काठमाडौं । युएइर्मा प्रथम ‘जिसिडि कप–२०२५’ को उपाधि नख्खील गोर्खा फुटबल क्लबले हात पारेको छ । युएईको सबैभन्दा ठूलो धनराशीको ‘प्रथम जिसिडि कप’को विजेता नख्खील गोर्खा बनेको छ भने उपविजेता न्यू ब्वाइज फुटबल क्लब बनेको छ ।
यो यूएईमा नेपाली समुदायबाट आयोजित अहिलेसम्मकै ठूलो धनराशिको नेपाली फुटवल प्रतियोगिता भएको बताइएको छ । जिसिडि रोयल गोर्खा फुटबल क्लबको आयोजनामा दुबईको दुलस्को क्याम्पको फुटबल मैदानमा भएको उक्त प्रतियोगिता फेब्रुअरी २२ देखि २३ सम्म चलेको थियो ।
यस प्रतियोगिताको फेयर प्लेयर क्लबको उपाधि भने मेची महाकाली फुटबल क्लबले पाएको छ । प्रतियोगितामा प्रथम हुने नख्खील गोर्खा फुटबल क्लबले ट्रफिसहित ८ हजार १ युएई दिराम पुरस्कार पाएको छ ।
त्यसैगरी उपविजेता न्यु ब्वाइज फुटबल क्लबले ४ हजार १ युएई दिराम प्राप्त गरेको छ । प्रतियोगितामा १६ टिमको सहभागी रहेको थियो । युएईमा अहिलेसम्मकै यो ठूलो धनराशीको नेपाली फुटबल प्रतियोगिता भएको हो ।
दुई चरणमा सम्पन्न प्रतियोगिताको पहिलो चरणअन्तर्गत उद्घाटन समारोह फेब्रुअरी २२ को बेलुका ९ बजे सुरु भएको थियो भने लगातार १५ घण्टासम्म चलेको प्रतियोगिता दोश्रो चरणको समापन समारोहसहित फेब्रुअरी २३ गते अपरान्ह सम्पन्न भएको थियो ।
जिसिडि ग्रुपका अध्यक्ष रमेश श्रेष्ठका ज्येष्ठ सुपुत्र उज्जल श्रेष्ठको सभापतित्व तथा दूतावासका लेवर काउन्सिलर दिपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन समारोहमा दूतावासका श्रम सहचारी पंकजलाल कर्ण, गैरआवासिय नेपाली संघ युएईका अध्यक्ष विकास शाही, नेपाली जनसम्पर्क समिति युएईका सभापति भवानी प्रसाद तिमल्सिना, प्रवासी नेपाली मन्च युएईका अध्यक्ष बाबुराम सापकोटा, नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष लक्ष्मण खनाल, एनआरएनका सचिव मनोज कुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस महासमिति सदस्य दिनेश बहादुर गुरुङ, जनसम्पर्क समिति यूएईका संरक्षक तथा एनआरएनए आइसीसी सदस्य खेमलाल बस्नेत लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
खेलपछि आयोजित समापन समारोह जिसिडि ग्रुपका अध्यक्ष तथा गैरआवासिय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उपसंयोजक रमेश श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा। प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा सहभागी टिम, समर्थक तथा सहयोगी सबैप्रति आभार प्रकट गर्दै जिसिडि ग्रुपका अध्यक्ष रमेश श्रेष्ठले प्रवासमा रहेर पनि काम गर्ने शिलशिलामा आएका नेपालीहरुले आफ्नो खेलप्रति देखाएको माया र झुकावको प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुको मनोबल बढ्ने र आत्मियता बढ्ने बताए ।
प्रतिक्रिया