन्दा कम खराब नेता र नेतृत्व हाम्रै हो भन्नेर सोही पार्टीमा लागेको बताइरहेका छन् । आजका युवाहरू शिक्षित छन् । दीक्षित छन् । मात्र अवसरबाट वञ्चित छन् । उचित जिम्मेवारी पाउन सकिरहेका छैनन् । समयको कुरा समयमा नहुँदा यहाँ धेरै कुरा बिग्रेको देखिन्छ । समयमै जिम्मेवारीमा नपुग्ने, पुगिहाले पनि घेराबन्दीमा पार्ने र राजनीति सकिदिने खालको गैरराजनीतिक कार्य नेतृत्वहरूले चलाएका गुटबाट हुनुलाई कदापि राम्रो भन्न सकिँदैन ।
समाजवादी क्रान्तिका निम्ति असली क्रान्तिकारी योद्धाहरूको आवश्यक हुन्छ । तर, आज एकीकृत समाजवादीमा मात्रै होइन, कुनै पनि पार्टीमा प्रतिवद्ध कार्यकर्ताहरूको संकट छ । अभाव छ । भ्रातृ संगठनहरू ध्वस्त छन् । अर्को महत्वपूर्ण कुरा भनेको नेताहरूका छोराछोरी युरोप अमेरिकातिर पढिरहेका छन् । गरिबका छोराछोरीहरू खाडीमा छन् । यसअर्थ राजनीतिमा युवा आकर्षण निक्कै घट्दो छ ।
पार्टी सदस्यता संख्या जति बढिभयो, त्यसैबाट क्षमता बोकेका र राम्रा नेताको जन्म हुने हो । अर्को कुरा, कुनै पनि संगठन, संस्था वा पार्टीभित्रको आन्तरिक लोकतन्त्रले मात्रै विचारको उत्पादन र पुनरोत्पादनको कामलाई जीवित राख्न सक्छ । यसका बारेमा पार्टीका शीर्ष नेताहरू बेखबर जस्तै देखिन्छन् । आन्तरिक लोकतन्त्रलाई मजबुत नबनाइकन मुलुकको लोकतन्त्रका बारेमा वकालत गर्ने नैतिक तागत हामीसँग रहँदैन । नैतिक तागतको हत्या गरेर बनावटी गफ गरेर लोकतन्त्र बाँच्दैन । मुलुक र जनताले शान्ति पाउँदैनन् । भाषण र कान्तिकारी अक्षरहरूले आधुनिक जमनामा क्रान्ति नगर्न सक्छन् । यस्ता कुराहरूका बारेमा पनि समीक्षा हुन आवश्यक छ ।
अन्त्यमा, उमेरले मात्र युवा भएर हुँदैन । उसको राजनीतिप्रतिको दृष्टिकोण, बुझाइ, रूची, क्रियाशीलता, सक्रियता, प्रतिवद्धता, चाहाना, भावना, लगाव र झुकाव के छ ? त्यसको पनि पहिचान हुनुपर्छ । कार्यकर्ता पार्टी सदस्य बोकेका हिसाबले मात्र हुँदैन । सदस्य नवीकरण गरेर बस्ने कार्यकर्ताले संख्याको गणनाबाहेक अर्को योगदान दिन सक्दैन । योग्य र क्षमतावान् कार्यकर्ताले मात्रै समाजलाई नयाँ सन्देश दिनसक्छ । नयाँ विचार दिनसक्छ । नयाँ योजना र मुद्दा दिनसक्छ । यस्ता कार्यकर्ताहरूको संख्या एकीकृत समाजवादीमा तुलनात्मक रूपमा अन्य पार्टीको भन्दा ज्यादा छन् ।
केही गरौँ भन्ने र निःशर्त र निःस्वार्थ ढंगले सामाजिक न्यायसहितको समाजवाद हासिल गर्ने कुरामा इमान्दारपूर्वक लाग्नुपर्छ । यसमा सहमत हुनेहरू नै असली समाजवादी हुन् ।
पूर्व एमाले, पूर्व माओवादी, पूर्व अर्को भन्ने खालका अनावश्यक, अराजनीतिक, अनैतिक र अव्यावहारिक कुराहरूले समाजवादी पार्टी बन्दैन । पार्टी बन्नका निम्ति मूलतः विचार, सिद्धान्त र कार्यक्रमले हो । यी ३ वटै कुरा एकीकृत समाजवादीसँग छन् । यसलाई न्यायोचित रूपमा परिचालन गर्ने नेताकार्यकर्ताको इमानदार प्रयासले मात्रै सम्भव हुन्छ । खासगरी एमालेको धङ्धङी र जडताबाट मुक्त नभएका नेताकार्यकर्ताहरूले समाजवादी पार्टी बनाउँदैनन् ।
प्रतिक्रिया