स्वदेशमा केही हुन सक्छ भन्ने आशा नै हरायो । शिक्षा र कामको खोजीमा युवा र पुँजी विदेश पलायन भयो । देश शून्य उत्पादन उन्मुख छ । वैदेशिक ऋण बढ्दै वार्षिक बजेट बराबर पुगिसक्यो । राजस्वले देशको साधारण खर्च नधान्ने भइसक्यो । पराधिनता ह्वात्तै बढेको छ । देशको क्षमताभन्दा बाहिरको परिस्थिति सिर्जना हुने हो कि भन्ने तहको संकटको डिलमा पुग्नै लागेको छ नेपाल आज ।
असामान्य, अनिश्चित र जटिल अवस्थालाई संकट भनिन्छ, मानिन्छ । संकट प्राकृतिक र मानव सिर्जित हुन्छन् । अनेकौँ कारणले उत्पन्न हुने संकटका कारणको निवारण गरेर समाधान, नियन्त्रण र टार्ने विभिन्न उपाय अपनाइन्छ ।
संकट समाधानका सबै उपायको मूल स्रोत धर्म हो । धर्म भनेको प्रकृतिको नियम हो । धर्मले नै सृष्टिको प्रारम्भदेखि प्राणी जगतको सञ्चालन र नियमन ग¥यो । विकासक्रमसँगै मानिसलाई आइलाग्ने संकट निवारणको उपाय स्वरूप राजनीतिको अवधारणा जन्मिएको हो । हरेक देशको संविधानले आफ्नो राजनीतिकोे स्वरूप निर्धारण गरेको हुन्छ । संसार परिवर्तनशील रहेको हँुदा समयक्रममा संविधान संशोधन गरेर राजनीतिलाई समसामयिक बनाइन्छ । बदलिँदो समयको माग संबोधन गर्नु राजनीतिको धर्म हो ।
पटकपटकका जनआन्दोलन र सशस्त्र विद्रोहको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो । संघीय गणतन्त्र नेपालको राजनीति सम्हालेका दल र नेताहरू गणतान्त्रिक भएर नेपाली राजनीतिको धर्म धारक बन्नुपर्ने थियो । दल र नेताहरूको आचरण केन्द्रीकृत र सामन्ती रहनजाँदा आर्थिक क्रान्ति थालनी गर्न सकेन नेपाली राजनीतिले । राजनीतिक परिवर्तन पछि निर्माण गरिन्छ भन्दै ध्वस्त पारिएका भौतिक संरचनाको पुनःनिर्माण गरेर आन्दोलनताका बनाइएको ध्वंसात्मक मनोवृत्ति रचनात्मक बनाउने सोचसम्म देख्न, सुन्न र पढ्न पाइएन ।
हरेक पार्टीका इमानदार नेता कार्यकर्ताको रगत पसिना सत्ताको छिनाझप्टीमा दुरुपयोग गरियो । सत्ता पाएपछि सत्तामा पु¥याउने इमानदार नेता कार्यकर्ता किनारमा पार्दै कमाउधन्दाको अवाञ्छित प्रतिष्पर्धा गरेको तथ्य विभिन्न काण्डहरूको रूपमा देखिए । कुशासन र बढ्दो भ्रष्टाचारले गरिखानेले समेत वातावरण पाएनन् । स्वदेशमा केही हुन सक्छ भन्ने आशा नै हरायो । शिक्षा र कामको खोजीमा युवा र पुँजी विदेश पलायन भयो । देश शून्य उत्पादन उन्मुख छ । वैदेशिक ऋण बढ्दै वार्षिक बजेट बराबर पुगिसक्यो । राजस्वले देशको साधारण खर्च नधान्ने भइसक्यो । पराधिनता ह्वात्तै बढेको छ । देशको क्षमताभन्दा बाहिरको परिस्थिति सिर्जना हुने हो कि भन्ने तहको संकटको डिलमा पुग्नै लागेको छ नेपाल आज । हामीले गर्न सक्ने काम समयमै नगरेका कारण आसन्न संकटले घेरिन पुग्यो देश ।
डराएर होइन सामना गरेर समाधान निस्कन्छ संकटको । संकट आइहाल्यो भने सोच्ने समय पनि पाइँदैन, बगाएर विनाशै पारिहाल्छ संकटको भेलले । देशलाई संकट मुक्त गर्न सबै देशभक्त जनप्रतिनिधि एवंं अगुवा नागरिक एकजुट भएर योजनावद्ध रुपले अघि बढ्न अरू ढिला नगरौँ । संकटको कारण र निवारण खोजौँ । संकटको गहिराई थाहा पाउन चर्चा परिचर्चा, चिन्तन मनन गर्नु राम्रै कुरा हो । संकटको समाधान सुरू नगरी केबल बुद्धिविलासमा रमाइरहनु संकट बढाउनु हो । संकटको कारण अधर्म हो र निवारण धर्मको पालनामा संभव छ ।
धर्मले सबै संकटको निवारण गर्छ गर्दैन भन्ने बुझ्न सर्वप्रथम धर्मको सही अर्थ र परिभाषा थाहा हुनुपर्छ । सही अर्थ र परिभाषाले धर्मको गुण र क्षमता पहिचान हुन्छ । आजभन्दा २ हाजर ५०० वर्षअघि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी ४ आर्य सत्य क्रमशः दुःख छ, दुःखको कारण छ, कारणको निवारण छ र निवारणको अष्टांगिक मार्ग पत्ता लगाए । दुःख निवारणका अष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक (वाणी), सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधीमा हिँडाएर मानिसलाई शान्ति र निर्वाण (मुक्ति, मोक्ष) दिलाउने सच्चा धर्मको प्रतिपादन गरे बुद्धले ।
आचार्य सत्यनारायण गोयन्काको धर्म नामक पुस्तकमा बुद्धले उजागर गरेको धर्मको सही विवेचना पाइन्छ । पुस्तकमा चित्त निर्मल पार्दै सुखपूर्वक जीवन जिउने आधारलाई धर्म भनिएको छ । संस्कृतमा धर्मलाई ‘धारणा इति धर्म’ अर्थात धारणा गर्नु धर्म हो भनेर सम्बोधन गरिएको छ । मन, वचन र कर्मलाई निर्मल चित्तले निरीक्षण गरिरहने अभ्यास नै धर्म धारण गर्नु हो । त्यस्तै संस्कृतमा अर्काे प्रशिद्ध श्लोक छ, ‘धर्म रक्षति रक्षतु’ अर्थात जसले धर्मको रक्षा गर्छ उसको रक्षा धर्मले गर्छ । त्यसैले धर्म शान्ति प्राप्तिको मार्ग हो । प्रकृतिको नियम हो धर्म । समता धर्म हो । सरलता धर्म हो । सत्य धर्म हो । सहारा धर्म हो । होसियारी र जागृति धर्म हो । मानवता धर्म हो । शील समाधी र प्रज्ञा नै विशुद्ध धर्मको मार्ग हो ।
धर्मले असल मानिस बनाएर जीवनको मूल्य बढाउँछ । किनभने धर्मले शील पालना गर्न निर्देशित गर्छ । शील सदाचार हो । कुनै प्राणीको हिंसा नगर्नु, चोरी नगर्नु, झुटो नबोल्नु, व्यभिचार नगर्नु र नशालु पदार्थको सेवन नगर्नु शील हो । आफ्नो शारीरिक, वाचिक र मानसिक कर्मलाई आफ्नै चित्त र चित्तवृत्तिवाट निरन्तर निरीक्षण गर्दैरहने अभ्यास नै धर्म धारणको सही अभ्यास भएकाले धर्मले वर्तमानमा बाच्न सिकाउँछ । वर्तमानमा बाँच्दा राग द्वेष र मोहजस्ता विकार मनमा आउनै पाउदैनन् । किनकी भूत र भविष्यसँग स्पर्श गरी राग, द्वेष र मोह उत्पन्न गर्ने मन वर्तमानमा अड्किएको हुन्छ । मन विकार रहित हँुदा चित्त निर्मल रहन्छ । निर्मल चित्तले दुराचरण र दुष्कर्म गर्न सक्दैन, आफ्नो र अरूको मंगल र कल्याण हुने कुशल कर्म मात्र गर्दछ । कुशल कर्मले व्यक्तिसँगै समाज पनि नैतिकवान बनाउँछ ।
धर्ममा हुने समताको गुणले सुखद् र दुःखद् स्थितिप्रति अविचलित रहन संवेदनशील र सजग बनाउँछ । सुखदमा प्रफुल्लित र दुःखद्मा मुर्झाउने विषमता आउन रोक्छ । मनलाई समतामा राख्छ । मनको समताले शारीरिक समता कायम गरेर जीवन नै स्वस्थ हुन्छ । समतामय जीवन व्यतित गर्ने व्यक्तिको अहंभाव नाश हुन्छ । समताको गुणले धनी गरिब र जातीयताको उचनिचको पर्खाल भत्काउँदै सहयोग, सद्भाव, सहकारिता, सहिष्णुता र सौहार्दभाव दर्शाउँछ । र आफ्नो नोक्सानी भए पनि अरूहरूको कल्याण गर्दछ ।
धर्म सम्यक हुन्छ । सम्यकको अर्थ ठिक, सही, यथार्थ सत्य हो । शुद्ध, स्वच्छ, निर्मल निर्दोष र निष्कलंक पनि हो सम्यक । मिथ्या कल्पना र करकापसँग धर्मको कुनै सम्बन्ध हँुदैन । अन्ध–श्रद्धामा होइन प्रत्यक्ष स्वअनुभूतिमा आउँछ धर्म । धर्म जीवनमा लागू भएकै हुनुपर्छ । किनकी धर्म केबल पठनपाठन, चर्चा परिचर्चा, बुद्धि–क्रिडा र बुद्धि–विलासमा सीमित हुने चिज होइन । जीवनलाई मूल्यवान बनाउन सहयोग पु¥याएको छैन भने त्यो धर्म होइन धोका र भ्रम मात्र हो ।
धर्मको सम्यक स्वरूपको अलिकति मात्र बोध भयो भने मानिस धर्म पालनाको अभ्यासमा स्वतःस्फूर्त केन्द्रित हुन्छ नै । गंगोत्रीको मूलमा सफा कञ्चन र पारदर्शी देखिने पानी गंगा सागरमा मैलो देखिए झैँ ४ वेद १८ पुराण रचिसकेपछि वेदव्यासले ‘परोपकाराय पूण्याय पापाय परपीडनम’ अर्थात अरूको सेवा गर्नु धर्म र अरूलाई पीडा दिनु पाप हो भनी शुद्ध धर्मको निष्कर्ष निकालेकोमा बुद्ध जन्मेको युगसम्म आइपुग्दा थुप्रै कर्मकाण्डमा सीमित पारेर अशुद्ध बनाइयो धर्म ।
धर्मका नाममा परलोक सुधार्ने बहानामा आफूसँग भएको सम्पत्ति यज्ञयज्ञादी कर्मकाण्डमा खर्चेर इहलोकको वर्तमान जीवनलाई दुःख कष्ट दिने अधर्म चरमोत्कर्षमा पुगेको बेला जन्मिएका बुद्धले यसैलोकमा सुख शान्तिको जीवन बिताए स्वतः परलोक सुध्रिने शुद्ध धर्मको मार्ग पहिल्याए । पुरुषार्थ नै ईश्वर हो, छुट्टै ईश्वर छैन, मेरो मृत्युपछि मेरो मूर्ति नबनाउनु र भगवान्को रूपमा पूजा नगर्नु धर्मको अघि कुनै लेप नलगाउनु भन्ने उपदेश दिनुभयो बुद्धले । ५०० वर्षसम्म बुद्धको मूर्तिसम्म बनाइएकोमा हिन्दू लगायतका धर्म सम्प्रदायले मूर्ति मन्दिर, चर्च, मस्जिद बनाउने र पूजा गर्ने कुराको प्रभावमा परी बौद्ध संप्रदाय जन्माउँदै झन् धेरै बुद्धको मूर्ति र गुम्बा बनाएर पूजा गरी धर्ममा समिश्रण गरियो ।
धर्म यति मैल्याइयो कि धेरैजसो घरेलु र अन्तर्राष्ट्रिय लडाईं झगडाको कारण धर्म हो भन्ने भाष्य समाजमा स्थापित हुन पुगेको छ आज । यसो हुनुको मुख्य दुई कारण देखिन्छ पहिलो कारण धर्मभिरुले संप्रदाय हाबी बनाई प्रमुख स्थानमा राख्ने, धर्मलाई कर्मकाण्डमा सीमित गर्दै धन्दामा परिणत गरी तेजहीन र गौण पारिनु हो । दोस्रो कारण बौद्धिक वर्गले संस्कृत भाषा र आध्यात्मिक ग्रन्थहरूको अवमूल्यन गर्ने पश्चिमा विद्वानका समाजवादी र पुँजीवादी दार्शनिक मान्यतामा राजनीतिलाई डो¥याउन तल्लीन रहनु हो । यी २ कारणले गर्दा एकातर्फ नेपालमा शैक्षिक पाठ्यक्रममा विगतदेखि समावेश हुँदै आएको संस्कृत भाषाको पढाइलाई पाठ्यक्रमबाट हटाइयो र विश्वकै संमृद्ध भाषा संस्कृत पढ्न बुझ्न वञ्चित भए नेपाली ।
अर्कोतर्फ अनुसन्धान गर्ने पश्चिमा विद्वानले वेद, पुराण र भागवत गीता ग्रन्थमा वर्णित ज्ञान थाहा पाएर विज्ञान प्रविधिको विकास गरे, नेपालीका पुर्खाले रचेका ती ग्रन्थको ज्ञान जान्न नेपाली नै वञ्चित रहेर पछौटे भए । भारतीय विद्वान डा.पियुस श्रीवास्तवले युट्यूबमा यी कुराहरूको सप्रमाण खुलासा गरेका छन् । अध्यात्म, मन, चेतना र धर्मको अंग्रेजीमा शब्द नै नभएको, अध्यात्मलाई अंग्रेजीमा पढन नसकिने र संस्कृतिको एक शब्दको अनेकौँ अर्थ भएको भन्दै संस्कृत भाषाको संमृद्धि र गहनता औंल्याउँछन् उनी ।
विश्वकै पाँचौँ अर्थतन्त्रको देश बनिसकेको भारत तेस्रो बन्ने प्रतिष्पर्धी धुन बजाउँदै विकास पथमा अग्रसर छ । भारत एकीकृत गर्नुपर्ने समयको माग संबोधन गर्दै अरूको धर्मको निन्दाले आफ्नो धर्ममा समेत हानि पु¥याउँछ भन्दै धार्मिक सहिष्णुतामा जोड दिँदै विशाल भारतको निर्माण गरेकाले सम्राट अशोकलाई विश्वसमुदायले नै महान हस्तीको रूपमा मान्छ । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले सन १९४७ जुलाईको संविधानसभामा भारतीय झण्डाको बीचमा अशोक चक्र राख्ने र सम्राट अशोकलाई नयाँ राष्ट्रको संरक्षक सन्तको दर्जा दिने प्रस्ताव राखेर पास गराएको प्रसंग रेहान फसलले सञ्चालन गर्ने बिबिसी विवेचनामा वताइएको छ ।
अरूलाई होच्याएर आफू अग्लो देखिन खोज्ने प्रवृत्तिले निषेधको राजनीति भित्र्याउँदै नेपाली राजनीतिको धर्म भ्रष्ट र नष्ट ग¥यो । नेपाली राजनीतिलाई मूल स्वभाव र स्वरूपमा ल्याउन सदाचार राख्ने शील धर्मको पालना, मनलाई वशमा लिएर सदाचार पालनामा चित्त एकाग्र गरी वर्तमान अवस्थाप्रति सचेत रही समाधी धर्मको पालना गर्न जरुरी छ । म, मेरो, प्रिय अप्रिय राग द्वेष र मोहजस्ता विकारबाट मुक्त रही प्रत्येक व्यक्ति, वस्तु र स्थितिलाई शान्त सजग र समता भरिएको चित्तद्वारा साक्षी भावले निरीक्षण गर्दै शान्तिपूर्वक सत्कर्ममा अग्रसर भई प्रज्ञा धर्मको पालना गरिएमा कालो बादल हटेर सूर्यको प्रकाश छरिएझै संकटको निवारण भई शान्त र समृद्ध बन्नेछ नेपाल ।
प्रतिक्रिया