काठमाडौँ । घरेलु भूमिमा जारी टी–२० क्रिकेट शृंखलामा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कमजोर प्रदर्शन गरेको छ । फिनिसिङमा कमजोर सावित भएपछि नेपाल त्रिकोणात्मक टी–२० को चोथो खेलमा पराजित भएको हो । मंगलबार सम्पन्न खेलमा थाइल्यान्डले नेपाललाई ५ रनले हरायो ।
थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाउँदै १०१ रन बनाएको हो । यो सँगै थाइल्यान्डले शतप्रतिशत जित निकाल्दै ४ खेलबाट ८ अंक पु¥याएको छ । नेपाल भने जितविहीन छ । योसँगै थाइल्यान्डले उपाधि जित्ने सम्भावना बलियो बनाउँदा नेपालको भने समाप्त भएको छ ।
अन्तिम ७ बलमा १५ रन आवश्यक रहेको नेपालले २ विकेट गुमाउँदै ९ रन मात्रै बनाएको हो । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । ३० बलको सामना गरेकी उनले ३ चौका र १ छक्का प्रहार गरेकी हुन् । कविता जैशी २४ र पूजा महतो १८ रनमा आउट हुँदा रोमा थापा १९ रनमा अविजित रहिन् ।
थाइल्यान्डकी थिपताचा पुथावोङले सर्वाधिक ४ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले १ मेडनसहित १० रन खर्चिइन् । फनिता मायाको नाममा २ विकेट रह्यो । प्लेयर अफ द म्याच घोषित पुथावोङले हारतर्फ उन्मुख थाइल्यान्डको पारी उकास्ने काम गरेकी थिइन् । ५६ रनमा छैटौँ विकेट गुमाएको थाई टोलीका लागि उनले चानिदा सुतिरुवाङसँग मिलेर सातै विकेटका लागि अविजित ५० रनको साझेदारी गरिन् ।
यी २ को साझेदारीपछि नै थाइल्यान्डले १०६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको हो । पुथावोङले ३१ बलको सामना गर्दै १ चौकाको सहयोगमा २५ रन प्रहार गरेकी हुन् । चानिदाले पनि २८ बलको सामना गर्दै १ चौकाको सहयोगमा २७ रनको योगदान गरिन् ।
नेपालकी मनिषा उपाध्यायले एकै ओभरमा ३ विकेट लिइन् । सातौँ ओभरमा बलिङ गर्न आएकी उनले पहिलो बलमा नै अपिसरा सुओवचराथीलाई १७ रनमा आउट गरिन् । त्यसै ओभरमा उनले नानापात कोन्चारियोनकाईलाई १९ तथा नाताकान चान्थमलाई शून्य रनमा आउट गरिन् ।
उनले ४ ओभरमा १८ रन खर्चिन् । पूजा महतोले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिइन् । रचना चौधरीले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् ।
रचनाको डेब्यु
स्पिनर रचनाकुमारी चौधरीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेकी हुन् । उनले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले डेब्यु क्याप दिएका हुन् ।
१७ वर्षीया रचनाले मलेसियामा सम्पन्न यु–१९ विश्वकपमा नेपाली टोलीको प्रतिनिधित्व गरेकी थिइन् । ४ पारीमा १३ दशमलव २ ओभर बलिङ गरेकी उनले ६ विकेट लिएकी थिइन् ।
उनले मलेसियाविरुद्धको प्लेअफ खेलमा ३ ओभर बलिङ गर्दै १ मेडनसहित ५ रन खर्चिएर ३ विकेट लिएकी थिइन् । उनको त्यो नै प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शन थियो । उनी राष्ट्रिय टोलीमा डेब्यु गर्ने ३७औँ खेलाडी हुन् ।
प्रतिक्रिया