अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरको एउटा चर्चित भनाइ थियो, ‘संयुक्त राज्य अमेरिकासँग शत्रुता राख्नु खतरनाक छ, तर मित्रता राख्नु अझ खतरनाक छ ।’ ५० वर्ष अगाडि भनेको यी कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । त्यसैले ग्यालो थोन्डुपले भोगेको कटु भोगाइ बुझाइबाट हाम्रो नीतिनिर्माता नेताहरूले परराष्ट्र नीतिमा सन्तुलित भएर भूमिका खेल्नुहोला ।
१४औँ दलाई लामाको जेठा दाजु ग्यालो थोन्डुपको ९७ वर्षको वृद्ध उमेरमा यही माघ २६ गते कालेबुङमा निधन भयो । उनी १४ वर्षको उमेरमा चीनको नान्जिङमा चिनियाँ इतिहास अध्ययन गर्न गए । त्यसबेला उनको च्याङ काइ–शेक लगायतका प्रभावशाली नेताहरूसँग चिनजान भयो । २००४ सालमा, उनले कुओमिन्ताङ जनरलकी छोरी झूदानसँग विवाह गरे । चीनमा बढ्दो गृहयुद्धको अवस्था आएपछि उनी २००५ सालमा नान्जिङ छोडेर तिब्बत फर्किए ।
चीनबाट कुओमिन्ताङ सरकार ढलेर माओत्सेतुङको कम्युनिस्ट सरकार आएपछि तिब्बत चीनको विवाद झन् चर्किंदै जान थाल्यो । यही विवादमा अमेरिकाको खुफिया एजेन्सीले बीचमा बसेर आगोमा घिउ थप्ने काम गर्दै थियो, चीनबाट तिब्बत मुक्त गराइदिने आश्वासनपछि ग्यालो थोन्डुप पनि सिआइएको योजनामा सक्रिय हुन थाले । चीनको दबदबा तिब्बतमा बढ्दै गएपछि २००९ सालमा उनी तिब्बत छोडेर भारत पुगे । चीन विरुद्धमा अन्तर्राष्ट्रिय साथ–सहयोगको लागि समर्थन जुटाउँदै तिब्बत मुक्त पार्न सशस्त्र सेना बनाउन थाले, यसै क्रममा उनले २०१४ सालमा तिब्बती युवाहरूलाई अमेरिका पठाएर गुरिल्ला तालिम लिने बन्दोबस्त मिलाए ।
चीन सरकारले सशस्त्र पैदल सेनासहित तिब्बत कब्जामा लिन अगाडि बढेपछि दलाई लामा २०१६ सालमा तिब्बतबाट भारत निर्वासनमा गए । यसको सबै व्यवस्थापन ग्यालो थोन्डुपले जवाहरलाल नेहरूसँग मिलेर गरेका थिए । ग्यालो थोन्डुपको नेतृत्वमा अमेरिकी सिआइएको सहयोगमा प्रशिक्षित तिब्बती लडाकुहरू २०१७ सालमा मुस्ताङ क्षेत्र हुँदै नेपाल प्रवेश गरे । नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा आधार इलाका बनाएर चीन विरुद्धमा छापामार युद्ध गर्न थाले ।
यसैबीच अन्तर्राष्ट्रिय राजनीतिमा महत्वपूर्ण फेरबदल हुनपुग्छ । यी सबै घटनाक्रम भइरहेको बेला विश्व २ धु्रवमा विभाजित थियो, एउटा धु्रवको नेतृत्व सोभियत संघले र अर्को धु्रवको नेतृत्व अमेरिकाले गरिरहेको थियो । तत्कालीन समयमा चीन सोभियत रुसको कित्तामा थियो भने भारत अमेरिकाको कित्तामा थियो ।
तर, यस लगत्तै एउटा घटना हुनपुग्छ सोभियत संघ र चीन बीचमा । रसिया र चीनको सिमानामा एउटा सानु टापु छ । त्यो टापुलाई रसियाले दमस्के टापु चीनले झेन्बाओ टापु भनेर आआफ्नो दाबी गर्छन् । २ देशको सेना बीचमा झडप हुनपुग्छ र दर्जनौँ चिनियाँ सेनाको मृत्यु हुनपुग्छ । सैन्य झडपपछि रसिया र चीन बीचमा मनमुटाव सुरु हुन्छ ।
शत्रुको शत्रु मित्रु हुन्छ भन्ने रणनीतिअनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर गोप्य रूपमा २०२८ सालमा चीन गएर माओत्सेतुङलाई भेटेर वार्ता गर्छन् । त्यतिबेलासम्म अमेरिकाले चीन सरकारलाई मान्यता पनि दिएको थिएन, यो वार्तालाप सफल हुन्छ, चीनले रसियाको कित्ता छोडेर अमेरिकी कित्तामा आउँछ । त्यसपछि २०२९ सालमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको औपचारिक रूपमा चीनमा राजकीय भ्रमण हुन्छ, चीनले भव्य स्वागत सत्कार गर्छ । यसरी सम्बन्ध बढ्दै गएर अन्ततः अमेरिकाले ‘एक चीन नीति’ को घोषणा गर्दै तिब्बत ताइवान चीनको अभिन्न अंगको रूपमा घोषणा गरेर चीन–अमेरिकी साझेदारी बन्न पुग्छ ।
त्यसपछि के हुन्छ ?
चीन आफ्नो कित्तामा आएपछि अमेरिकाले चीन विरुद्धमा प्रयोग गरेको तिब्बती गतिविधि ठप्प पार्छ, अमेरिकी साथ–सहयोग नभएपछि तिब्बती विद्रोह टुहुरो हुनपुग्छ । हिजो जसको आड भरोसामा चीनसँग लडेर तिब्बत मुक्त पार्छु भन्नेहरूको लडाइँ लड्न त पर जाओस् साँझ बिहान मुखमा माड हाल्न पनि धौधौ हुनपुग्छ ।
अमेरिकाले चीनसँग घाँटी जोडेपछि दलाई लामाले सशस्त्र विद्रोह स्थगित गरेको घोषणा गर्छन् । नेपालको उत्तरी सिमानामा रहेको विद्रोहीलाई नेपाल सरकारसँग आत्मसमर्पण गरेर हातहतियार बुझाउन भनेर दलाई लामाले रेडियो सन्देश दिन्छन् । उक्त सन्देशको एउटा टेपरेकर्ड दलाई लामाले नेपाल सरकारलाई पनि दिन्छन् । नेपाल सरकारले पनि आत्मसमर्पण गर्न आउने खम्पा विद्रोहीलाई उचित बन्दोबस्तको व्यवस्था मिलाउने आश्वासन दिन्छ, धेरैले आत्मसमर्पण गर्छन्, तर १ जना कमान्डर वाङ्दीले मान्दैनन् । उनलाई नेपाली सेनाले गोली हानेर मार्छ ।
चीन–अमेरिकी गठबन्धन भएपछि विदेशको सहयोगमा तिब्बत मुक्त गर्छु भनेर ठुलो सपना देखिरहेका दलाई लामाका दाजु थोन्डुपको सपनामा वज्रपात पर्छ, अन्तर्राष्ट्रिय साथ सहयोग केही नभएपछि लड्ने कुरा त परै जाओस् उनलाई पनि साँझ बिहानको गाँसबासको समस्या पर्न जान्छ त्यसपछि उनले चाउचाउको कारखाना खोलेर दैनिकी गुजारा गर्दै धरातलीय राजनीतिमा अवतरण गर्न पुग्छन् ।
अमेरिकाले तिब्बतीहरूलाई नराम्रोसँग उपयोग गरेको भन्ने बुझेपछि थोन्डुप त्यसपछि चीनसँग सम्बन्ध बिस्तारमा लाग्छन् । उनले २०३५ सालमा चिनियाँ वरिष्ठ नेता देङ सियाओपिङसँग भेटेर तिब्बत मामिलामा संवाद गरेका थिए, त्यसपछि पनि उनी दलाई लामाको दूत बनेर पटकपटक चीन भ्रमण गरेका थिए । उनको एउटै मन्त्र थियो, ‘तिब्बतको समस्याको समाधान तेस्रो पक्षबाट खोज्न हुन्न, भए पनि नभए पनि चीनसँग सिधै कुरा गर्नुपर्छ ।’
जीवनको उत्तरार्धमा थोण्डुपले एउटा पुस्तक लेखेका थिए, ‘द नुडल मेकर अफ कलिङपोङ ।’ त्यसमा उनले भनेका छन्, ‘सारा जीवनमा मलाई एउटा कुरोको मात्र पछुतो छ, सिआइएसँग मेरो संलग्नता । सुरूमा मैले साँच्चै ठानेको थिएँ, अमेरिकीहरूले हाम्रो स्वतन्त्रताको संघर्षलाई नै सघाउन खोजेका हुन् । समयक्रममा महसुस भयो, त्यो सत्य रहेनछ । उनीहरू केबल समस्यालाई गिजोल्न चाहन्थे, तिब्बतीलाई प्रयोग गरेर चीन र भारतका बीच असमझदारी र कलह उत्पन्न गराउन । अन्ततः त्यसमा उनीहरू सफल भए । सन् १९६२ को भारत–चीन सीमायुद्ध त्यसको एउटा दुःखद् परिणाम थियो ।’ (पृ. २२६)
यी माथिल्ला पंक्तिबाट हाम्रा डलरजीवी नेताहरूले पनि पाठ सिकुन् । अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरको एउटा चर्चित भनाइ थियो, ‘संयुक्त राज्य अमेरिकासँग शत्रुता राख्नु खतरनाक छ, तर मित्रता राख्नु अझ खतरनाक छ ।’ ५० वर्षअगाडि भनेको यी कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । त्यसैले ग्यालो थोन्डुपले भोगेको कटु भोगाइ बुझाइबाट हाम्रो नीतिनिर्माता नेताहरूले परराष्ट्र नितिमा सन्तुलित भएर भूमिका खेल्नुहोला ।
अमेरिकी सहयोग नियोग ‘युएसएड’ लाई ट्रम सरकारले बन्द गर्ने घोषणा गरे लगत्तै थरीथरीका टीकाटिप्पणीले अहिले सामाजिक सञ्जाल भरिएको छ । धेरैले के प्रतिक्रिया दिँदै गरेको देखिन्छ भने अब यी डलरजीवी धुन्धुकारीहरू के गरेर खालान् ? भनेर लेख्ने गरेको देख्दै छु, ती साथीहरूलाई डोनाल्ड ट्रमको अघिल्लो कार्यकालको एउटा कुरा एकपटक अवगत गराउँछु ।
डोनाल्ड ट्रमले अघिल्लो निर्वाचनमा निर्वाचित हुनुअगाडि चुनावी भाषणमा दलाई लामाको तिब्बती फाउन्डेसनलाई मैले चुनाव जितेँ भने बजेट रोक्ने छु, यो हाम्रो लागि सेतो हात्ती पालेको जस्तो भएको छ यसरी सधैँ पालेर बस्न सकिन्न भनेर घोषणा गरेका थिए, तर राष्ट्रपतिमा निर्वाचित भइसकेपछि सबैभन्दा बढी बजेट ट्रम सरकारको पालामा आएको थियो ।
अतः अहिले डोनाल्ड ट्रमले नीति परिवर्तन गरेका हुन्, नियत परिवर्तन गरेका होइनन् । युएसएड खारेज गर्नुको अर्थ नियत खारेज गरेको ठान्नु गलत हुन्छ । हाम्रा डलरजीबीहरूले केही समयका लागि सुस्ताउने समय पाएका मात्रै हुन्, फेरि अर्को संस्थामार्फत धर्म, संस्कृति, जाति, नश्ल, इतिहास, भूगोल, राष्ट्रवादका नाममा जागिर चल्न सुरु भइहाल्छ ।
प्रतिक्रिया