काठमाडौँ । नेपाली राष्ट्रिय टोलीकी अलराउन्डर पूजा महतो आइसिसी यु–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा अटाएकी छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार घोषणा गरेको १२ खेलाडीमा पूजा पनि समावेश भएकी हुन् । उनी टोलीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्रै खेलाडी हुन् ।
पूजाको कप्तानीमा नेपालले पहिलोपल्ट विश्वकपमा सहभागिता जनाएको थियो । नेपालले समूह चरणका तीनै खेल गुमाउँदै सुपर फोरमा पुग्न असफल भएको हो । प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।
नेपाली टोलीको सुपर फोरमा पुग्ने लक्ष्य पूरा नभए पनि पूजाको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रह्यो । उनले प्रतियोगिताभर १४ दशमलव ३ ओभर बलिङ गरिन् । यसक्रममा उनले १ मेडनसहित ६३ रन मात्र खर्चेर ९ विकेट लिएकी हुन् । उनको बलिङ औसत ७ र इकोनोमी दर ४ दशमलव ३४ रह्यो ।
उनले मलेसियाविरुद्ध मात्र ३ दशमलव ५ ओभर बलिङ गर्दै ९ रन खर्चेर ४ विकेट हात पारिन् । प्रतियोगिताभर यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन रह्यो । यस्तै, उनले ब्याटिङतर्फ ४ खेलमा ७० रन बनाएकी थिइन् । यसक्रमा उनले २३ दशमलव ३३ को औषत र ५१ दशमलव ८५ को स्ट्राइक रेट राखेकी थिइन् ।
‘टिम अफ द टुर्नामेन्ट’मा भारतका ४, दक्षिण अफ्रिकाका ३, इंग्ल्यान्डका २ तथा अस्ट्रेलिया, नेपाल र श्रीलंका समान १ खेलाडी अटाएका छन् । भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ९ रनले पराजित गर्दै विश्वकप जितिसकेको छ ।
भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । यस संस्करणका फाइनलमा त भारतको प्रदर्शन अझ बढी उत्कृष्ट थियो । दक्षिण अफ्रिकालाई ८२ रनमा सीमित गर्न भारतीय स्पिनरहरूको प्रदर्शन उल्लेख्य थियो । दक्षिण अफ्रिका पछिल्लो समय धेरैजसो प्रतियोगितामा भारतसँग नै पराजयको सामना गरेको छ । गत वर्ष भएको टी–२० विश्वकपको फाइनलमा पनि भारतले दक्षिण अफ्रिकालाई नै हराएर उपाधि जितेको थियो । यसैगरी, सोही वर्ष भएको यु–१९ विश्वकपको सेमिफाइनलमा पनि भारतले दक्षिण अफ्रिकालाई हराएको थियो ।
पछिल्लो महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भने दक्षिण अफ्रिकालाई न्युजिल्यान्डले हराएको थियो ।
प्रतिक्रिया