केपी ओली कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी

बैतडी । केपी ओली कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा सुरु भएको छ ।
दशरथचन्द क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई ११ रनले हरायो । जितका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको बझाङ निर्धारित २५ ओभरमा ९ विकेटको क्षतिमा १२३ रन बनाउन सफल भयो । खेलाडी गजेन्द्र भण्डारीले सर्वाधिक ४२ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् ।

पहिला ब्याटिङ गरेको दार्चुला २४ दशमलव ४ ओभरमा १३४ रनमा समेटियो । दार्चुलाका रूपसिंह खातीले ३० र नरेन्द्र महराले १७ रन बनाए भने बझाङका सञ्जय बोहराले ३, अभिनास सिंह र भरत चन्दले समान २ विकेट हात पारे ।

प्रतियोगिताको प्रारम्भ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरेका थिए । त्यस अवसरमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी, उपाध्यक्ष रमेशबहादुर बोहरा, कोषाध्यक्ष दिनेश सिंह, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायत उपस्थित थिए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ८ टोलीबीच स्पर्धा हुँदै छ ।

प्रतिक्रिया