काठमाडौँ । घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराएको हो । नेपालका लागि विंगर विमला चौधरीको गोल नै निर्णायक बनेको हो । ११आँै मिनेटमा सबिता रानामगरको पासमा विमलाले गोल गरेकी थिइन् । जितसहित नेपालले ३ अंक जोडेको छ । अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ । सोमबार नै सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले करिब १ दर्जन गोलका अवसर बुनेको थियो । यसका बाबजुद फिनिसिङमा भने नेपाल लगातार कमजोर सावित भएको थियो ।
नेपाली राष्ट्रिय टोलीका लागि विमलाको सो दोस्रो गोल हो । यसअघि उनले सन् २०२१ मा फिलिपिन्सविरुद्ध गोल गरेकी थिइन् । एएफसी एसियन कप छनोटअन्तर्गत भएको भेटमा नेपाल २–१ ले पराजित भएको थियो । नेपालले बिहीबार लेबनानसँग दोस्रो खेल खेल्नेछ । सोही दिन किर्गिस्तानले म्यानमारलाई चुनौती प्रस्तुत गर्नेछ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराएको थियो । म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान १ गोल गरे । १ गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
दुवै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
सो खेलमा नेपाली राष्ट्रिय टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी पनि मैदानमा उपस्थित भएकी थिइन् । फ्रान्सको शीर्ष श्रेणीको लिग खेलेर उनी सोमबार बिहान मात्रै स्वदेश फर्किएकी थिइन् । उनी छोटो आराम गर्दै किर्गिस्तानविरुद्ध मैदान उत्रिएकी हुन् । उनी दोस्रो हाफको सुरुआतमै विमला विकेको स्थानमा मैदान प्रवेश गरेकी हुन् ।
४ देशको राउन्ड रोबिन सकिएपछि शीर्ष २ टोली उपाधिका लागि खेल्नेछन् । नेपाली टोलीले पछिल्लो समय उत्कृष्ट खेलेर पनि उपाधि जित्न नसकेपछि बढी म्याच एक्सपोजरको आवश्यकता महसुस गरेर सो च्याम्पियनसिप आयोजना गरिएको हो ।
काठमाडौँमा ४ महिनाअघि भएको साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल उप विजेतामा सीमित भएको थियो । यसैगरी, वाफ च्याम्पियनसिपमा समेत नेपाल उपविजेता बनेको थियो ।
प्रतिक्रिया