काठमाडौँ । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिताअन्तर्गत ४२ किमी दुरीको दौडमा रणशेर गणका हुद्दा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई ३ लाखसहित ट्रफी र पदक प्रदान गरेका थिए ।
कुल ३०३ धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे । उनीहरूलाई क्रमशः २ लाख र १ लाख नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै २१ किलोमिटर दुरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल पहिलो, शेर गण दलका अमलदार गजिन्द्र राई दोस्रो तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तेस्रो भए । प्रधानसेनापति अशोकराज सिग्देलले कुल ८६३ धावक सम्मिलित सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँसहित प्रमणपत्र प्रदान गरेका थिए ।
महिलातर्फको २१ किमी दुरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोषी श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्णलक्ष्मी न्यौपाने दोस्रो तथा गरूढ दल गणकी प्युठ निर्मला केसीले तेस्रो स्थान हासिल गरेका छन् । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उनीहरूलाई ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँ प्रदान गरे । सामाजिक एकताको प्रतिकका रूपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा २०७२ सालदेखि यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया