काठमाडौँ । केपी ओल कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र ब्ल्याक बुल्स फुटबल क्लब भिड्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ११ देखि १९ फागुनसम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा २ विदेशीसहित ९ क्लब सहभागी हुनेछन् । युवा संघका अनुसार पहिलो खेलमा एपिएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई चुनौती प्रस्तुत गर्नेछ ।
ब्ल्याक बुल्सले यसै साता २४औँ आहा ! रारा पोखरा गोल्डकप जितेको थियो । १२ गते भने २ खेल हुनेछ । पहिलो खेलमा २ विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।
दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)सामु केपी ओली एफसीले चुनौती प्रस्तुत गर्नेछ । प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबसँगै एएपिएफ, पुलिस , त्रिभुवन आर्मी, एनआरटी र संकटा क्लबले सहभागिता जनाउने छन् । ब्ल्याक बुल्ससँगै भुटानको ट्रस्पोर्ट युनाइटेडले पनि प्रतियोगिता खेल्नेछन् ।
पहिलो संस्करणमा एनआरटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको थियो। उक्त प्रतियोगितामा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड, थ्री–स्टार क्लब, जावलाखेल युथ क्लब र मानेभञ्याङ फुटबल क्लबको पनि सहभागिता थियो । यी क्लबले दोस्रो संस्करणमा सहभागिता नजनाउने भएपछि एपिएफ, संकटा, ब्ल्याक बुल्स र ट्रस्पोर्टलाई समेट्न लागिएको हो ।
प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउने भएका छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । म्यान अफ द म्याचले १५ हजार रुपैयाँ पाउने भएका छन् । हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।
प्रतिक्रिया