देउवाको प्राथमिकतामा होइन, विकपल्पमा शशांक हुन सक्छन्

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भावी नेतृत्व–दौडमा संस्थापन र इतरका नेताहरू खुल्लमखुल्ला कुदिरहेछन् । संस्थापन नेताहरूचाहिँ भित्रभित्रै आफू कसरी सुरक्षित हुने भनेर लागेका छन् । शेरबहादुर देउवालाई १४औँ महाधिवेशनमा सभापति जिताउन लागिपरेका दोस्रो तहका नेताहरू माघ तेस्रो र चौथो साता कहिले एक्लाएक्लै, कहिले २–३ जना मिलेर देउवा निवास धाइरहे । उनीहरू देउवाको सके वचन, नसके आश्वासन खोजिरहेका छन् । शुक्रबार पनि पार्टीका नेतासँग उनको भेटघाट भयो । भेटमा सबैलाई तपाईंहरू मेरो मान्छे भन्दै जिस्किए । तर आफ्नो उत्तराधिकारी को भनेनन् । उता शेखर कोइराला र गगन थापा देशभर दौडिरहेका छन् । अबको सभापति आफू भन्दै । यस्तो अवस्थामा देउवाको उत्तराधिकारी को बन्ला भन्ने चासोको विषय बनेको छ । तर, महाधिवेशन नै कहिले हुन्छ भन्ने टुंगो लागेको छैन । यसै सेरोफेरोमा कांग्रेस नेता पुष्पराज पराजुलीसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको अंश :

पुष्पराज पराजुली, नेता – नेपाली कांग्रेस

नेपाली कांग्रेसको महाधिवेशन २०८२ सालभित्र होला कि नहोला ?

–२०८२ सालभित्र महाधिवेशन हुने सम्भावना कम भइसक्यो । २०८२ सालमा सम्पन्न गर्न यतिबेला जिल्ला अधिवेशनहरू सुरु भइसक्नुपर्ने थियो । अहिलेसम्म सक्रियको नवीकरण, स्थानीय तहको अधिवेशन भएको छैन । त्यो प्रक्रियामा पार्टी गएको छैन । त्यस कारण २०८२ सालमा नै महाधिवेशन हुने सम्भावना म देख्दिनँ । महाधिवेशनका लागि गरिनुपर्ने कुनै पनि तयारी भएका छैनन् । अर्को कुरा १४ महिना बाँकी रहे पनि पार्टीको केन्द्रीय कार्यालयले त्यो तहको अभ्यास गरेको पाइँदैन । पार्टी २०८२ सालभित्रै महाधिवेशन गर्ने गरी जुटेको छैन । त्यसैले २०८२ सालभित्र महाधिवेशन सम्पन्न हुने आधार देखिँदैन ।

त्यसो भए पार्टीको संस्थापन पक्ष नै समयमा नै महाधिवेशन गर्न चाहँदैन ?

–संस्थापन पक्ष समयमा नै महाधिवेशन नहोस् भन्ने रहेको मैले बुझेको छैन । तर, केही नेताको तर्क भनेको महाधिवेशन आमनिर्वाचन पछाडि लैजाँदा उचित हुन्छ भन्ने मात्रै तर्क हो । २०८४ सालभन्दा पछाडि महाधिवेशन लैजाँदाखेरी पार्टी भित्रको द्वन्द्व देखा नपरोस् र पार्टीलाई नोक्सान नहोस् भन्नेमा नेताहरू सचेत हुनुहुन्छ । आमनिर्वाचनको पूर्वसन्धामा महाधिवेशन हुँदा आन्तरिक प्रतिस्पर्धाका कारण निर्वाचनमा नोक्सान नहोस् भन्ने मात्र हो ।

२०८४ सालमा गर्ने कुरा पनि उठ्दै छ । संविधानले २०८४ सालमा लान दिन्छ ?

– २०८२ सालमा भएन भने २०८३ सालमा पनि गर्न सकिन्छ । त्यो विषयमा छलफल भएका छन् । तर, यहि समयमा गर्ने भन्ने भएको छैन । केही नेताहरूले यो विषय अलि बढी उठाउनुभएको छ । तर, निर्णय भइसकेको छैन ।

आमनिर्वाचनपछि महाधिवेशन गर्दाचाहिँ कांग्रेस एकढिक्का हुन्छ भन्ने विश्वास छ ?

–एउटा त जीवन्त पार्टीमा गुट उपगुट, बिचारमा बहस निरन्तर हुन्छ । विवादै हुँदैन सबै अन्त्य हुन्छ भन्ने होइन । यो विषयमा पार्टीका थोरै नेताहरूले मात्रै महाधिवेशन पछि गरौँ भन्नुभएको छ । यसबारेमा पार्टी सभापति बोल्नुभएकै छैन । अर्को कुरा कांग्रेस पार्टीले संविधानको पालना गर्छ र त्यो अनुसार चल्छ । महाधिवेशन संविधानभित्रै रहेर नै हुन्छ यसमा शंका छैन ।

२०८२ सालमा महाधिवेशन भएन भने पनि कांग्रेसलाई केही फरक पर्दैन ?

–महाधिवेशन सर्दा तल्लो तहका साथीभाइले आलोचना गरे पनि पदाधिकारी र केन्द्रीय सदस्यका बीचमा सहमतिका साथ मात्रै सार्ने काम हुन्छ अन्यथा हुँदैन भन्नेमा मलाई विश्वास छ । सभापति देउवा कुनै पनि काम पेलेर गरौँ भन्ने मानसिकतामा हुनुहुन्न । उहाँलाई पनि अब अन्तिम बेलामा आएर सबैलाई चित्त बुझाएर सहमतिमा काम गर्ने सोचमा हुनुहुन्छ । यसको एउटै उदाहरण छ, आफ्नै टिमले नचाहँदा नचाहँदै पनि उहाँले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको हो । जीवनको उत्तरार्धमा शेरबहादुरले न्याय ग¥यो भन्ने पार्न चाहानुहुन्छ उहाँ । त्यसैले उहाँ मिचेर पेलेर काम गर्ने पक्षमा हुनहुन्न । सबैको सुझाव लिएर मात्रै काम गर्ने लाइनमा हुनुहुन्छ । अर्को कुरा कांग्रेसभित्र एकप्रकारको सहमति हुँदै गएको छ । जसले सहमतिको महाधिवेशन हुनसक्ने अवस्था पनि छ । नेताहरूको बीचमा एक प्रकारको सहमति भयो भने प्रक्रिया पूरा गरेर सहमति गरेर सबैलाई व्यवस्थापन गर्ने गरी महाधिवेशन हुनसक्छ । त्यो सम्भावना भएको छ । त्यसैले अहिले नै यो बेला यसरी हुन्छ भन्न सकिन्न ।

अलि अगाडिदेखि नै पार्टीको एउटा पंक्ति २०८२ सालमा नै महाधिवेशन गरिनुपर्छ भनेर लागिपरेको छ । त्यसको आधारमा काम गर्न भनेर लाग्दालाग्दै त्यसको तयारी नहुनुका कारण महाधिवेशन समयमा नै नहोस् भनेर त होइन ?

–यसमा महाधिवेशन समयमा हुनपर्छ भन्ने साथीहरू पनि जुन ढंगले उठान गर्नुपर्ने थियो त्यो स्केलमा उठेको चाहिँ छैन । २०८२ सालभित्र महाधिवेशन गर्नुपर्छ भनेर गगन जीहरूले तर्क राख्नुभएको छ । त्यसलाई जुन जोडबलका साथ तयारी गर्नुपर्ने थियो त्यो तहको अभ्यास भने भएको पाइएको छैन । कुरा मात्रै गरेर भएन आन्तरिक तयारी पनि त्यसअनुसार हुनु प¥यो नी । पार्टीको फोरमभित्र नै तयारीका साथ कुरा उठाएर लाग्नुपर्छ । अर्को कुरा पार्टीको महाधिवेशन अगाडि भ्रातृ संगठनका महाधिवेशन गर्ने भनेर समय तोकिएको छ । ती संगठनका कति महाधिवेशन समयमा नै हुन्छ । नसक्नेका लागि के गर्ने त्यो पनि होला । त्यसैका आधारमा महाधिवेशन होला । आन्तरिक तयारीबिना बाहिर भनेर त महाधिवेशन कसरी हुन्छ ?

अब देउवाको उत्तराधिकारी को बन्लान् भन्ने लाग्छ ?

–त्यसमा अहिले नै सभापति ज्यूले केही भन्नुभएको छैन । उहाँसँग लामो समयदेखि साथमा रहनुभएको धेरै नेताहरू आकांक्षी हुनुहुन्छ । ती सबै नेताहरू मध्येबाट नै होला । तर, मैले बुझेअनुसार यसमा अलिबढी शशांक कोइराला हो कि भन्ने लागेको छ । उहाँ आफैँले पनि आफू निकटकासँग त्यही ढंगले छलफल गरिरहुनभएको बुझेको छु ।

नेपाली कांग्रेसको स्थापनाकालमा नेतृत्वमा कोइराला परिवारकै बिपी र मात्रृकाको बीच लडाइँ भयो । अहिले फेरि कोइरालाकै बीच लडाइँ हुने हो त ?

–१५ महाधिवेशनका लागि शशांक कोइरालाले सभापतिका लागि इच्छुक छु भनेर सार्वजनिक रूपमा भन्नुभएको छ । शेखर कोइरालाले त अगाडिदेखि नै तयारीका अभियान चलाएर नै लाग्नुभएको छ । त्यसले गर्दा कोइरालाकै बीच लडाइँ नहोला भन्न सकिन्न । त्यस्तै संकेत देखिएको छ । राजनीतिमा एउटै दाजुभाइका बीचमा लडाइँ हुँदैन भन्ने हुन्न । राजनीतिमा यस्ता कुरा हुन्छन नै । अहिले दुवै दाजुभाइ नै त्यसको तयारीमा जुट्नुभएको छ । त्यसैले दाजुभाइका बीचमा प्रतिस्पर्धा हुँदैन भन्न सकिन्न । दुवै जना सभापतिमा भिड्ने मानसिकतामा हुनुहुन्छ । त्यस्तो भयो भने पनि कुनै अनौठो हुँदैन । यसमा दुवै जनाको उच्च चाहना छ । तर, यसमा एउटा कोहिशस पनि हुँदै छ । २ जनालाई समेटेर जानुपर्छ भन्नेमा पार्टी भित्रको एउटा समूह सक्रिय छ । त्यसमा १ जना नेतृत्वमा रहेर अर्का १ लाई कुनै पनि स्थानमा व्यवस्थापन गर्नुपर्छ भनेर एउटा समूह सशक्त लागिरहेको छ । त्यसले २ का बीचमा लडाइँ नहुन पनि सक्छ । कोइरालाका २ भाइ मध्ये १ भाइ मात्रै सभापतिको उम्मेद्वार बन्नुपर्छ भनेर एउटा समूह सक्रिय छ । कोइराला कोइरालाका बीच लड्न हुँदैन भन्ने समूहको सक्रियता राम्रै छ । त्यसैले यसमा अहिले नै यसो होला भन्न सकिन्न ।

तपाईंले भनेजस्तो नभएर दुवै भाइ कोइरालाका बीचमा प्रतिस्पर्धा भएमा कांग्रेस कसरी अगाडि बढ्ला !

–दुवै भाइ एकआपसमा लडे भने त्यसलाई आश्चर्य मान्नु हुँदैन । पार्टीभित्र पार्टीको तल्लो तहदेखि शेरबहादुर देउवा सबैभन्दा बलियो समूहको रूपमा हुनुहुन्छ । उहाँको भूमिका निर्णायक हुनसक्छ । त्यसकारण शशांक कोइराला देउवाकै साथमा सभापति हुन सक्छु भन्ने प्रस्तुति हो भन्ने मैले बुझेको छु । शशांक विश्वासका साथ त्यसैका आधारमा जुट्नुभएको हो । शेखरको आफ्नै भूमिका छ उहाँ पनि १४ महाधिवेशनमा सभापति लडेको र देशभर अभियान नै चलाएर हिँड्नु भएकाले स्वभाविक दावेदार हो । उहाँ सभापति उठ्नु भएन भने राजनीतिमा नोक्सान हुन्छ, उठ्नु हुन्छ नै । अब देउवाकै साथ पाएपछि शंशाक नउठ्ने कुरै भएन । त्यसैले दुवै जनाका बीचमा प्रतिस्प्रर्धा हुने देखिन्छ । यसले पार्टीलाई क्षति भने पुग्दैन ।

तपाईंले भनेअनुसार देउवालाई लामो समय साथ दिएका आकांक्षी हुँदाहुँदै कोइराला परिवारका सदस्य रोज्नुमा के हुन सक्ला ? देउवासँग विकल्प नभएको हो ?

–राजनीतिमा शेरबहादुर देउवा निकै चलाख व्यक्ति हो । उहाँ पार्टी नेतृत्वमा १० वर्ष रहनुभयो । उहाँले कसै न कसैलाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ नै । यो पार्टीको विधानअनुसार नै हुने हो । अब उहाँको टिममा भएका सम्भावित उत्तराधिकारीमा पनि सहजता छैन । बालकृष्ण खाणलाई मुद्दा लागेको छ । प्रकाशमानसिंह, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, प्रकाश शरण महतको पनि कुरा सुनिँदै छ । उहाँहरू सबै आकांक्षी र सम्भावित पनि हो । त्यसकारण देउवाले शशांकलाई नै गर्नुहोला भनेर ढुक्क हुने अवस्था छैन । त्यस प्रकारको निर्णय भइसकेको पनि छैन । मात्रै शशांकको विश्वासका आधारमा भनेको हो । उहाँभन्दा अरू पनि अहिलेसम्म देउवाको नजिक भएर काम गरेका धेरै पुराना नेताहरू छन् । जसले अफ्ठ्यारोमा देउवालाई सहयोग गर्दै आएका छन् । यद्यपि कोइरालाको नाम ल्याउँदा सहज होला कि भन्ने चर्चा पनि छ । देउवाको प्राथमिकतामा होइन, विकल्पमा शशांक हुन सक्छन् भन्ने हो । देउवाले थोरै बोलेर चलाखीपूर्वक निर्णायक काम गर्नुहुन्छ होला भन्ने लागेको छ ।

अर्को कुरा देउवा अहिले तेरो र मेरो भनेर जाने लाइनमा छैनन् । पहिला उहाँ आरजू भाउजूको प्रेसरमा पर्नुहुन्छ कि भन्ने थियो । त्यो पनि अहिले देखिएको छैन । सरकारमा गएपछि आरजू भाउजूकोे भूमिका र शैली सबैलाई स्वीकार गर्ने खालको भएको छ । उहाँले पनि सबै कुरा बुझ्नुभयो होला । भोलि पार्टीको कुनै पदाधिकारीको भूमिकामा रहन सक्नुहोला । त्यो सम्भावना पनि बढेको छ । आउने महाधिवेशन पदाधिकारीको संख्या बढाएर भए पनि सहमतिको महाधिवेशन हुने सम्भावना बढी छ । कांग्रेसमा पहिलाजस्तो द्वन्द्वको अवस्था अहिले छैन घटेको छ ।

कांग्रेसमा महाधिवेशन नजिकिँदै गर्दा सुरक्षित हुन गुट फेर्ने प्रवृत्ति छ । तपाईंले नाम लिएका पात्रहरू छोडेर शशांकलाई अगाडि बढाउँदा ती पात्रहरू भड्किन सक्दैनन् ?

–भड्कन त अलिकति भड्कन्छ नै । देउवाले निरन्तर आफ्नो टिममा रहेर सहयोग गरेको मान्छेलाई छोडेर अर्कोलाई सहयोग गर्दा सर्लक्क उनले भनेअनुसार लाग्लान् भन्न सकिन्न । तर, शशांकको हकमा भने केही सहजता होला कि भन्ने छ । किनकी शशांकमा कसैलाई पनि चिढाउने दुखाउने स्वभाव छैन, सरल स्वभावका छन् । यस्तो स्वभाव भएको मान्छेलाई सबैले पचाउन सक्छन् । उनलाई अगाडि बढाउँदा धरै विद्रोह नहोला भनेर पनि उनी देउवाको रुचीमा पर्न सक्लान् त्यो भन्दा अरू हुँदा विद्रोह बढी होला भन्ने हुन सक्छ ।

प्रतिक्रिया